बिराटनगर: झापाको कचनकवल गाउँपालिका- ७ तारावारीस्थित दीपज्योति सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया केलावत्ती राजवंशी रहेकी छिन्। बुधबार १५-२० जना महिलासँगको समूहमा दाउरा र घाँस काट्न वन क्षेत्रमा गएकी राजवंशीलाई जंगली हात्तीले लखेटेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा खबर गरेपछि प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। घाइते राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएको र त्यहाँबाट थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएकामा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् । प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका हुन् । नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ । हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए । फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी दिए ।
काठमाडौँ: प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ । समितिद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा सरोकार भएका संस्था तथा व्यक्तिले गुनासोसहित उजुरी दर्ता हुनेक्रम बढेको भनी चिन्ता र चासो व्यक्त गरिएको छ । समितिमा परेका गुनासा सम्बोधन गर्ने उद्देश्यले दुई वटा उप–समिति गठन गरेको जानकारी दिँदै समितिका सभापति दीपकबहादुर सिंहले नीतिगत अस्पष्टताका सन्दर्भमा तालुक मन्त्रालयसँग समन्वय गरी आवश्यक रायसुझाव दिन भनी उपसमिति गठन गरेको बताए । उनका अनुसार ऊर्जा क्षेत्रमा देखिएका समस्या र परेका उजुरी सम्बोधनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा रहिसक्नुभएका पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा पूर्वाधार क्षेत्रमा देखिएका समस्या र उजुरी सम्बोधनका लागि अर्काे उपसमिति गठन भएको छ । समितिका सभापति सिंहले सरोकार भएका व्यक्ति तथा निकायसँग छलफल गरी पूर्वाधार क्षेत्रमा देखिएका विकृति, विसङ्गति र गुनासो सम्बोधनका पक्षमा सहयोग र सहजीकरण गर्न उपसमिति क्रियाशील हुने विश्वास व्यक्त गरे । “जनताको जग्गा पूर्वाधार निर्माणको नाममा लिनुहुँदैन, लिनुपर्ने भए जनतालाई उचित क्षतिपूर्ति र मुआब्जा तिर्नुपर्छ भनेर उप–समिति गठन गरिएको हो”, उनले भने, “प्रसारण लाइन तथा ऊर्जा क्षेत्रमा पनि समस्या छन्, देखिएका समस्या समाधानका पक्षमा उपसमितिले काम गर्ने छ ।” नागढुङ्गा सुरुङमार्गमा परेका घरजग्गाको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति रकम उपलब्ध गराइदिन माग राखी उजुरी–निवेदन परेको, काठमाडौँ तराई द्रुतमार्ग आयोजनाको खोकना क्षेत्रमा सांस्कृतिक, धार्मिक, आध्यात्मिक तथा पुरातात्विक महत्त्वका सम्पदा मासिन लागेको भनी त्यसको सम्बोधनका पक्षमा समेत समितिमा उजुरी परेको बताइयो । पृथ्वी राजमार्गअन्तर्गत पूर्वीखण्डतर्फको डुम्रेस्थित सडकको मापदण्ड र मुआब्जाका विषयमा निवेदन परेको, छोड्नुपर्ने मापदण्ड छोडिएको, मुआब्जामा राख्न नपर्ने भनी नराखिएको र सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा घरमा कुनै असर नपर्ने भनिए सटर–कवल आधा ढाकिने गरी पर्खाल लगाउन थालिको हुँदा क्षतिपूर्तिका लागि संसदीय समितिसमक्ष उजुरी परेको समितिले जनाएको छ । यसैगरी सफा तथा खिया नलागेको फलामे डण्डीको प्रयोग र तिनका रक्षकका रूपमा रहेको गुणस्तरीय ढलान र प्रविधिको प्रयोग गर्नुपर्ने सम्बन्धमा पनि उजुरी–निवेदन प्राप्त भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले हेटौँडा–बागमती–टीकाभैरब–भैँसेपाटी–एकान्तकुना सडकखण्डलाई कान्ति राजपथ बनाउने र ललितपुरस्थित एकान्तकुनालाई कान्ति राजपथको प्रस्थानबिन्दु बनाउने प्रस्ताव कुन आधारमा मन्त्रिपरिषद्समक्ष पेस गरेको र मन्त्रिपरिषद्ले कुन आधारमा निर्णय गरेको भन्ने विषयमा पनि उजुरी परेको सभापति सिंहले जानकारी दिए । यसैगरी बुटवल भैरहवाका छ वटा उद्योगको विद्युत् महसुल विवादका सम्बन्धमा उजुरी परेको, ट्रङ्क वा डेडिकेटेड लाइनको माग स्वीकृतिसहित उपभोग नगरेका धान–गहुँ कुटानीपिसानी तथा घरेलु उपभोग्य प्लास्टिकजन्य सामान बनाउने उद्योगलाई बिनाप्रमाण ट्रङ्क लाइनको बक्यौता तिर्न भनी नेपाल विद्युत् प्राधिकरणले पठाएको बिलभाउचरका सन्दर्भमा पनि उजुरी परेको समितिले जनाएको छ । त्यस्तै ट्रङ्क तथा डेडिकेटेड लाइनका लागि निवेदन नदिएको, प्राधिकरणबाट स्वीकृत नभएको, विद्युत् खपतसमेत नगरेकोलगायताका विवरण विद्युत् प्राधिकरणले उपलब्ध नगराएकोजस्ता विषय समेटेर उजुरी परेका छन् । यसैगरी उजुरीमार्फत ललितपुरका गुइटोल, पिन्छे, सुवाहा, सोको लगायत क्षेत्रमा कुनै धारामा पानी आउने र कुनैमा नआउने समस्या रहेको, पानी नआउने ग्राहकको पहिचान गरी जरिवाना तथा शुल्क मिनाहाको माग गरिएको छ । पेटी ठेक्काको पुन:निर्माण सम्पन्नपश्चात् भुक्तानी नपाएको रकम दिलाउन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा पानी वितरण गर्ने पाइपमा समस्या रहेको, कतिपय स्थानमा पाइपमा समस्या भई पानी चुहावट भइरहेकाले समस्या समाधानका लागि समेत उजुरी परेको सभापति सिंहले बताए । यसैगरी टेकु–कालीमाटी पुल सञ्चालन नगरी त्यसमा अनियमित काम भएको र निर्माणमा संलग्न ठेकेदारलाई दुःख दिएको आरोपसहितको उजुरी समितिमा परेको सभापति सिंहले बताए । यसैगरी नेपाली सेनाको जिम्मामा रहेको काठमाडौँ तराई जोड्ने दूर्तमार्ग निर्माण आयोजनाको कामकारबाहीका सन्दर्भमा समेत उजुरी परेको समितिले जनाएको छ । पूर्वाधार क्षेत्रमा देखिएको समस्या समाधानमा समितिको चासो यसैगरी उजुरीमाथि भएको छलफलमा समितिका सदस्यहरूले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएका समस्यालाई समयमै सम्बोधन गरी सकारात्मक परिणाम दिनेतर्फ पूर्वाधार विकास समितिको ध्यान जानुपर्नेमा जोड दिए । रासस
काठमाडौं: नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ छ । अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो । यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या एक लाख छ हजार चार सय ५९ छ । होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा रू २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रू दुई खर्व १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब रु तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब रु एक खर्व नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि ९भ्यालु एड० गरेको देखिन्छ । अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव चार प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव छ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैर तारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो । होटलमा रहेको कोठाको सङ्ख्या एक लाख १६ हजार एक सय रहेको छ । जसमध्ये स्टार होटलमा आठ हजार चार सय ९६ कोठा, गैर तारे होटल तथा लजमा एक लाख ७५, रिसोर्टमा तीन हजार आठ सय २९ र होमस्टेमा तीन हजार सात सय कोठा रहेको यो अध्ययनले देखाएको छ । हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार आठ स्य ५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ ।
गण्डकी: आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताउनुभयो । क्हफुचेबाट अपभ्रंस हुँदै यस ताललाई कपुुचे, कफुचे आदिका रुपमा लिने गरिएको उहाँले जानकारी दिनुुभयो । बजारदेखि नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै वर्षातको समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गी, वीरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् । पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदै छ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ । बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ । पर्यटकको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुराँ र अस्थायी संरचनाका होटल बनिसकेका छन् । परम्परागत रुपमा यसअघि बनेका कतिपय भेडीगोठलाई स्तरोन्नति गर्दै पर्यटकस्तरीय होटेलका रुपमा विकास गर्न खोजिएको देखिन्छ । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरमा पर्यटकलाई बास बस्ने ब्यवस्था मिलाएको सिक्लेस–कफुचे मार्गस्थित हुगुमा होटेल आइसफल चलाउँदै आउनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । जङ्गलको बीच र मादी नदीको किनारमा रहेको हुगु यस क्षेत्रमा प्राचीन गोठहरू भएको क्षेत्र हो । अहिले प्राचीन गोठहरू हराउँदै गए पनि तिनै गोठहरू रहेका स्थानमा पर्यटक लक्षित गरी होटेल लगायतका पूर्वाधार विकास गर्न खोजिएको उहाँले बताउनुभयो । हुगुका होटेलको आगनबाट टाउको ठडाउने बित्तिकै लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ । पछिल्ला समयमा हिमताल र हिउँ पहिरो अवलोनका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको कपुुचे हिमतालसम्म पुग्नका लागि बाटो लगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्ने दुवै विकल्प छन् । हुगुमा परापूर्वकालमा हिउँदमा सिक्लेसवासीको गाईभँैसी र भेडागोठ राख्ने चलन थियो । हुगुदेखि सिक्लेस फर्कन र नौटा हुँदै अर्को गन्तव्य कोरी पुग्न सकिन्छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटकमाझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको मादी–१ का वडाध्यक्ष गुरुङले बताउनुभयो । सिक्लेसबाट कपुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको बताउँदै उहाँले यसबीचमा गाउँपालिकासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय ताल प्राधिकरण, गण्डकी प्रदेश सरकार आदि निकायबाट तालको पूर्वाधार विकाससँगै तालसम्म जाने बाटो आदिका लागि सहयोग प्राप्त भई केही कामहरू अघि बढेको जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुुसार हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कपुचेसम्मका लागि ५० अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको भएपनि त्यसतर्फ युवाहरूको आकर्षण देखिएन । ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । सिक्लेस–कपुुचे मार्गमा पर्ने हुँगु र कपुचे दुवै स्थान प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कपुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ । पोखराबाट छोटो दूरीमा रहेको कपुुचेलाई समेटेर सिक्लेसहुँदै कपुचे–कोरी क्होलासोथार–कर्पुु हुँदै याङजाकोटलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै प्रवद्र्धनका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । सङ्घले प्राचीन गुरुङ बस्ती रहेको सिक्लेससहित गुरुङ गाउँ र जोडिएका प्राचीन भेडीगोठ एवं नुन बोक्ने मार्गलाई समेटेर बृहत् अवधारणका साथै गुरुङ सम्पदा पदमार्गको अनुसन्धान, एवं अन्वेषण गरी त्यसको प्रवद्र्धन र विकासमा जोड दिएको उहाँले बताउनुभयो । सङ्घकै आयोजनामा पुसको दोस्रो हप्ता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पु हुँदै याङ्जाकोटसम्ँमको गुरुङ सम्पदा पदमार्ग प्रवद्र्धन सम्पन्न गरिएको सङ्घका महासचिव तुल गुरुङले बताउनुभयो । पोखराबाट नजिक रहेको कपुचे हिमतालको महिमा र गरिमासँगै यहाँको पर्यटकीय आकर्षणलाई विश्व पर्यटन बजारमा पु¥याउनुु जरुरी रहेको उहाँले बताउनुभयो ।
दाङ: माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ । “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।” पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उहाँले जानकारी दिनुभयो । मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताउनुभयो । थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उहाँले उल्लेख गर्नुभयो । थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो । माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर ९थारु भाषामा जिता मार्ना० मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही–६ का रामचरण चौधरीले बताउनुभयो । “थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिन्छ”, रामचरणले भन्नुभयो । माघ नजिकिएसँगै नाचगान र खानपीनको तयारी भइरहेको छ । माघ महोत्सवको तयारी थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ । थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिनुभयो । महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही–१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिनुभयो । थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । थारु समुदायको संस्कार र संस्कृति बोकेको पर्वका अवसरमा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयमो । महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराउनुभएको हो । राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
मोरङ: जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । वनमा दाउरा काट्न जानुभएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उहाँले बताउनुभयो । नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाँले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गर्नुभयो । दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गर्नुभयो । जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पु¥याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गर्नुभयो ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउनुभयो । “हिउँदको मौसममा वन क्षेत्र सुक्खा हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उहाँले भन्नुभयो, “वन समूहका उपभोक्तामा सोत्तरलाई सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।” उपभोक्ताले वनको संरक्षण सम्वर्द्धन र विकासमा योगदान गर्दै आएको बताउँदै उपयोगमा कतिपय कानुनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएकाले संरक्षणमा समेत जटिलता उत्पन्न भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । “मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय बासिन्दा सहर केन्द्रित हुन बाध्य छन् । ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको छ । तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई सहयोग र सहकार्य गर्नु आवश्यक छ”, अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो । वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम नभई काठ प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायत वक्ताले वन क्षेत्रको महत्व र उपयोगका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घ प्रदेश कमिटीलगायत जिल्ला अध्यक्षहरूको सहभागिता थियो ।