गलकोट: विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् । विश्व बैंकको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको ८।६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १ दशमलव ५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ । तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ । निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधारतर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायीतर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ । “झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, छ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको चार महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,” इञ्जिनियर शर्माले भन्नुभयो, “उक्त सडक अहिलेसम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।” सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीकोे भनाइ छ । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी रू ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार रू ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा रू ४९ करोड २२ लाख पुगेको थियो । नगरपालिकाभित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्री हुनेछ । उक्त सडकहरू आठ मिटर चौडा हुनेछन् ।
बैतडी: प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् । दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ । पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।
बझाङ: मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उहाँले बताउनुभयो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए । बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौं: काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका वडा नं ७ महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री झापा दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेको तीन वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ । बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उहाँले बताउनुभयो । “नयाँ सरकार बनेपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो, प्रतिवेदनमा किन हामीले एमाले र नेपाली कांग्रेसबीच नयाँ सहकार्य गर्नुप¥यो । त्यसको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसर के हुन त्यसको विश्लेषण गरेका छौँ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “प्रतिवेदनमा सरकार गठनको छ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले गरेका केही महत्वपूर्ण उपलब्धि र थुप्रै महत्वपूर्ण गर्नुपर्ने काम समावेश गरिएको छ ।” उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न प्रवृत्तिको पनि विश्लेषण गरिएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले संविधानको संशोधन, संविधानको कार्यान्वयन, संसद्मा रहेका विधेयकलाई छिटो टुङ्ग्याउने, संविधानसँग बाधिएका कानुनलाई प्रतिस्थापन गरी नयाँ कानुन ल्याउने कुरालगायत नौ वटा क्षेत्र अलग अलग संयन्त्र बनाएर एमाले र कांग्रेसले काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।
गण्डकी: लमजुङको मस्याङ्दी गाउँपालिका–१ घनपोखराका ६० वर्षीय विजय गुरुङ ३० वर्षअघिसम्म बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ लिएर कास्कीको मादी गाउँपालिकामा पर्ने ठूलोलेकमा पुग्ने गर्नुहुन्थ्यो । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको ठूलोलेक कास्की र लमजुङका किसानहरूको चरनखर्क मात्र नभएर परापूर्वकालमा नुनदेखि सुनसम्मको व्यापारका लागि मनाङ आवतजावत गर्ने नाका समेत हो । परापूर्वकालमा पशुगोठ र बटुवाहरूको चहलपहल हुने प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठूलोलेक र आसपासका ऐतिहाँसिक ठाउँहरू यतिखेर भने सुनसान छन् । “वैदेशिक रोजगारको बढ्दो प्रभावसँगै वर्षायाममा पशु र गोठालाहरुले भरिने ठूलोलेकलगायत खर्कहरू सुनसान मात्र नभएर लेकबेंशी गर्न प्रयोग भएका गोरेटो बाटाहरू झाडीले पुरिएका छन्,” पूर्वशिक्षक समेत रहेका गुरुङले भन्नुभयो, “परापूर्वकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासोथार वरपरको भूगोल हामी गुरुङहरूको इतिहास पनि हो ।” ऐतिहासिक स्थल क्होलासोथारमा एक हजार दुई सय वर्षअघिसम्म गुरुङ समुदायको तीन वटा बस्ती थियो । त्यसबेलाका घर, दरबार, घट्टलगायत भौतिक संरचनाका भग्नावशेष अझै इतिहासको साक्षीका रुपमा रहेका छन् । क्होलासोथार नेपालका आदिवासी जनजाति गुरुङ समुदायको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको छ । क्लोलासोथारलाई केन्द्रित गरेर पुर्खाको पदचाप पछ्याउँदै गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गको खोज, अनुसन्धान, पहिचान गरी प्रर्वद्धन र पूर्वाधार निर्माण थालेको छ । सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले कास्कीको मादी, लमजुङको क्होलासोथार, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम भएको बताउनुभयो । “नुनदेखि सुनसम्मको ब्यापार गर्न मनाङ जान–आउन, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउँदै तयार पारिएको पदमार्गको नक्साङ्कनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको इतिहाससँग जोडिएको प्राकृतिक रुपमा सुन्दर यस क्षेत्रको संस्कृति संरक्षण गर्दै प्रकृतिमा पर्यटकलाई भुलाउने, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य रहेको छ ।” ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँशीशहरसम्मलाई समेटेर गत जेठ महिनामा पहिचान गरिएको पदमार्गको गत साउन महिनामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङको उपस्थितिमा नक्सा सार्वजनिक र घोषणा गरिएको थियो । सहायक गन्तव्यहरु पन्ध्र दिनको मुख्य पदमार्गअन्तर्गत सहायक गन्तव्यहरू पनि पहिचान, प्रवद्र्धन र पूर्वाधार निर्माणको काम थालिएको छ । पर्यटकले इच्छा, क्षमता र अनुकुलता अनुसार लामो र छोटो अवधीको यात्रा गर्न पाउने विकल्प खुल्ला छ । यस पदमार्गमा कम्तीमा दुई दिनदेखि अधिकतम् १५ दिनसम्म यात्रा गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा यही २०८१ पुस ६ देखि ११ गतेसम्म पहिलो चरणअन्तर्गत पर्यटन व्यवसायी, पथप्रदर्शक र जनप्रतिनिधिहरूको टोलीले सिक्लेस– कपुुचे– क्होलासोँथर– करापुडाँडा– याङ्जाकोट हुँदै पुनः पोखरा जोड्ने (राउण्ड मादी) पदमार्गमा पदयात्रा गरेका थिए । गुरुङ पर्यटन व्यवसायीसँग गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले यस आर्थिक वर्षमा दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मस्र्याङ्दी गाउँपालिकाबाट घनपोखरा– मैदु– थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवद्र्धन गर्ने योजना रहेको छ । “प्रकृति, संस्कृति र इतिहासको सӶ्गम गुरुङ सम्पदा पदमार्गको सबै भूगोल र विशेषतालाई समेटेर प्रर्वद्धन गर्ने कार्यक्रम बनाएका छौँ,” उहाँले भन्नुभयो “नक्सा, बुकलेटको साथै भिडियो वृत्तचित्र र मल्टिमिडियाको प्रचार सामग्री तयार पारेर प्रचारप्रसार गर्न थालेका छौँ ।” सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा पर्यटकीय राजधानी पोखराको नजिकै रहेको गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्नसक्ने अध्यक्ष गुरुङको भनाइ छ । पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि गुरुङ सम्पदा पदमार्गका गन्तब्यहरूलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो । ‘फोरके ट्रेक’ ट्रेकका रुपमा पनि लिन सकिने गुरुङ सम्पदाका पर्यटकीय गन्तव्यहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० भित्र पर्दछन् । मादी गाउँपालिका–१ सिक्ले र २ ताङतिङमा पर्ने सिक्लेस–कपुुचे–क्होलासोँथर–तप्रो– करापुडाँडा–याङ्जाकोट लाई समेटिएको छ । कपुचे, कोरी, क्होलासोँथर र करापुडाडा समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’ का नामले पनि लिन सकिन्छ । मादी नदीको दाया र बाया किनारमा रहेका दुई वटा वडालाई फन्को लगाइने भएर यसलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत राउण्ड मादी नामाकरणका लागि प्रस्ताव गरिएको हो । बढीमा सात दिन लाग्ने चक्रीय मादी पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरू भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ । सिक्लेस–लमजुङ हिमालको काखमा झुरुप्प ढुङ्गे घरहरू रहेको गुरूङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको संगम सिक्लेसको नेपालको राजनीतिक परिवर्तनको इतिहाससँग जोडिएको छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो स–साना गल्ली, गल्छेँडा र तगारा यहाँका सौन्दर्य हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । यहाँ शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरूङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरूङ जातिको मन्दिर, मौलिक संस्कृति, भेषवभूषा, झाँकी, नाचगीत आदिमा रमाउने मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । सिक्लेस–हुगु–कपुचे, सिक्लेस–तस–कोरी, सिक्लेस–ताङतिङ, सिक्लेस–ताराहिल–घलेखर्क, सिक्लेस–खिलाङ–चिप्ली पदमार्ग छन् । कपुचे हिमतालः अन्नपूर्ण हिमालको काँखमा समुन्द्री सतहदेखि दुई हजार चार सय २१ मिटर उचाईमा रहेको कपुचे हिमताल मादी गाउपालिका–१ मापर्छ । दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुुुचेलाई विश्वकै कम उचाईमा भएको हिमतालका रुपमा दाबी गरिएको छ । हरियो र निलो मिश्रित रङ्गको तालको पानीमा घामका किरणहरू पर्दाको दृश्यले पदयात्रीलाई रोमाञ्चित बनाउछ । यहाँ अन्नपूर्ण चौथो हिमालबाट हिउँ पहिरो खसिरहन्छ । पर्यटकहरुको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुरेन्ट र अस्थायी संरचनाका होटलहरू छन् । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरहरुमा पर्यटकलाई बास बस्ने व्यवस्था मिलाएको हुगुका होटल व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्न सकिन्छ । कोरीडाँडाः हुगुदेखि नौलाखर्क, नौटा हुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुन्द्र सतहदेखि तीन हजार आठ सय ५० मिटर उचाइको कोरीडाँडा पुगिन्छ । सिक्लेसदेखि तास हुँदै कोरी पुग्ने अर्को पदमार्ग पनि छ । हुगुमा खाजा खाएर हिडेका पर्यटक दिउँसोको खाना खान नौटा खर्क पुग्छन् । यहाँ चिया पसल छ । माछापुच्छ्रे, अन्नपूर्ण २, ४, थ्रि सिस्टर, मादी र लमजुङ हिमाललाई नजिकबाट नियाल्न पाउनु कोरीडाँडाको प्रमुख बिशेषता हो । कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरु बास बस्ने थलो र गोठालाको खर्क थियो । चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटकहरू आउने क्रम बढेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो । सिक्लेसदेखि तसा हुँदै कोरी पुगेका पर्यटकहरु पुरानै बाटो, नौटा–हुगु–कपुचे–हुगु–सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठूलोलेक–क्होलासोथार –करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ । ठूलोलेकः कास्की र लमजुङका किसानहरुले परापुर्व कालमा गोठ लैजाने ठूलोलेक समुन्द्री सतहदेखि चार हजार ५० मिटरको उचाईमा अवस्थित छ । कोरीदेखि तीन घण्टा पैदलयात्रा गरेपछि ठूलोलेक पुगिन्छ । विशाल पाटनयुक्त ठूलोलेकदेखि थुर्जु देउराली हुँदै मनाङ र क्होलासोथार निस्कने पदमार्ग छन् । लमजुङको घलेगाउँ, घनपोखरा, पसगाउँ जाने पदमार्ग पनि छ । ठूलोलेकमा तीन वटा आकर्षक र मनमोहक तालहरू छन् । बहुमूल्य यार्सागुम्बा पाइने योकस्तुरी मृग र डाफेको बासस्थान पनि हो । क्होलासोथारः कास्कीको मादी गाउँपालिका–२ को भूगोलमा पर्ने क्होलासोथार गुरुङ समुदायको ऐतिहासिक बस्ती हो । गुरुङ पर्यटन ब्यवसायी सङ्घका महासचिव तुल गुरुङका अनुसार एक हजार दुई सय वर्ष अघिसम्म क्होलासोथारमा गुरुङ समुदायको बसोबास थियो । यहाँबाट बसाई सरेका गुरुङहरू नेपाल र विश्वका विभिन्न ठाउँमा फैलिएको उहाँले बताउनुभयो । गुरुङ समुदायको इतिहाँस, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाई छ । पुराना गोलघर, दरवार, घट्ट, घोडा बाध्ने तबेला आदिका भग्नावशेष रहेको यहाँ पुरातत्व विभागले गरेको उत्खनन्मा पौराणिक महत्वका सामग्रीहरू भेटिएका थिए । ठूलोलेक र तप्रोदेखि दुई तर्फबाट क्होलासोथार जोड्ने परम्परागत मार्ग छन् । ठूलोलेकदेखि क्होलासोथार जाने पदमार्गमा पर्ने ‘बनको छेउ’ नामको पहाडलाई स्थानीयबासीले देवताको रुपमा पुज्ने गर्दछन् । क्होलासोथार नजिकै तत्कालीन घले राजाको घोडा दौडाउने र मेला लाग्ने चौर पनि रहेको छ । ठूलोलेक र तप्रोदेखि क्होलासोथार पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ । करापुडाँडाः मादी गाउँपालिका–२ मा पर्ने करापुडाँडा समुुन्द्री सतहदेखि दुई हजार नौ सय मिटर उचाईमा छ । कोरी– ठूलोलेक–क्होलासोथार–तप्रो हुदै यात्रा गर्दा क्होलासोथारदेखि चार घण्टा हिडेर पुगिने तप्रोमा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाडा पहाड, जङ्गल र हिमाल हेर्दै यात्रा गरेपछि करापुडाँडा पुगिन्छ । गुराँसे जङ्गल, रङ्गीबिरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथ, वुद्ध, मनास्लु, हर्क गुरुङ हिमाल देखिन्छ । यहाँको क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको स्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ । टेन्ट र अस्थायी टहराहरूमा पर्यटक बास बस्न पाउने गुरुङ पर्यटन व्यवसायी सङ्घका कोषाध्यक्ष भुपाल गुरुङले बताउनुभयो । करापुडाँडाको फेदीमा रहेको ताङतिङमा होमस्टे र होटलको सुविधा छ । करापुडाँडाबाट ओरालो करिब चार–पाँच घण्टा डाँडा र जङ्गलको बाटो हुँदै याङ्जाकोट पुगिन्छ । शुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यक पर्नसक्छ । यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरो हुँदै याङजाकोट पुगिन्छ । सञ्चार, विद्युत् र खानेपानी सुविधा आवश्यक पर्यटन व्यवसायी बलराम थापाले गुरुङ सम्पदा पदमार्गले धेरै सम्भावना बोकेको बताउनुुहुन्छ । तत्काल सडक पुग्न नसक्ने र पुरानो पदमार्ग भएकाले यसलाई सामान्य मर्मत तथा केही पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । क्होलासोँथार, तप्रो र ठूलोलेकमा रेष्टुरेन्ट आवश्यक रहेको र पुराना पदमार्गको मर्मत, सुधार गर्नुपर्ने, सङ्केत चिन्ह राख्नुपर्ने थापाले बताउनुभयो । कोरी, करापुडाँडामा खानेपानी, विद्युत र सबैजसो ठाउँमा तीव्र गतिको इन्टरनेट सुविधा विस्तार गर्नुपर्ने अर्का पर्यटन ब्यवसायी गङ्गा घलेले बताउनुभयो । मादी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एकजङ्ग गुरुङले यसवर्ष गण्डकी प्रदेशको रु ३० लाख बजेटबाट करापुडाँडादेखि तप्रोतर्फ पदमार्ग निर्माण गरिएको बताउनुभयो । अर्को शीर्षकमा विनियोजन भएको रु ४० लाख बजेटबाट पनि पदमार्ग निर्माणको तयारी भएको बताउँदै उहाँले थप बजेटका लागि पहल गरिएको बताउनुभयो । सिक्लेस कोरी मनाङ पदमार्गका लागि पनि संघीय सरकारबाट यस वर्ष रु एक करोडभन्दा बढी विनियोजन भएको छ ।
ललितपुर: नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । महाधिवेशन निर्देशक समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । दशरथ रङ्गशाला त्रिपपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घले प्राविधिक सहयोग उपलब्ध गराउने छ । संयोजक बस्नेतले राज्यले खेलाडीहरुको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरुको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । त्यसैगरी लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । मुलुकको हितमा योगदान गर्नुभएका ३६ जना स्वर्गीय नेता तथा सहिदहरुको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ । प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।