सोलुखुम्बु: यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो । उहाँले भन्नुभयो,“यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ, त्यसैले चिसोबाट जोगिन साङ्केतिक रुपमा भए पनि हामीले यो कार्यको थालनी गरेका हौँ, चिसोका कारण जिल्लावासीको दैनिकी नै निकै कष्टकर हुँदै गएको महसुस गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौँ ।” डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने स्थान निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई वन कार्यालयले दाउराको व्यवस्था मिलाइदिएको छ, त्यसैले यो कार्य निरन्तर जारी रहन्छ र स्थानहरुमा पनि प्रहरीले आगो ताप्ने व्यवस्था मिलाउने काम गर्छ ।” आगो ताप्ने स्थान सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएकाले चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा मिल्ने जनाइएको छ ।
काठमाडौं: सरकारले तीन वटा ऐन संशोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार यो अध्यादेश जारी गर्नुभएको हो । अध्यादेशमार्फत सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ संशोधन गरिएको छ भने राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज भएको छ । अध्यादेशले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने व्यवस्था ल्याएको छ । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र हुनेछ । यस्ता सहकारी संस्थालाई तोकिएको आधारमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरिएको छ भने एक वर्षभित्र प्राधिकरणमा दर्ता भइसक्नुपर्नेछ । अध्यादेशको व्यवस्थाअनुसार एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुनसक्ने छैन । यो व्यवस्था लागू हुँदाका बखत एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थाको सदस्य भएको व्यक्ति एक वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ । त्यसैगरी, कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन । अध्यादेशले सहकारी संस्थाहरुमा व्यक्तिगत बचत तथा ऋणको सीमासमेत तोकेको छ । “एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा रू ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको संस्थामा रु २५ लाखसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको संस्थामा रु १० लाखसम्म मात्र बचत राख्न सकिनेछ”, अध्यादेशमा भनिएको छ, “तर यो व्यवस्था हुँदाको बखत कायम रहेको व्यक्तिगत बचतलाई दुई वर्षभित्र कानुनले तोकेबमोजिम कायम गरिसक्नुपर्नेछ ।” त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाको प्राथमिक पुँजी कोषको १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सकिने छैन । सहकारी संस्थामा रु १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनुपर्नेछ । स्रोत नखुलाएको बचत रकम सहकारी संस्थाले स्वीकार गर्न नहुने व्यवस्था अध्यादेशमा राखिएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋण कारोबारको सूचना आदानप्रदान गर्नुपर्नेछ । “कर्जा सूचना केन्द्रले सदस्य सहकारी संस्थाको कर्जा प्रवाहमा वस्तुगत उद्देश्य र उपयुक्तता कायम गर्न त्यस्तो सहकारी संस्थाले प्रवाह गरेको ऋणको सूचना पनि प्राप्त गर्न सक्नेछ”, अध्यादेशमा भनिएको छ, “सहकारी संस्थाले रु १० लाखभन्दा बढी ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ र समयमा ऋण नतिर्ने ऋणीको नाम प्रत्येक तीन महिनामा अनिवार्य रुपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।” त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सुरक्षित सदस्य संस्थाको रुपमा सदस्यता लिनुपर्नेछ । सहकारी क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न तथा नियमन र अनुगमनका लागि अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सकिने व्यवस्था ल्याइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरणको स्थापना गरिएको हो । प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ भने उक्त प्रतिवेदन सरकारले सङ्घीय संसद्को सम्बन्धित समितिमा पेस गर्नेछ । प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने हुने व्यवस्था अध्यादेशमा राखिएको छ । त्यस्तै, अध्यादेशमार्फत प्राधिकरणको काम, कर्तव्य र अधिकार तोकिएको छ । “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने गराउने काम प्राधिकरणको हुनेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने, बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमित रूपमा निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिनेलगायतका काम प्राधिकरणले गर्नेछ ।” त्यस्तै, नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय परीक्षण ९प्रुडेन्सियल अडिट० प्राधिकरणले गर्नेछ । सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा लागू गर्ने–गराउने, प्रदेश र स्थानीय तहका बचत तथा ऋण सहकारी संस्थाको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने गराउने काम प्राधिकरणको रहेको छ । प्राधिकरण समक्ष परेको बचत रकम हिनामिना लगायतका उजुरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानुन बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार हुने व्यवस्था अध्यादेशमा राखिएको छ । जसअन्तर्गत कुनै व्यक्तिलाई प्राधिकरण समक्ष उपस्थित गराई बयान गराउने बा जानकारी लिने, साक्षी बुझ्ने, सरकार तथा मातहतका निकाय वा सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात पेस गर्न आदेश दिने, स्थलगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेस गर्न आदेश दिनेलगायतका अधिकार दिइएको छ । “प्राधिकरणले यो ऐन वा यसअन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने बचत तथा ऋण सहकारी संस्थालाई रु पाँच लाखदेखि १५ लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐनअन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा रू एक लाखदेखि पाँच लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि लेखि पठाउन सक्नेछ ।” समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको रू पाँच लाखसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा राखिएको छ । सदस्यले जम्मा गरेको रू पाँच लाखभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभएमा मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्नेछ । धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरेमा त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ । त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आएमा ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्ने अध्यादेशमा उल्लेख छ । समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्ने सिलसिलामा लाग्ने सम्पूर्ण खर्च त्यस्तो संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिने अध्यादेशमा जनाइएको छ । अध्यादेशमार्फत नेपाल राष्ट्र बैंक दफा ८८ मा संशोधन गरी कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थासँगै सहकारीसम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भएका सहकारी संस्थाको पनि सूचना लिन पाउने व्यवस्था ल्याइएको छ । त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गरी सहकारी संस्थाहरुलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अधिकार क्षेत्रभित्र ल्याइएको छ । अध्यादेशमार्फत राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ । अब राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्ति लगायतको जायजेथा दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्नेछ । हाल बहाल रहेका राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य यो दफा प्रारम्भ भएपछि आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछन् ।
काठमाडौं: हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ । विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु¥याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ । आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ । नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ । यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ । ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ । पहिले तमु जातिको ल्होसार पर्व नस्लको हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ÷छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ । पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ । प्राकृतिक एवम् तम संस्कारअनुसार पुस १५ लाई नै आधार मानी तमु जातिहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ । तमु भाषामा वर्ग भनेको वर्ष हो । तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्पराअनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ । तमु जातिको एक वर्षमा एउटा ल्हो को पूरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२÷१२ वर्षमा आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने गरिन्छ । गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत कार्यक्रमहरू हुने भएको छ । इलाम नगरपालिका–६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिनुभयो । इलाम गुरुङ समाजले ल्होसारका अवसरमा पुस १४ र १५ गते खानाका परिकार प्रदर्शन गर्ने भएको छ । भेडाको मासु, ढिँडो, नारेपा ९लोकल रक्सी० लगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ । यसैगरी, पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कवितावाचन प्रतियोगिता भएको छ । साथै इलाम–१५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ । पुस १५ गते गुम्बामा लामा गुरुहरुद्वारा पूजापाठ र बालबालिकाका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिनुभयो । गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्वकालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकार राखिने समितिका सचिव उमेश गुरुङले बताउनुभयो । सो समुदायले पुस १५ गते ल्होसार पर्व मनाउँदै आएको बताइएको छ ।
ललितपुर: ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ । बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।” बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ । “नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।” नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।” त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।”
भोजपुर- उत्तरी क्षेत्रबाट भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ। नदी तर्नको लागि फेरी सञ्चालनमा रहेपनि करिब ६ महिनामात्र सञ्चालन हुने भएकाले स्थानीयलाई सास्ती भएको हो। वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिदेखि फेरी सञ्चालन गरिएको छ। तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले स्थानीयलाई समस्या हुने गरेको छ। अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बर्षौँदेखि समस्या भोग्दै आएका छन्। सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी हरि भित्रिकोटीले बताए। 'अरुण नदीमा पुल नहुँदा सिंगो उत्तरी क्षेत्रका नागरिकले वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएका छन्', उनले भने,'वर्षौँसम्म पनि पुल नबनेपछि फेरी सञ्चालनमा छ। यसले केही राहत त मिलेको छ। तर करिब छ महिना मात्र सञ्चालन हुने भएकाले दिगो रुपमा समस्या समाधानको लागि हामीले पक्की पुलको माग गरिरहेका छौँ।' पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द हुने भएकाले झोलुंगे पुलबाट नै आवतजावतसँगै पिठ्यूँमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको स्थानीयवासी दीपेन्द्र श्रेष्ठले बताए। 'सतिघाटमा पुल बन्छ भन्ने आशामा वर्षौँ बित्यो', उनले भने, 'फेरी सञ्चालनमा छ। तर यो पनि सबै समयमा चल्दैन। हिउँदको समयमा मात्र चल्ने भएकोले हामीलाई धेरै समस्या छ। फेरी बन्द हुनेबित्तिकै कष्टकर जीवन सुरु भइहाल्छ। यहाँ राज्यले पक्की पुल निर्माणमा ध्यान दिन आवश्यक छ।' यहाँ २०७६ सालदेखि फेरी सञ्चालनमा आएको हो। विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेलामा बन्द हुने गरेको छ। त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द नै हुन्छ। नियमित रुपमा भने करिब आठ महिनामात्र फेरी सञ्चालन हुने गरेको स्थानीयको भनाइ छ। हिउँदको समयमा नदी पार गराउन बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म फेरी सञ्चालन हुन्छ। यसले केही सहजता भए पनि पक्की पुल नहुँदा धेरै समस्या रहेको नगरपालिका उपप्रमुख प्रमिला राईको भनाइ छ। पुल निर्माणको लागि सबै निकायको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ। हाल फेरीको सहायताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन्। तत्कालीन रुपमा यसले केही सहजता भए पनि दिगो समस्या समाधानको उपाय नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ। 'सतिघाटमा पुल निर्माणको लागि हामीले पहलकदमी गरिरहेका छौँ', प्रमुख उदासले भने, 'यसअघि दुई पटक बोलपत्र आह्वान भयो। तर कसैको पनि बोलपत्र परेन। यो पटक भने बोलपत्र आह्वान भएर ठेक्का परेको अवस्था छ। तर राज्यले स्रोत सुनिश्चितता गरेको छैन। स्रोत सुनिश्चित गरिदिन संघीय सरकारलाई हामीले ध्यानाकर्षणसमेत गराएका छौँ।' धेरै नागरिकको जनजीवनसँग जोडिएको सतिघाटमा पक्की पुल निर्माणको खाँचो रहेको कोशी प्रदेशसभा सदस्य विनोद बान्तावाले बताए। यहाँ पुल निर्माणको लागि राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ। पुल निर्माणको लागि आफ्नो तहबाट ध्यानकर्षण गराइरहेको उनको भनाइ छ। 'तत्कालीन समस्या समाधानमा फेरीले केही राहत मिलेपनि दीर्घकालीन समस्याको समाधान भने होइन', सांसद बान्तावाले भने, 'पानीको बहाव बढेसँगै फेरी बन्द हुँदा नागरिकले समस्या नै भोग्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यसैले यहाँ पक्की पुल निर्माणमा राज्य गम्भीर बन्न आवश्यक छ। मैले पनि यो विषयमा राज्यलाई ध्यानाकर्षण गराउँदै आएको छु।'
काठमाडौं: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
अछाम: कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो । मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।
पोखरा: पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताए । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए । होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । सेवा केन्द्रका चार वटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो । सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताउनुभयो । सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ । गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताउनुभयो । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेशनलेनै बेर्होने बताइन्छ । दवाडीले भन्नुभयो,“हामीले गरीव तथा असहाय र दिनदुखीका लागिनै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ । यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ भने पनि राख्न सकिन्छ । सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ । नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो । ” सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा रहेको छ । यसैगरी अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । “भवन पूर्ण रुपमा तयार भइसकेको छ । केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्छ ।” लम्सालले भन्नुभयो । सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उहाँका परिवारजन कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले चार रोपनी जमिन दान गर्नुभएको थियो । कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताउनुभएको थियो । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् ।