पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

गण्डकी:    कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।   पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।  यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो ।     सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उहाँको भनाइ छ । कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो ।  हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो ।  “कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।”  सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।   कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।  सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।  कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ । सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ ।  त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उहाँले जानकारी दिनुभयो । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउनुहुने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताउनुभयो ।  “यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।” करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उहाँले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाउनुभयो ।  “पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन”, उहाँले भन्नुभयो, “पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।” हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उहाँले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाउनुभयो । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।  सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहनुभएका उहाँले बताउनुभयो । प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उहाँले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउनुभयो । “कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।”

काठमाडौं:    नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ ।       सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किनुभएको हो ।  सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उहाँले बताउनुभयो ।  “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उहाँले भन्नुभयो ।       उहाँलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउनुुहुन्छ ।      चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गर्नुभयो । त्यसपछि उहाँले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ ।  “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भन्नुभयो ।       यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उहाँले बताउनुभयो । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।”       गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताउनुभयो । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उहाँले भन्नुभयो ।       चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताउनुभयो ।       वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो ।  उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।  

काठमाडौं:    देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ । यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ । सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ । साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

महोत्तरी:    मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।  दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् । मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो । जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ । सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो ।  शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।  महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

काठमाडौं:    आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।      शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

पोखरा:    वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई  प्रदान गरिएको हो ।  तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो । यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।” पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो ।  यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

म्याग्दीः     केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो । उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो ।  अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो । रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ ।  तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।  पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।   रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो ।  उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।” केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् ।  शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन  सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।  तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।  

काठमाडौं:    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।  विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।       काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार  अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भन्नुभयो, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।”       उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो ।

गण्डकी:   कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।  शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।  प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।  यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको  थियो ।  जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो ।  “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।  यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।  यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।