पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

पोखरा:   ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ ।  गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।  समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ पनि राखिने छ ।  समितिलाई घट्नाको विस्तृत छानबिन गरी आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा अपनाउनु पर्ने पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपाय सहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।  कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

बाजुरा:  साँफे–मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।       बूढीगङ्गा नगरपालिका–१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको बेला पछाडिबाट ठक्कर दिएको थियो ।      घाइते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भए पनि गम्भीर चोट लागेकाले थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष रायले जानकारी दिनुभयो ।        उहाँका अनुसार घाइते महिला गर्भवती भएकाले पाठेघरमा रगत जमेको हुनसक्ने आशङ्कामा प्रादेशिक अस्पताल पठाइएको हो । “बसको ठक्करबाट आज बिहान आमा छोरा घाइते भएका थिए । उहाँका आठ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा मृत्यु भइसकेको छ”, उहाँले भन्नुभयो ।      बस चालक ४० वर्षीय उपेन्द्र मडैसहित बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:  पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।      अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।       गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप लगाइएको हो ।      मन्त्री पौडेलको सचिवालयका अनुसार अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । मुलुकमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ ।  सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।

काठमाडौं:  अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।       बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो  ।  जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

काठमाडौं:  सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ ।  सिंहदरबरस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाको कार्यकक्षमा आज सत्ता साझेदार दलका प्रमुख सचेतकको बैठकले ‘विद्यालय शिक्षासम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ र ‘सङ्घीय निजामति गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउन पहल गर्ने निर्णय गरेको हो ।            मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “हामी छ वटै अध्यादेश संसद्मा प्रस्तुत गर्ने पक्षमा छौँ, अध्यादेश निर्णयार्थ प्रस्तुत हँुदा सहज ढङ्गले पारित हुन्छ, पारित अध्यादेशको आधारमा प्रतिस्थापन विधेयक ल्याउँछौँ, अध्यादशमा केही कुरा मिलेको छैन भने प्रतिस्थापन विधेयकमार्फत मिलाउने काम हुन्छ ।”  संसद्मा विचाराधीन रहेका कतिपय विधेयकलाई अगाडि बढाउने र संसद्मा टेबुल भएका अध्यादेशलाई अगाडि बढाउनेबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो ।       हालै सरकारले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेको छ ।  

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।  गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं:  कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा  घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।      आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले राससलाई जानकारी दिनुभयो ।       उहाँले भन्नुभयो, “आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।” यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ । 

बागलुङ:   काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ ।   घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।   काठेखोला गाउँपालिका–४ तंग्राममा ३ दिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् ।   गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए ।   नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ । गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उनले बताए ।   ‘अहिले धेरै जनाको रोजाइ सहरबजार छ, गाउँमा धेरै सम्भावना रहे पनि सीप नहुँदा धेरै नागरिकलाई आयआर्जनसँग जोड्न सकेका छैनौँ, काठेखोलाले अहिले पालिकाभर के–केको सम्भावना छ,’ अध्यक्ष थापाले भने, ‘खोजी गर्ने र त्यसमा आमजनतालाई दक्ष गराउने तथा उत्पादनमा लाग्ने योजना बनाएर अगाडि बढेका छौँ, अहिले मौरीपालनका लागि केही थान घार र मौरी पाल्ने तालिम दियौँ ।’   पालिकाको गत वर्ष विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने र चप्पल बनाउने तालिम दिएको थियो ।   यस वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत महिलाको सीप विकासका लागि वडा नं १ र ६ मा मादल बजाउने र हार्मोनियम बजाउनेसम्बन्धी तालिम दिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिए ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका- ७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।   कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।   “बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उनले भने “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।”   दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए ।   भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत माघ महिनाको अन्तिम साता समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर फर्किएको थियो ।   पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुङ्गे पुल बनाउन सकेमा सुगुरथलादेखि छ घण्टा पैदलयात्रा गरेर आधार शिविरमा पुग्न सकिने गर्बुजाले बताए । टोलीले पदमार्ग, पुल बनाउन र संकेत चिन्हहरू राख्न वडाका जनप्रतिनिधीहरुलाई सुझाव दिएको छ ।   धौलागिरि हिमालको फेदमा पुगेर चुचुरो सम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो ।   सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिन्छ । यो पदमार्ग भएर स्थानीयबासीहरु वैशाख–जेठ महिनामा यार्सागुम्बा संकलनका लागि धौलागिरि आधार शिविर क्षेत्रमा जान्छन् ।   पर्यटन मन्त्रालयको रु। एक करोड ५४ लाखको लागतमा ससलधारा देखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माण योजना आर्थिक वर्ष २०७९/०८० मा शुरु भएर २०८०/०८१ मा सकिएको थियो ।   उक्त योजना सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन नसकेको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकप्रसाद पाइजा(रिम)ले बताए ।   “जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग नबनेपछि हामीले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ,” उनले भने “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन् ।”   वडा अध्यक्ष पाइजाका अनुसार यो वर्ष कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु.२० लाख र नेपाल पर्यटन बोर्डले रु। पाँच लाख बजेट बिनियोजन गरेको छ ।   बेनी–जोमसोम सडक निर्माण भएपछि तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा वि.स. २०६८ मा गलेश्वर देखि मुस्ताङको लेते निस्कने धौलागिरि आइसफल पदमार्गको अध्ययन र पहिचान भएको थियो ।   म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते पुग्ने एक सय २२ किलोमिटर दुरीको धौलागिरि आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)गरेर पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारमा पेश गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।   आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य छन् ।   पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने चिमखोलाका अगुवा गम पुनले बताए ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा छनौट गरेको छ । पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रूपमा अझै सञ्चालनमा आउन सकेको छैन ।   ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ ।