नीतिगत र कानुनी सुधार, शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा

काठमाडाैं | फागुन ५, २०८१

नीतिगत र कानुनी सुधार, शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा

काठमाडौं:  गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ । 


मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार, शान्तिसुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । 
    
    
बढ्दो सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, राजस्व चुहावट र साइबर अपराध सुरक्षा चुनौतीका रुपमा देखापरेका जनाउँदै प्रवक्ता तिवारीले त्यस्ता चुनौती सामना गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । 


नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिई प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत माघ १५ गते सङ्घीय संसद्मा दर्ता भएको बताउनुभयो । 

    
विपद्जन्य घटनामा प्रभावितलाई राहतलगायत पुनःनिर्माण एवं पुनःस्थापनासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउन विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ (प्रथम संशोधन) र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । 

    
मन्त्रालयले सीमा तथा अध्यागमन प्रशासनलाई चुस्त बनाउन दार्चुलाको टिङ्कर र मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना, अध्यागमन कार्यालय बेलहियामा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह, चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनमुतिपत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आएको जनाएको छ । 

    
एक हजार ३७० जना क्षमताको नुवाकोटस्थित कारागार सञ्चालनमा आएको तथा मोरङमा २६८ र मुगुमा ३० जना क्षमताको कारागार सञ्चालनको तयारी पूरा भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । 


केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सेवा विस्तार गरी २५ जिल्लाका एक हजार ९२२ वडाबाट अनलाइन नागरिकता सिफारिस गर्ने व्यवस्था गरिएको छ । 

    
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग विभिन्न सार्वजनिक सेवा प्रदायक १२ वटा प्रणालीको अन्तरआबद्धता गरिएको र सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसनलाई क्रमशः विस्तार गर्दै लगिएको मान्त्रालयले जनाएको छ ।     

काठमाडौं:  सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ ।  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरम...

थप पढ्नुहोस्

काठमाडौंः  प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।  पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको ...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ।  शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि ने...

थप पढ्नुहोस्