काठमाडौं: गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको रु एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । रु नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा रु दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा रु ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा रु तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्यो । यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ । यस्तै पुरुष भलिबलतर्फ आज भएको खेलमा हर्ष राइडर छोम्रोङलाई कालीमाटीले २-१ को सेटमा पराजित गर्यो । अर्को खेलमा टुसे निलोले खादरजुङलाई २-१ को सेटमा हरायो । तेस्रो खेलमा किम्चेले ल्वाङलाई २-१ को सेटमा हराउँदै अघिल्लो चरणमा किम्चे प्रवेश गर्यो । चैथों खेलमा विन्ध्यश्वरी ठाँटीलाई नयाँपुल साँखुले २-१ को सोझो सेटमा हरायो । अर्को खेलमा लान्द्रुकले टुसे रातोलाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । यसैगरी आज भएको अन्तिम खेलमा लुम्रेले भदौरेलाई २-१ को सेटमा हरायो । शनिबार पनि पुरुषतर्फको खेल नै संचालन हुने आयोजकले जनाएको छ ।
तनहुँ: यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ संकलन भएको हो । यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए । उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक दुई सय ५० भन्दा बढीले सेवा लिने गरेका छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए । ‘सत्र जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा ११ जना कर्मचारी मात्रै सेवामा छौँ । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । त्यसैले थोरै जनशक्तिमा काम गर्नु पर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ,’ उनले भने । बायोमेट्रिकका लागि आइतबार, सोमबार, मंगलबार र बुधबार गरी हप्तामा चार दिन काम गर्ने व्यवस्था मिलाइएको छ । जनशक्ति र भौतिक संरचनाको अभावमा सवारी जाँच र प्रदूषण जाँच गर्न नसकिएको कार्यालय प्रमुख ओलीले जानकारी दिए । वैदेशिक रोजगारी र विदेशमा पढ्न जाने विद्यार्थीलाई आकस्मिक लाइसेन्स आवश्यक परेमा सवारी ‘ट्रायल पास’ गरेपछि राजस्व लिएर एक हप्तामा अनुमतिपत्र नम्बर दिने गरिएको छ । सन् २०२३ को डिसेम्बरसम्म छापिएर आएका नौ हजार छ सय ४५ जनालाई लाइसेन्स वितरण गरिसकिएको छ । त्यसपछिका भने छपाई प्रक्रियामै रहेका सो कार्यालयले जनाएको छ ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’ मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
पोखरा: कास्की प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका–४ घर भएका ३२ वर्षीय दिपक विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (बिहीबार) साँझ लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल बरामद गरेको छ । उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
एजेन्सी: इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ । बिहीबार भएको आक्रमणमा प्यालेस्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी बलका प्रमुख, उनका सहायक र अन्य नौ जनाको मृत्यु भएको बताइएको छ । गाजाको नागरिक सुरक्षा निकायले बिहीबार इजरायलले गरेको अन्य दुई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको खान युनिस क्षेत्रमा रातभर आक्रमण गरेको पुष्टि गरेको छ र आक्रमणमा इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएका प्रहरी उपप्रमुख हुसाम शाहवानलाई लक्षित गरिएको थियो । नागरिक सुरक्षा निकाय (प्रहरी) का अनुसार आक्रमणमा शाहवानसहित ११ जनाको मृत्यु भएको थियो । गाजाका उद्धारकर्ता र अधिकारीहरूका अनुसार प्रहरी बलका कमान्डर महमुद सलाहको पनि मृत्यु भएको थियो । 'दक्षिणी गाजा क्षेत्रको खान युनिस शहरको पश्चिममा रहेको अल–मावासी क्षेत्रमा विस्थापितहरूको बासस्थान रहेको टेन्टमा इजरायली बम बारी गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्,' प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्बबराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबिचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारणलाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ । प्रसारणलाइन निर्माणपछि नेपाल–भारतबिच तीन हजार मेगावाट बिजुली आदान–प्रदान सम्भव हुनेछ ।
बेनी: एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।' खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए । प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ । खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।