मनाङ: एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो । उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् । केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो । त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ । केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् । आव २०७९÷८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो । आव २०७९÷८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो । साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो । देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । “गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ । तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ । गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ । चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो । “साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।” गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ । पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।
काठमाडौं: सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो । त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक रुपैयाँ ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ छ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा रहेको छ । आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ चार पैसा रहेको छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
बाँके: शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो”, फोकल पर्सन श्रेष्ठले भन्नुभयो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।” स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो । यो पनि पढ्नुहोस बाँकेमा अज्ञात रोगका कारण चार जनाको मृत्यु यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो, “एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।” उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो । “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।” नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख राइनले भन्नुभयो, “महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो । नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँचरछ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।
कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ । अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताउनुभयो । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।
काठमाडौं: सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
पोखरा: संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसंग जोडन मौजुदा नीति बाधक बनेको आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्विनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक श्रोत उपयोग सम्वन्धि स्थानीय सरकारसंग नीतिगत छलफल कार्यक्रमका सहभागिहरुले प्राकृतिक श्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याएका हुन । सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसंग सामुहिक माग गर्दै सहभागिहरुले उपयुक्त नीतिको अभावका कारण प्राकृतिक श्रोतलाई उद्यम र रोजगारीसंग जोडन अप्ठेरो परेको धारणा राखेका थिए । संविधानिक व्यवस्था अनुसार जमिन प्रदेश र रुख संघ सरकारको जिम्मामा भएको हुँदा जनताको आवश्यकताको लागि सामुदायिक वन भित्र बाटो होस वा कुनै भौतिक संरचना निर्माणमा अवरोध हुने गरेको सहभागि विभिन्न २० जना गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सामुहिक धारणा रहेको थियो । वन पैदावारमा आधारित उद्यम निर्माण,वन कार्यायोजना नविकरण, सामुदायिक वन समुहको सम्पूर्ण डाटा संकलन गर्दै प्राकृतिक श्रोतको पहिचान र उपयोगमा सहयोग पु¥याउनु परियोजना लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । मुलुकका १२७ पालिकाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, सामुदायिक वन समुहमा सुशासन कायम गर्दै सम्भाव्यता अध्ययनका आधारमा वनमा आधारित उद्यम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुहका ३१ लाख ९५ हजार ३२३ घरधुरीले २४ लाख २५ हजार ३९२ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले प्रदेश सरकारहरुले वन पैदावार बिक्रीमा जथाभावि कर लगाएको कारण जनतामा संरक्षणप्रति चासो घटेको बताउनुभयो । फेकोफन, ग्रिन फाउण्डेशन र आदिवासी जनजाति महासंघद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका १४ र लुम्विनी प्रदेशका छ वटा गरि कूल २० वटा पालिका प्रमुखहरुको सहभागिता रहेको थियो । टिएफ परियोजनाका सुजन खनालले परियोजना सञ्चालान भएका सामुदायिक वनको डाटा पोर्टल शुरु गरिएको जानकारी दिनु भएको थियो ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योलको स्थिति अन्त्य गर्न यो निर्णय गरेको मन्त्री केसीले बताए । अत्यावश्यक बाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा धेरै नलाग्ने योजना मन्त्री केसीले बनाएका छन् । उनले मन्त्रालयको समयमा मन्त्रालयको नियमित काम छोडेर अत्यावश्यक बाहेकका कार्यक्रममा नजाने निर्णय पनि गरेका छन् । उनले आफू मातहतका कार्यरत कर्मचारी संयन्त्रलाई समयमै आयोजना सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् । ‘भौतिक पुर्वाधार प्रदेशको विकासको मेरुदण्ड हो । राम्रा सडक, पुल, बाटोघाटो नभई प्रदेशको समृद्धि हुँदैन भन्ने मेरो विश्वास छ,’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘अतः समयलाई खेर नफाली आफूलाई सुम्पिएको कार्यलगायत प्रभावकारी रुपमा निर्धारित समय नकट्ने गरी कार्यसम्पादन गर्न म निर्देशन दिन्छु ।’ प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउन प्राविधिक, निर्माण व्यवसायी सहित सबैको साथ आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो । काम गर्दा एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समन्वय गर्न मन्त्री केसीले आग्रह गरे ।