पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

बलेवा:    इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ ।  सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।       ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । “दुई दिनमा रु एक करोड बचतकर्तालाई फिर्ता गरियो”, उहाँले भन्नुभयो ।      गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ ।       गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गर्नुभएको छ । सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिनुभएको हो ।       बचतकर्ताको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ ।  पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँच सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा हुनुहुन्छ ।

मनाङ:  मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।      तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।        उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चाँैरीका चरन क्षेत्र नष्ट भएका उहाँले बताउनुभयो ।      “आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भन्नुभयो, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उहाँले जानकारी दिनुभयो ।       कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उहाँले बताउनुभयो । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उहाँले उल्लेख गर्नुभयो ।       अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।”      भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।      जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।” तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।            आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।       यसअघि  ०७७ मङ्सिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

गुल्मी:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभएको छ ।      आज बिहान सदरमुकाम तम्घासमा कार्यालय विभिन्न सार्वजनिक निकायका प्रमुखसँग छलफल गर्दै उहाँले विकास निर्माणका काममा ढिलासुस्ती नगरी दिगो विकास गर्नेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।       सांसदसमेत रहनुभएका नेता भण्डारीले जिल्लामा भइरहेका पूर्वाधार निर्माणका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले सरोकार भएका सबैलाई निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक समन्वय गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।       पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभावी रूपमा नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले सोको विकल्प खोजेर मात्र काम थाल्नुपर्ने विचार राख्नुभयो । उहाँले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको वित्तीय तथा भौतिक प्रगतिका बारेमा कार्यालय प्रमुखहरूसँग जानकारी लिनुभएको थियो ।       नेपाली कांग्रेस रेसुङ्ग नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको आज तम्घासमा आयोजित कार्यक्रममा सांसद भण्डारीले समयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राख्नुभयो ।  नेता बनेर जनताका समस्या नबुझ्ने प्रवृत्ति बढ्दै जाँदा पछिल्लो समय आमनागरिकमा नेताप्रति नकारात्मक धारणा बढ्दै गएकाले सबै नेता, कार्यकर्ताले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।      नेता भण्डारीले पार्टीमा आफूले लामो समयदेखि योगदान गर्दै आएको स्मरण गर्दै नेता भण्डारीले मृत्युलाई पराजित गरी नयाँ जीवन पाएकाले अबको यात्रा जनताको सेवामा केन्द्रित हुने बताउनुभयो ।  बहुदलीय व्यवस्था आएको ३६ वर्षसम्म पनि सीमान्तकृत वर्गहरूलाई अझै पछाडि परिरहेकाले सरकारले पछाडि परेका वर्गको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा  नपरी प्रमाण र तथ्यमा आधारित भएर  न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।      भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु  पेभिलियन’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिनुभएको हो ।       “तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।” प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।  विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्नुभयो भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गर्नुभयो ।            सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो ।      गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,सांसद धु्रवबहादुर प्रधानलगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभएको छ ।  अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदभार ग्रहण कार्यक्रममा उहाँले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुङ्ग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताउनुभयो ।      “उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले आएको परिणामले मिलेर अघि बढ्ने र सङ्गठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।”      आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उहाँले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियू निर्वाचन महत्वपूर्ण चुनौतीको रूपमा आएकोसमेत बताउनुभयो ।      त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गर्नुभयो ।  यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।

खोटाङ:   खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् ।  स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् ।       “रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो ।       एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ ।       गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।  “पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ । आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ । उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ ।”

काठमाडौं:    कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।   ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी र पर्यटन क्षेत्रमा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । राजदूत ओलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख,सुस्वास्थ्यका साथै कम्बोडियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  त्यसअघि राजदूत ओलीले धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय,एसिया प्रशान्त विभागका महानिर्देशक छाय मकारालाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षमा विचारविमर्श गर्नुभएको थियो । 

गलकोट:   नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रुपमा लिएको बताउनुभएको छ ।       उहाँले माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको उहाँले बताउनुभयो ।      प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहनुभएका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताउनुभयो ।      संविधान संशोधनको कदमलाई पुनःविचार गर्दै प्रतिगमन हुने ढङ्गले संशोधन गर्न नहुने उहाँले बताउनुभयो । शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

तनहुँ:  बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् ।  टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् ।       पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराउनुभएको छ । बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताउनुभयो ।       बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेका छन् । उक्त सङ्ख्यालाई दोब्बर बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ ।       गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”      भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनःबन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ ।