काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन् । एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए। मकवानपुर निवासी उनी संविधानसभा सदस्य हुन् ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–१० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौँ महानगरपालिका–९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका(९ बाट र प्रभालाई ललितपुर महानगरपालिका–१० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख आठ हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।
गलकोट: सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार सहकारीमार्फत सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो । उहाँले परीक्षणका लागि यस वर्ष दुई हजार दुई सय कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताउनुभयो । “परीक्षणका लागि ब्राण्डिङको काम थालेका छौँ सिगानाको सुन्तलाको माग धेरै भयो, चर्चा समेत छ तर ब्राण्ड नुहँदा बजारीकरणमा समस्या भयो”, खड्काले भन्नुभयो, “अहिले एउटा कार्टुनलाई किसानले रू ४० मा पाउँछन्, सुन्तला प्याकेजिङ गरेर पठाउँदा कार्टुनको मूल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर रू एक लाखका कार्टुन उत्पादन गरेका हौँ, कोसेलीका रूपमा पठाउँदा, मायाको चिनो प्रदान गर्दा ब्राण्डिङ गरेको कार्टुनमा राखेर पठाउँछौँ ।” सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकाले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाइ छ । खड्काले कार्टुनको मागअनुसार सहकारीले उत्पादन गर्नसक्ने बताउँदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचानसँग जोडिएकाले आगामी दिनमा नगरपालिकाले कार्टुन, क्यारेटजस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको खड्काको भनाइ छ । आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तला मायाको चिनोको रूपमा समेत दिन थालिएको छ । यहाँका किसानले वार्षिक रू तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाडौँ निर्यात हुँदै आएको छ । वर्षौंदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि ब्राण्डिङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । “सिगानको सुन्तला हाम्रो पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन आवश्यक छ, पहिलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन सुरू गरेको छ”, खड्काले भन्नुभयो । सिगानालाई सुन्तला अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताउनुभयो । यस वर्ष नगरपालिकाले रू पाँच लाख लागतमा सुन्तलाका बिरूवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । सिगानामा दुई सय किसानले वार्षिक रू एक लाखदेखि पाँच लाखसम्मको सुन्तला बजार पठाउँदै आएका छन् ।
चितवन: जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार विभिन्न समयमा स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई कारबाही गरिँदै गरिएकोमा ध्वनि प्रदूषण नघटेको पाइएको हुँदा स्वरुप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । सामान्यतया ६० डेसिबलसम्मको आवाजलाई सामान्य मान्ने भए पनि यस्ता मोटरसाइकलले १२० देखि १९० डेसिबलसम्म आवाज निकाल्ने गरेको पाइएको छ । यसले मावन स्वास्थ्यमा प्रतिकूल असर गर्ने रक्तचाप बढ्ने, थकान महसुस हुने, तत्कालै रिसाउने, झर्किने, कान कम सुन्नेजस्ता समस्या आउन सक्ने कुराहरुलाई मध्यनजर गर्दै ती मोटरसाइकल नियन्त्रणमा लिइएको शर्माले बताउनुभयो । यस्तो कार्यमा संलग्नलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसुरमा दफा १९४ बमोजिम रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना हुने शर्माले बताउनुभयो । यस्ता मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएर मात्रै छोडिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहनुभएको छ । मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि कार्यदलको जिम्मेवारी तोकिएको हो । पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठिरहेको सन्दर्भमा मधेश केन्द्रित दलहरुको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका लागि कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ । यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरुसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।
जुम्ला: जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पु¥याइएको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भन्नुभयो, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको उहाँको भनाइ छ । खाद्य संस्थानले चामल लिन आउने नागरिकका लागि यात्रा खर्चसमेत प्रदान गर्ने व्यवस्था गरेको छ । चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाबाट आउने नागरिकलाई फरक–फरक भाडासमेत उपलब्ध गरिएको छ । जिल्लाको कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाबाट आउने नागरिकलाई प्रतिव्यक्ति रु एक हजार भाडा दिने गरिएको छ, भने गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आउने नागरिकलाई भने रु ५०० दिने व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा, जन्मका लागि एक सय ४७ क्वीन्टल र मृत्युका लागि १३ क्वीन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार ५०० रूपैयाँ भाडाका लागि खर्च गरिएको छ । विसं २०७३ मा थालिएको यो योजनाले हालसम्म प्रभावकारी देखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताउनुभयो । यस आवमा जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ, भने रु एक लाख ४८ हजार ५०० भाडाका रूपमा प्रदान गरिएको यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।
नवलपरासी: पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरुको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । “रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदिबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ”, उनले भने ।
काठमाडौं: माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि ‘बुकिङ’ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन् । यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ५० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन् । उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताउनुहुन्छ । आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उहाँको भनाइ थियो । टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउनुहुन्छ । “टोखाका चाकु उद्योगीले वार्षिक रू ३० लाखदेखि ४० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्”, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउनुहुन्छ । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकालेसमेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाले हाल टोखामा ‘चाकु स्तम्भ’ निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी टोखाको चाकु संरक्षणका लागि टोखाका चाकु उद्योगीलाई चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमण गरिसकिएको बताउनुहुन्छ । टोखाको चाकु अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गरिने उहाँको भनाइ थियो । अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्लाबाट आउने गरेको छ । पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु रोप्न लागिएको छ । उक्त कार्यको लागि रू पाँच लाख विनियोजन भइसकेको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, पुस्ता हस्तान्तरणका लागि विभिन्न प्रकारका तालिमसमेत प्रदान गरिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् । टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विस २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो । टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आउनुभएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट माग भइरहेको बताउनुहुन्छ । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पु¥याउन भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताउनुहुन्छ । “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउने छन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु”, मन्त्री पौडेल भन्नुहुन्छ । मन्त्री पौडेल टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि
पोखरा: पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस्ता सहयोगले गुरुकुलको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोगका प्रति आभार व्यक्त गर्नुभयो । सहयोगी एवम् सहभागीलाई स्वागत गर्दै राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम खनालले गुरुकुलको सुव्यवस्थित एवम् दीगो सञ्चालनका लागि यस्ता सहयोगहरू आवश्यक भएको धारणा राख्नुभयो । कार्यक्रममा अद्वैत संस्थाका तर्फबाट अद्वैत ज्ञान मार्ग नेपालका बरिष्ठ सल्लाहकार सोमप्रसाद पौडेल, संरक्षक ठाकुरप्रसाद वाग्ले शास्त्री, अध्यक्ष सुवेदार डिलकुमार श्रेष्ठ, वेलचौतारा शाखा प्रमुख भगवती लामिछाने, कल्पवृक्ष शाखा सचिव कान्ता भट्टराईको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीको सभापत्वि एवम् विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीद्वारा सञ्चालित कार्यक्रममा अक्षयकोष सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य माधवशरण उपाध्यायले समन्वय गर्नुभएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर बस्नेत, हरिराज घिमिरे लगायतको उपस्थिति थियो ।