खोटाङ: खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।” आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताउनुभएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदलगायत विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले प्रहरी प्रधान कार्यालय र ७७ जिल्लामै यस्तो डेस्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आज गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्मासहितको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको थियो गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताउनुभयो । “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुनेगरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु”, लेखकले भन्नुभयो । उहाँले निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले उठाएको पनि उल्लेख गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो । यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरुलाई अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना हुनुभएको थियो । यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।
पोखरा: पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी शुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो । अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सुर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हरायो । अर्को खेलमा अरनिको स्कुल तनहुले मदरल्याण्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो । आइतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो । अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो । कलेज तर्फको फुटसलमा सोच कलेज अफ आइटिले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवापुग्ने बताए ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्ष दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् । तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर सर्वसम्मत चयन भए । यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर, चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्यीय समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ । अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ । वि.सं.२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उहाँले भन्नुभयो । सांसद जयन्तीदेवी राईले सांसद शाहीले ‘राष्ट्रियसभालाई वृद्धाआश्रम र केही दिनको पाहुना’ भनी अभिव्यक्ति दिनुभएको भन्दै आपत्ति जनाउनुभयो । “सांसद शाहीले अभिव्यक्तिले राष्ट्रियसभाको विशेष अधिकारको हनन गर्नुभएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्दछु, राष्ट्रियसभाले खेद प्रस्ताव पारित गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद जगतबहादुर पार्कीले सिङ्गो समाजलाई लज्जित बनाउनेगरी देशैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बैतडीको आन्द्रेगडा भन्ने ठाउँमा प्रकाश दमाईंको एउटा मात्रै घर छ, हिजो प्रकाशको आमाको निधन भएपछि शव उठाउने कोही भएनन्, दलितको शव भनेर गैरदलितले सहयोग गरेनन्, पछि कञ्चनपुरमा रहेका आफन्त गएपछि शव उठाइयो, यस्ता घटना दोहोरिन नदिन राज्य समयमा संवेदनशील बन्नुपर्छ ।”
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गर्नुभएको थियो । मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो । केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ । साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो । प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थायित्वका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताउनुभयो । गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले सरकारले केही समय अघि जारी गरेका अध्यादेशमार्फत नीतिगत र कानुनी सुधारले व्यावसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा दल विभाजनका लागि २० प्रतिशतको आधारसहित अध्यादेश ल्याउने पक्षहरुले अहिले नीतिगत र कानुनी सुधारको लक्ष्यले जारी गरिएको अध्यादेशको विरोध गर्न नसुहाउने स्पष्ट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले विनियोजित बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । चालु खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्च वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनोट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्ट भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्डबमोजिम आयोजनाको सम्पूर्ण पूर्वतयारीका काम सम्पन्न भएका आयोजना मात्र छनोट गर्ने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । प्रधानमन्त्री ओलीले आयोजना कार्यान्वयनमा शीघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानुनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइने बताउनुभयो ।

