पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

मोरङ:   कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।  कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को  चरा फेला परेका छन् ।  गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उहाँले बताउनुभयो ।  सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँले असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने बताउनुभयो ।  सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ ।  करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताउनुभयो ।

काठमाडौं:   सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो ।       पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किनुभयो । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुख्र्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाल्नुभयो । उहाँ आज नेपालमा पर्यटन व्यवसायमा जम्नुभएको छ । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिनुहुन्छ ।       सङ्घर्षको पाइलट बन्ने सपना अब उहाँकी जेठी छोरी अर्नग्या विष्टले पुरा गर्दैहुनुहुन्छ । केही दिनअघि छोरीलाई पाइलट पढ्न अमेरिका बिदा गर्नुभएका विष्टले आफ्नो विगत सम्झिएर निकै भावुक बन्नुभयो ।  उहाँले भन्नुभयो, “आजभन्दा ३० वर्षअघि म अमेरिकामा पाइलट तालिम गरिरहेको थिए, बिदामा  बुबाआमाको औधी याद आयो । लगत्तै नेपाल फर्किए । त्यही बिचमा आमाबुबाले भन्नुभयो, तँ, पाइलट पढेपछि कता–कता जालास् १ तिमी हामीलाई चाहिन्छौ । यो व्यवसायलाई सम्हाल्नुपर्छ, अभिभावको चाहना अनुरुप विष्ट नेपाल फर्केर पर्यटन व्यवसायमा रमाए ।”       आफ्ना सन्तान चिकित्सक, पाइलट र इञ्जिनिर बनुन् भन्ने अभिभावको पहिलो चाहना हुन्छ । यो पेसा मात्रै नभएर समाजको प्रतिष्ठा पनि बनिरहेको छ । तर, विष्ट परिवारले प्रतिष्ठाभन्दा पनि पुख्र्यौैली पेसालाई प्राथमिकता दिएर छोरालाई नेपालमै व्यवसायमा डोर्याउने निधो गरे । सङ्घर्षले अभिभावको चाहनालाई नकार्न सक्नुभएन । पेसा व्यवसायलाई निरन्तरता दिनुभयो । सङ्घर्षको सपना पाइलट बन्ने नै थियो । तर परिवार र देशप्रतिको मायाले उहाँ स्वदेश फर्किनुभयो ।         नामजस्तै सङघर्षको सङ्घर्षले व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन ९रेबान० का केन्द्रीय अध्यक्ष समेत रहनुभएका विष्टको होटल तथा रेष्टुरेण्ट व्यवसायमा नेतृत्व लोभलाग्दो छ ।  “सङ्घर्षपछिको सफलताले जीवनलाई आनन्दित तुल्याउछ”, उहाँ भन्नुहुन्छ, “आज म असाध्यै खुसी छु । किनकी नेपालमै बसेर केही भए पनि गर्नसकेको छु, मेरो ठूलो सपना छैन । यही देशमा केही गरु भन्ने हुटहुटी छ ।”      सङ्घर्ष स्वदेश फर्कनुमा एउटा गज्जबको संयोग छ । उहाँको परिवार कोटेश्वरमा बस्छ । परिवारका पाँच सन्तान (चार छोरा र एक छोरी) मध्ये सङ्घर्ष साइलो छोरा हुनुहुन्थो ।  “म अमेरिका उडेपछि बुबाआमाले सधैँ चित्त दुःखाएर कोटेश्वरमाथि उड्ने विमानलाई सोध्नुहुन्थ्यो रे ‘तैले मेरो छोरालाई अमेरिका लगिस कहिले फिर्तागर्छस्”, उहाँले भन्नुभयो–“त्यतिमात्रै हैन, दक्षिणकाली मातालाई प्रार्थना गरेर मेरो छोरो चाँडो फिर्ता गरिदिनुस् । फर्केपछि कालो बोको चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ ।” पछि नेपाल फर्केर दक्षिणकालीमा भाकल पूरा गरेको विष्टले स्मरण गर्नुभयो ।      “बुबाआमाको चाहना अनुसार पाइलट बन्ने सपना छाडेर यहाँ बसे । मेरो जीवनमा बन्ने इच्छा र सपना नै पाइलट थियो”, विष्टले भन्नुभयो, “मेरो सपना  ब्रेकफास्ट नेपालमा, लन्च युरोपमा र डिनर अमेरिकामा गर्ने थियो । तर, बुबाआमाको सपनालाई पहिलो प्राथमिकता थिएर मेरो इच्छालाई त्यत्तिकै थाती राखे ।”       सपना रोकिएकामा केही समय विष्टमा छटपट्टी हुन्थ्यो । सन् २००३ मा बिबाह गरेको एक महिनामा उहाँ बुबाआमालाई युरोप घुम्न जान्छु भनेर अमेरिका पुग्नुभयो । यसबारे उहाँले श्रीमतीलाई मात्रै जानकारी दिनुभयो । विष्टले अमेरिकामा प्याराग्लाइडिङको तालिम लिनुभयो । करिब नौ महिनाको तालिम सकेर उहाँ पहिलो प्याराग्लाइडिङको पहिलो लाइसेन्स होल्डर पनि बन्नुभयो । उहाँअघि  नारायण पराजुली र राजेश बम्जनले प्याराग्लाईडिङको तालिम लिनुभएको थियो तर, लाइसेन्स भने लिनुभएको थिएन ।       विष्ट भन्नुहुन्छ, “केही हदसम्म मेरो पाइलट बन्ने सपना चाहिँ प्याराग्लाइडिङमा रमाएर सीमित राखे । तर, म गौरब गर्छु किन की नेपाल संसारकै सुन्दर देश हो । जातजाती, भाषाभाषी, सगरमाथा र बुद्धजन्भूमिमा बसेर थोरै भएपनि आत्मनिर्भर भएर पर्यटन व्यवसायलाई चलायमान बनाउन पाउँदा ज्यादै खुशी छु र नेपालमा बस्न पाएकोमा गौरब पनि गर्छु ।”       आफूलाई खुशी राख्न विष्टले निरन्तर मेहेनत र समाजसेवालाई निरन्तरता दिनुभएको छ । उहाँ दैनिक १२ देखि १४ घण्टा श्रम गर्नुहुन्छ । विष्टको अनुभवमा जीवनमा प्राप्ति मात्रै हैन त्याग र समर्पणको आनन्द पनि बेल्लै छ ।  “आफ्नै देशमा बसेर केही युवालाई छोटो समय काम सिकाएर सक्षम व्यावसायिक वातावरण बनाउने र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन केही हदसम्म योगदान पुगेको छ । यसैबाट मलाई आनन्छ आउँछ”, उहाँले भन्नुभयो ।        विष्टको सफलतामा जीवनसाथी विश्व कीर्तिमानी नेपाली प्रतिष्ठा अमात्य (विष्ट) को दरिलो साथ छ । प्रतिष्ठा अमात्य सन् २००४ मा स्मरण शक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने पहिलो नेपाली हुनुहुन्छ । गीत गायन र रचनामा पनि पोख्त उहाँका विभिन्न एल्वम सार्वजनिक भएका छन् । अहिले उहाँ पर्यटन क्षेत्रमा सघाइरहनुभएको छ । सफल व्यवसायी विष्ट व्यवसायका अतिरिक्त खेलकुद र समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यालय तह देखिनै धावक रहेनुभएका विष्ट मार्सल आर्टमा ब्लाकबेल्ट हुनुुहुन्छ । साइक्लिङ सङ्घको पूर्वअध्यक्ष उहाँले प्याराग्लाइडिङ र स्वीमिङमा पनि विभिन्न रेकर्ड कायम गर्नुभएको छ । संस्कृति प्रवर्द्धनमा ‘नेपाली चुल्हो’       लाजिम्पाटमा रहेको ‘नेपाली चुल्हो’ लोकप्रिय भोजन गृहको रुपमा स्थापित छ । पारिवारिक वातावरणमा स्तरीय खानाका परिकारको स्वाद चखाइरहेको नेपाली चुल्होले संस्कृति र पर्यटन प्रवर्द्धन गरिरहेको छ । नेपाली चुल्होका प्रबन्ध निर्देशक विष्ट विभिन्न परिकारको स्वाद ग्राहकमाझ पु¥याइरहेको बताउनुहुन्छ ।       “विभिन्न सांस्कृतिक प्रस्तुतिसहित खानाको साथमा नेपाली पर्यटन प्रवर्द्धन गरिरहेका छाँै”, उहाँले भन्नुभयो । नेपाली चुल्होमा विभिन्न जातजाति र वेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिसहित खानाका परिकार लिन सकिन्छ ।       यस्तै विष्टकै नेतृत्वमा रहेको ठमेलमा ३० वर्षदेखि स्थापित ‘नर्थफिल्ड क्याफे’मा भारतीय, अमेरिकन, म्याक्सिकन कन्टिनेन्टल खानाको मज्जा लिन पाइन्छ । ठमेलकै ‘लाबेला क्याफे’मा इटालियन कन्टिनेन्टल खाना पाइन्छ ।  नर्थफिल्ड पर्यटकको रोजाइमा पर्छ ।       पर्यटन व्यवसायी विष्ट सामाजिक कार्यमार्फत धेरैका लागि भरोसा र आशाका केन्द्र पनि बन्नुभएको छ । उहाँमार्फत अवसर पाएका देशका विभिन पेसामा उपलल्लो तहमा कार्यरत छन् । आफूले सहयोग गरेका व्यक्ति उपल्लो पदमा पुग्दा ज्यादै खुसी र आनन्द लाग्ने उहाँ बताउनुहुन्छ ।  नवौँ राष्ट्रिय खेलमा प्याराग्लाईडिङ प्रशिक्षकको जिम्मेवारी निभाउनुभएका विष्ट नेपाल साइक्लिङ एशोसिएशनका पूर्वउपाध्यक्ष हुनुहुन्छ । चर्चित बुद्ध वाज बर्न इन नेपाल अभियानका संयोजक विष्ट टुर दी लुम्बिनीको उपाध्यक्ष र ठमेल पर्यटन विकास परिषदका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।       रेष्टुरेण्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेण्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेण्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै छ । बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेण्ट एण्ड बार सञ्चालन भएका छन् ।  विष्टले रेष्टुरेण्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटक प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्नु रहेको बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई  प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ ।  स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर  अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ ।  नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ ।  यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ ।  प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् ।   स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो  । 

भारत:  यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो । एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान््को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् ।  प्रयागराजमा गङ्गा र यमुनासँगै सरस्वती नदीको सङ्गम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न । भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताउनुभयो । दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् ।  “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उहाँले भन्नुभयो ।        प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उहाँले भन्नुभयो ।  हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उहाँले जानकारी दिनुभयो । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उहाँको अनुमान छ ।      महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताउनुभयो । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताउनुभयो । चुस्त व्यवस्थापन      विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ ।  स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु ७५ अर्ब खर्च गरिसकेको छ ।  के हो महाकुम्भ ?      आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गर्नुभएको थियो । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ ।       प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको सङ्गममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।  त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो ।  सोही सङ्घर्ष कम गर्नका  लागि भगवान् विष्णुले मोहिनी रुप लिनुभएको थियो । त्यसपछि जब देवता र राक्षसहरूबीच सङ्घर्ष बढ्न  थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रुप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।

रुकुम पश्चिम:   रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ ।       मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो । समीर र ढाँटी नाति र हजुरआमा हुन् ।  सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।      खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ ।       हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उहाँले जानकारी दिनुभयो । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।   ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।   गन्नीको जीतमा विकास परियारको गोलनै निर्णायक बन्यो ।    च्याम्पियन बनेको गन्नी एफसीले नगद रु १ लाख ८१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे  ।   यस्तै उपविजेता बनेको रामघाटले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गरे ।   उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिप कार्की, उत्कृष्ट डिफेन्डरका रुपमा गन्नी एफसीकै हेमन्त तामाङ ट्रफिसहित नगद रु ७ हजारसहित पुरस्कृत बने ।    यस्तै उदीयमान खेलाडीका रुपमा छोरी सुशानका अंकित गुरुङ, सर्वाधिक गोलकर्ताका रुपमा बिगसिटी क्याफे लेकसाइडका आयुष थापा (६ गोल) नगद रु ७ हजारसहित ट्रफिसहित पुरस्कृत भए ।   अनुशासित टिमको अवार्डबाट नगद रु ९ हजारसहित केआइइसी बुन एफसीलाई पुरस्कृत गरिएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिए ।   विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका उद्यमी किरण केसी, पुरस्कारदाताहरु, आयोजक संस्थाका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   गत संस्करणको उपाधि भने लामागाउँ गुम्बाले जितेको थियो ।  

पोखरा:    भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३–० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब ले सेमिफाइनल पुगिसकेका छन् । ३६ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले अग्रता बनाएको थियो। सभ्कात्जोन सत्तोरोभको पासमा उनले थन्डर बोल्ट्स गोलकिपर र डिफेन्डरको बिचबाट सेकेण्ड बारबाट उत्कृष्ट गोल गरे। ७३ औं मिनेटमा साभ्कातजोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पारे। खेलको ७५ औं मिनेटमा साभ्कातजोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले ३–० को आरामदायी अग्रता बनायो। सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारको सामना गर्नेछ। पहिलो सेमिफाइनल बुधवार पुलिस र चर्च ब्वाइजबिच हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाउनुभएको छ ।       प्रतिनिधिसभाको आजको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताउनुभएको हो ।  “आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्”, उहाँले भन्नुभयो, “सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।”,  भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उहाँले बताउनुभयो ।

झापा:    किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ ।  बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ ।       प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताउनुभयो ।  आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड ६० लाखको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको जनाउँदै उहाँले ६० प्रतिशत अर्थात् रु एक करोडका सामग्री युरोप र अमेरिका निर्यात भएको बताउनुभयो ।      सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग ‘लिफ प्लस प्रालि’ स्थापना गरेको थियो ।  मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा रु एक करोड ५० लाख लगानीमा स्थापना भएको उद्योगमा हालसम्म रु चार करोड लगानी भइसकेको छ ।       दुई वर्षअघि आगलागी भएर ठूलो क्षति भएपछि उद्योगलाई मेचीनगर–९ बाट १३ मा स्थानान्तरण गरिएको छ । आगलागीबाट पुरानो मेसिन काम नलाग्ने बनेपछि भारतबाट नयाँ मेसिन ल्याइएको बानियाँले बताउनुभयो ।  “सालको पातबाट जस्तै सुपारीको पातबाट दुना टपरी बनाउन सकिन्छ भन्ने लागेर यसको व्यावसायिक उत्पादन गर्ने योजना बनायौँ,” उद्योगका संस्थापकमध्येका बानियाँले भन्नुभयो, “सुरुमा स्थानीय बजारमा यसलाई चिनाउन केही समय लाग्यो । पछि विदेशमा बजार प्रवद्र्धन गर्दै युरोपर अमेरिकाको बजारसम्म यसलाई पु¥याउन सफल भएका छौँ ।”      माइक्रोवेभमा तताउन मिल्ने, रेफ्रिजेरेटरमा चिस्याउन मिल्ने, वातावरणमैत्री, नचुहिने र प्राकृतिक रुपमै विसर्जन गर्न सकिने विशेषताका कारण विदेशी बजारमा नेपालमा निर्मित सुपारीको थाल, बटुकालगायतका सामान छिट्टै लोकप्रिय बनेको उहाँको भनाइ छ ।  सुरिलो बोटको टुप्पामा झुप्प भएर सुपारीका पात हुर्किने गर्छन् । सुपारी खेतीको भुइँमा किसानहरुले अन्य बाली लगाउने गर्छन् । ठूलो आकारका पात खेतीमा झरेर बाली नोक्सान नहोस् भनेर विगतमा किसानहरु यसलाई खेताला लगाएर बारीबाट हटाउने गर्थे । तर अहिले बोटबाट आफैँ झरेका पात बिक्री भएपछि किसानहरुले अतिरिक्त आम्दानी पाउन थालेका छन् । एउटा पात रु चारका दरले बिक्री हुने गरेको छ ।      झापामा दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३५ लाख वटा सुपारीका बोट रहेको छ । एउटा बोटबाट बर्सेनि पाँचदेखि आठवटा पात छिप्पिएर खस्ने गर्छन् । यस हिसाबबाट बर्सेनि दुई करोड ५० लाखभन्दा बढी पात खेर गइरहेको छ ।  उद्योगहरुले त्यही खेर जान लागेको पातलाई उपयोग गरेर सामान उत्पादन गर्दछन् । यसबाट सुपारी किसानले फलबाहेक पातको मूल्य पाउने अवस्था सिर्जना भएको छ ।      स्वदेशभित्र मठमन्दिरमा हुने पूजा, विवाह, व्रतबन्ध र सार्वजनिक समारोहको भोजभतेरमा सुपारीको पातबाट बनेका सामान प्रयोग हुने गरेको छ । भाटभटेनी, सेल्सबेरी, होटल सोल्टीलगायतका राजधानीका ठूला होटल र रेस्टुरेन्टमा यी सामग्री प्रयोग हुँदै आएको उद्योगका सञ्चालक बानियाँ बताउनुहुन्छ ।       झापाको बाहुनडाँगी, शान्तिनगर र बुधबारेबाट सुपारीका पात सङ्कलन हुँदै आएको उद्योगले जनाएको छ । ती क्षेत्रका अरू उद्योगबाट उत्पादित सामान उद्योगले किनिदिने गरेको छ । लिफ प्लस प्रालिमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेसिन सञ्चालन र पात सङ्कलनमा रोजगारी पाउने अधिकांश महिला श्रमिक छन् । उद्योगमा जडान गरिएको सातवटा मेसिनले दैनिक १२ हजार वटा थाल, बटुकालगायतका सामान उत्पादन गर्दै आएको छ ।      अर्जुनधारा नगरपालिका–२ मा इनर्जी क्रप्स नाम उद्योगले पनि सुपारीको पातबाट दुना टपरीलगायतका सामान उत्पादन गर्दै आएको छ । सञ्चालक दीपक ढुङ्गानाले रु एक करोडमा स्थापना गरिएको उद्योगमा १० जनाको संयुक्त लगानी रहेको बताउनुभयो ।       सञ्चालकहरु आफैँ सुपारीको पात खोज्न किसानका बगानमा पुग्ने गर्छन् भने उत्पादित सामान बिक्रीका लागि आफैँ खटिने गर्छन् । सुपारीको सुकेका पातलाई सङ्कलन गरेर सजिलैसँग उद्योगको कच्चापदार्थ बनाउने गरिएको छ । सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ ।  धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ । प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट पाँच वटासम्म थाल बनाउन सकिने बताउनुभयो ।      मेचीनगर–४ बाहुनडाँगीका राजेन्द्र मिश्र सुपारीखेतीबाट धानखेतीको तुलनामा दशौँ गुणा बढी आम्दानी हुने बताउनुहुन्छ । अढाई बिगाहामा सुपारीखेती गर्नुभएको उहाँले सुपारीको फलबाट वार्षिक रु चार लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो ।  सुपारीको बिरुवा रोपेको ६ वर्षपछि दाना फल्न थाल्छ । तर फल फल्नुभन्दा अघि नै यसको बोटले पातमार्फत आम्दानी दिन सुरु गर्छ । सुपारी बगानभित्र तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा आदिको खेती सँगसँगै गर्न सकिन्छ ।      मेचीनगर–६ मा याम निरौलाले मल्टी प्रोडक्सन कम्पनी प्रालि स्थापना गरेर बाहुनडाँगी क्षेत्रका सुपारीको पात सङ्कलन गरेर थाल, बटुका, चम्चा आदि सामान उत्पादन गर्दै आउनुभएको छ ।  स्थानीय क्षेत्रमै आफ्ना सामान बिक्री हुने गरेको जनाउँदै उहाँले वातावरणीय स्वच्छताका लागि प्लास्टिकका थाल बटुका निषेध गरेर सुपारीका पातको सामान प्रयोग बढाउन स्थानीय तहका सरकारहरुको भूमिका हुनुपर्ने बताउनुभयो ।  यही माघमा विर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विक्री कक्ष राख्दा मुलुक बाहिरका अवलोकनकर्ताले समेत सुपारीका पातको सामानबारे निकै चासो राखेको उहाँले जानकारी दिनुभयो ।  “बिक्री भएन भने घाटा व्यहोर्नुपर्ने हुन्छ भनेर उद्योगहरुले थोरै मात्रामा सामान उत्पादन गर्छन्,” उहाँ भन्नुहुन्छ, “बजार प्रवद्र्धनमा सरकारले सघाइदिने हो भने झापामा सुपारीको पातबाट चल्ने उद्योगबाटै हजारौँले रोजगारी र जीविकोपार्जन गर्नसक्ने सम्भावना छ ।”       मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा रहेकाले उद्योगले किसानको घरमा पुगेर सुपारीको पात किनेर लैजाने गरेको सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । जङ्गली हात्तीको उपद्रो बढी भएको बाहुनडाँगी क्षेत्रका किसानले हात्तीले नखाने बालीका रूपमा सुपारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ ।  “सुपारीखेती र यसको पातबाट बनेका सामानको बजारीकणमा सरकारले सघाउनुपर्छ,” तिवारी भन्नुहुन्छ, “तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्था छ । सुपारीको खेती गर्ने किसान, दाना प्रशोधन गर्ने र पातबाट सामान बनाउने उद्योगीहरुलाई प्रोत्साहित गर्नसके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निश्चित छ ।”       सुपारीको पातबाट बनेका सामानको विश्व बजारमा भारतीयले ९० प्रतिशत प्रभुत्व जमाएको र सुपारीको पातबाट बनेका सामान निर्यात हुँदा भारतको सरकारले त्यहाँका उद्योगीलाई नौ प्रतिशत प्रोत्साहन अनुदान प्रदान गर्दै आएको लिफ प्लस प्रालिका सञ्चालक बानियाँले बताउनुभयो ।      सुपारीको पातबाट बनेका सामान विदेश निर्यात गर्ने मुलुककै पहिलो उद्योग भए तापनि राज्यबाट प्रोत्साहन नपाएको उहाँको गुनासो छ । उत्पादित सामान मानव उपभोगयोग्य रहेको भनेर भारतीय प्रयोगशालामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताउनुभयो ।  “स्वदेश र विदेशको बजारमा माग भए जति आपूर्ति गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “बजारको कुनै चिन्ता छैन । बरु, वातावरणमैत्री सामान उत्पादन गरेर विदेश निर्यात गरिरहँदा  राज्यबाट कुनै प्रोत्साहन पाएका छैनौँ भन्नु पर्दा दुःख लाग्छ ।”