पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका तीन स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।  कास्की प्रशासनले असार २...

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।    सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे ।   “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”   करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके ।   “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”   उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए ।    वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए ।   तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताए ।   “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उनले भने, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् ।    बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताए।   “बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उनले भने, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।”   बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताए ।    गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् ।    अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । उनका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।   मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन ।   व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् । अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उनले बताए ।    मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ ।   बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए ।   सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए ।   आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताए ।

सुर्खेत:    कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।        यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ ।      देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ्घ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनै पनि कार्यक्रम तय गर्दा स्रोतसाधन र जनशक्रिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्रि प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा ।      मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ भने यसका लागि आयोजक आवश्यक पर्दछ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्रि पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ ।      कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू विना कुनै दबाव, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौँको सङ्ख्यामा खुला मैदानमा जम्मा हुन्छन् ।  यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समूहमा परिणत भएर सहभागीहरू आयोजकको स्वरुपमा सक्रिय  बन्छन् । अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समूह भने अनिवार्य हुनुपर्छ । यो पुरुषपुरुष र महिलामहिला वा महिला पुरुष दुवैले समूह बनाए खेल्छन् । खेलमा दुवै समूहमा एक जना गीत भट्याउने हुन्छ जसले आफ्नो समूहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्नसक्नेले नेतृत्व गर्छ ।      खेलमा सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । इच्छुक जोसुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकबद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्नेभन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा मायापिरती, सुखदुःख, राजनीति, सामाजिक, सांस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ ।  सोमबार परेको १५ गतेलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीले सोमबारलाई लामो रातका रूपमा लिँदै मीठामीठा परिकार खाएर यसलाई अवसर मानी गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाइलो गरी मनाएका छन् । पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ ।  पोर आइथी पुसका पुन्न अहिले पनि आइगै ।                        उमेर घटाई जोवन लैगै आफू फेरि बाइगै ।।       रूपमा जस्तो देखिए पनि सारमा देउडाले यहाँका नागरिकहरूको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी जीतबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ ।  यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यङ्ग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायत सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाइरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमङ्ग दिन्छ ।”      त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र सांस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्नेबित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो”, उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढङ्गबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।”      विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौँको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाइँदैन । यसको निरन्तरता दिँदै पुस्तान्तरण गर्ने, कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका स्थानीयले आधुनिकतासँगै देउडाको मौलिकतालाई विस्तार गर्दै लगेका छन् ।      कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचायैले देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुभयो । उहाँका अनुसार देउडाले सिञ्जा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकाले यसको जीवन्तता रहिआएको छ ।  कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको साउन १ गते ‘साउने सङ्क्राति अर्थात् देउडा पर्व’का रूपमा सार्वजनिक बिदा दिँदै आएको छ । 

बैतडी:     बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ ।  भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म  जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं:    कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।      क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उहाँ सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।  महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित हुनुभएको छ ।      सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन हुनुभएको छ ।  त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोलालगायत निर्वाचित हुनुभएको छ ।      लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताउनुभयो ।  उहाँले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो ।      नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासङ्घको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो ।      सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।  सन् २०१५ मा महासङ्घमा रूपान्तरण भपछि यस सङ्गठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालको ठूलो प्रविधिसम्बन्धी प्रदर्शनीका रूपमा मानिन्छ ।

दाङ:     लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो ।  उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ  । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

सर्लाही:    नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।   बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्तरी:     पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।  जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो ।    चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।  जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

पोखरा:    पोखरामा सम्पन्न भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।  पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।  चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो ।  प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा  सहभागी टोलीलाई पाँच  सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।  नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।

काठमाडौं:   गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् ।   परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले  जानकारी दिनुभयो ।  सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।        नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सव मङ्गलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ ।    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसलाई कतिपयले उच्चारणका रुपमा तमु ल्होछार पनि भन्ने गर्छन् । यस दिन गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।       ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने विश्वास गरिन्छ ।       पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ ।