पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

काठमाडौं:  खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।  खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।  उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।  आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ । 

पर्वत:     पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ ।  स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो ।  चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।  बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् ।  सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिनुभयो ।  उहाँका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो ।  यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ ।  उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो ।  फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ ।  यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड  विनियोजन भएको थियो ।  पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्‍याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताउनुभयो । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो ।  सांसद गिरीले भन्नुभयो, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।” पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताउनुभयो । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उहाँको भनाइ छ । 

पाल्पा:    एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पार्नुभएको छ ।  उहाँले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ ।  खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताउनुभयो । उहाँले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउनुहुन्छ ।  खुकुरी निर्माणमा ज्याला खर्चबाहेक रू ३० हजार बराबरको खर्च भएको उहाँले बताउनुभयो । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ ।  मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ । विश्वकर्माले खुकुरीका अलवा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि मेलाको अवसरमा बिक्रीका राख्नुभएको छ ।  “नेपालीको शान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीयस्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गरेको छु, खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आइरहेको छु”, उहाँले भन्नुभयो ।  स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताउनुभयो । यसभन्दा अगाडि १३ केजी तौल भएको रू ४५ हजार र २० केजी तौलको खुकुरी रू ५५ हजारमा बिक्री गरिसकेको जानकारी दिनुभयो ।  रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १५ गतेदेखि सुरू भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ । मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ । 

काठमाडौं:    काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।        सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।      सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।   आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । 

कैलाली:    कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ ।  मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले नि:शुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।   यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भन्नुभयो, “विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।”  शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ ।  अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताउनुभयो । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भन्नुभयो, “त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।”  राहत रकम हस्तान्तरणअन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई रू १० हजारका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक छदिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ ।  पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरू गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआइपुगुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ । 

कास्की:    देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् । यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।  “हामी भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतसमेतको सहभागिता रहने छ,” आचार्यले भन्नुभयो । भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभुषासहित वृहत झाँकी ¥याली निकालिने छ । पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्वपोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुने प्रमुख आचार्यले बताउनुभयो । यसैगरी पर्यटनको क्षेत्रबाट एक वटा ब्यानरसहित झांकी तथा र्यालीको आयोजना गरिने छ ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटन संग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । 

काठमाडौं:  पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ ।  बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।  यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।   ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दोस्रो चरण अन्तरगतको ८ खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।   उनका अनुसार शुक्रबार भएको खेलमा आकुरा एफसीले एन टु क्याफेलाई १–० गोल अन्तरले पराजित गर्याे । आकुराको जीतमा सौरभ पुनले निर्णायक गोल गरे ।   यस्तै अर्काे खेलमा बिग सिटीले ठमेल एकता समुहलाई ३–०  गोल अन्तरले हरायो । बिग सिटीको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।   तेस्रो खेलमा बिटी एलाई स्याङ्जा एफसीले पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले पराजित गर्याे ।   अर्काे खेलमा ए सेभेन ब्रदर्शलाई क्य्रास एफसीले ३–१ गोलले पराजित गर्याे ।   क्य्रासएफसीको जीतमा सुरज गुरुङले २ गोल  र सञ्जय लामाले १ गोल गरे । भने, ए सेभेनका लागि प्रशान्त सुनारले १ गोल फर्काए ।   यस्तै पाँचौ खेलमा एलसी ब्रदर्शलाई लिभिक कन्स्ट्रक्सनले २–० गोल अन्तरले हरायो । लिभिकको जीतमा आश्मान थापा र अंकित थापाले समान १÷१ गोल गरे ।   छैटौं खेलमा रामघाटले सम्पदा अंकित स्पोर्टसलाई ३–० गोलले पराजित गर्याे । रामघाटको जीतमा आशिष गुरुङले २ र शिव सुवेदीले १ गोल गरे ।   सातौ खेलमा गोल्डेन नाइटलाई कमल पोखरीले १–० गोले हरायो । कमलपोखरीको जीतमा मन्दिप गुरुङले निर्णायक गोल गरे ।   आज भएको अन्तिम खेलमा स्मृति क्लबलाई लामा गाउँले ४–० गोल अन्तरले हयायो । लामागाउँको जीतमा लिलजंग गुरुङले २ गोल र विश्व थापा र अनुज भण्डारीले समान १/१ गोल गरे । शनिबार पनि दोस्रो चरणकै खेल हुने क्लबका सचिव रेशम सापकोटाले बताए ।   उनका अनुसार कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।    

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।  ‘घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पहिलो पटक हामीले च्यारिटी डिनर आयोजना गरेका हौं’, संयोजक गुरुङले भने, ‘सबै मौसममा पर्यटन भन्ने मूल नाराका साथ घान्द्रुक पर्यन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना गरेका छौं ।’ उनका अनुसार पोखरामा आयोजना गरेको च्यारिटी डिनरमा ४ लाख १७ हजार ४ सय ११ रुपैयाँ रकम संकलन भएको छ ।  कार्यक्रममा गायिका प्रिया गुरुङ, उषा गुरुङ सांगीतिक प्रस्तुति र आदिमकला मञ्च सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।   घान्द्रुक पर्यन व्यवस्थापना समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, भेन्ट्रान्स भलिबल, घोडा दौड छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।  क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक गुरुङले जानकारी दिए ।  उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ ।  प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।  यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।