काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

झापा:    मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन ।       अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उहाँले बताउनुभयो ।  ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले उक्त प्रमाणपत्र पाउनुभयो । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भन्नुभयो, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।”  नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।      सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताउनुभयो ।      स्वास्थ्य शिविर भेटिनुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिनुभयो । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो, “पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।”       वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी हुनुभएको छ । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।      अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।      तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो ।      शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो ।  “तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।”      चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ ।       अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई”, अधिकारीले भन्नुभयो, “त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।”      मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताउनुभयो ।      “नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”

काठमाडौं:    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताउनुभएको छ ।  आज यहाँ टुँडिखेलमा आयोजना गरिएको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।      उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवमा देखिएको सबै वर्गको उपस्थिति र सहभागिता राम्रो पक्ष हो । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र संवर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दै कसैलाई अप्ठ्यारो नहुनेगरी गर्नुपर्छ किनकि आफ्नो भाषा, धर्म, संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति जोगाउन वर्तमानमा सक्रियता बढाउनु आवश्यक छ ।”      महोत्सवमा गुरूङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरूक देखिएको भन्दै उहाँले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकामा बधाई ज्ञापन गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।

धादिङ:     नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ ।      देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरूङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ ।      सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरूङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरूङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरूङले जानकारी दिनुभयो ।      “गुरूङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश–विदेशमा गुरूङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौँ”, संयोजक गुरूङले भन्नुभयो, “यसले बालबालिका र युवालाई आफ्नो वेशभूषा सिक्न प्रेरित गरेको छ ।”      ‘डिजिटल प्लेटफर्म’को प्रयोग गरी सामाजिक सञ्जालमार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमु ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरूङले बताउनुभयो ।      तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरूङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।      सीमित स्रोतसाधन प्रयोग गरी गुरूङ पोसाकको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमु ९गुरूङ० विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरूङले बताउनुभयो । सामाजिक सञ्जालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक सञ्जालको सही सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरूले बताएका थिए ।      ‘कला संस्कृति वेशभूषा गुरूङ जातिको पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।

काठमाडौं:    अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।  वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो । सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भयो ।  त्यहाँ उहाँ र उहाँकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । “हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो”, कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्यो । उहाँको आफ्नो परिवारबीच शान्तिपूर्वक निधन भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताउनुभयो ।  बाइडेनले रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई अरूका लागि उदाहरणका रूपमा कार्टरको कामलाई उद्धृत गर्नुभयो । “यस देशका सबै युवाका लागि उद्देश्य र अर्थको जीवन बिताउनुको अर्थ के हो भनेर खोज्ने जो कोहीले राम्रो जीवन, सिद्धान्त, विश्वास र नम्रताका मानिस जिमी कार्टरलाई अध्ययन गर्नुहोस्”, बाइडेनले विज्ञप्तिमा भन्नुभयो । बाइडेनले आइतबार साँझ कार्टरको बारेमा कुरा गर्दै यसलाई ‘दुःखद दिन’ तर ‘अविश्वसनीय मात्रामा राम्रा सम्झनाहरू फिर्ता ल्याउने’ भन्नुभयो । “म जिमी कार्टरसँग ५० वर्षभन्दा बढी समयदेखि समय बिताउँदै आएको छु”, बाइडेन भन्नुभयो । उहाँले सन् २०१५ मा आफ्नो छोरा ब्युको क्यान्सरबाट निधन हुँदा पूर्वराष्ट्रपतिले आफू र आफ्नी पत्नी जिललाई सान्त्वना दिएको सम्झना गर्नुभयो । कार्टर आफैँलाई पछि क्यान्सर भएको थियो । वासिङ्टनमा कार्टरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न आदेश दिनुभएका बाइडेनले भन्नुभयो, “जिमीलाई यस रोगको विनाशबारे राम्ररी थाहा थियो ।” व्यापारी, नौसेना अधिकारी, सुसमाचार प्रचारक, राजनीतिज्ञ, वार्ताकार, लेखक, काठकर्मी, विश्वका नागरिक कार्टरले एउटा यस्तो बाटो बनाउनुभयो जसले अझै पनि राजनीतिक धारणाहरूलाई चुनौती दिन्छ र राष्ट्रको सर्वोच्च कार्यालयमा पुग्ने ४५ जना पुरुषमध्ये उहाँ एक हुनुहुन्छ ।  कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गर्नुभयो । आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभयो र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभयो । “मेरो विश्वासले माग गर्दछ– यो वैकल्पिक होइन, मेरो विश्वासले माग गर्दछ कि म जे गर्न सक्छु, म जहाँ छु, जब सक्छु, जबसम्म म गर्न सक्छु, मैले फरक पार्ने प्रयास गर्नुपर्दछ”, कार्टरले कुनै बेला भन्नुभएको थियो ।

दाङ:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताउनुभएको छ ।        एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा आज दाङको घोराहीमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्नुभयो ।            देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको सङ्ज्ञा दिँदै उहाँले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।        उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिएअनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ ।”        बैङ्कको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यावसायी उत्साहित नभएको प्रसङ्ग उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “ढुक्कसँग लगानी गर्नुहोस्, व्यवसायी तथा उद्यमीको पक्षमा सहयोग गर्न एमाले र कांग्रेस मिलेर बनेको यो सरकार तयार छ ।”          उहाँले भन्नुभयो, “देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ । शासकीय सुधारका पक्षमा छ सदस्यीय कमिटीले काम गरिरहेको छ । आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो ।”        फरक प्रसङ्गमा पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासचिव पोखरेलले वर्तमान सरकारको भावना र ‘स्प्रिट’ लाई बुझेर सहयोग र सहकार्य गर्न पत्रकारजगत्को ध्यानाकर्षण गर्नुभयो ।        सो अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रकाशन विभाग प्रमुख सङ्गीता बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रमेबहादुर राम्जालगायत वक्ताले मुलुकको समसामयिक राजनीतिक गतिविधि र पत्रकार हकहितका विषयमा चर्चा गर्नुभयो ।

सोलुखुम्बु:    यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।  प्रमुख जिल्ला अधिकारी  अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो ।  उहाँले भन्नुभयो,“यो समयमा चिसो बढ्दो छ, चिसोका कारण यहाँका नागरिकलाई धेरै गाह्रो भइरहेको छ, त्यसैले चिसोबाट जोगिन साङ्केतिक रुपमा भए पनि हामीले यो कार्यको थालनी गरेका हौँ, चिसोका कारण जिल्लावासीको दैनिकी नै निकै कष्टकर हुँदै गएको महसुस गरेर आगो ताप्ने व्यवस्था मिलाएका हौँ ।”  डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने स्थान निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीलाई वन कार्यालयले दाउराको व्यवस्था मिलाइदिएको छ, त्यसैले यो कार्य निरन्तर जारी रहन्छ र स्थानहरुमा पनि प्रहरीले आगो ताप्ने व्यवस्था मिलाउने काम गर्छ ।” आगो ताप्ने स्थान सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएकाले चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा मिल्ने जनाइएको छ । 

काठमाडौं:    सरकारले तीन वटा ऐन संशोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार यो अध्यादेश जारी गर्नुभएको हो ।       अध्यादेशमार्फत सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ संशोधन गरिएको छ भने राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज भएको छ ।       अध्यादेशले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने व्यवस्था ल्याएको छ । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र हुनेछ ।  यस्ता सहकारी संस्थालाई तोकिएको आधारमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरिएको छ भने एक वर्षभित्र प्राधिकरणमा दर्ता भइसक्नुपर्नेछ ।       अध्यादेशको व्यवस्थाअनुसार एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुनसक्ने छैन । यो व्यवस्था लागू हुँदाका बखत एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थाको सदस्य भएको व्यक्ति एक वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ ।  त्यसैगरी, कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन ।       अध्यादेशले सहकारी संस्थाहरुमा व्यक्तिगत बचत तथा ऋणको सीमासमेत तोकेको छ । “एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा रू ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको संस्थामा रु २५ लाखसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको संस्थामा रु १० लाखसम्म मात्र बचत राख्न सकिनेछ”, अध्यादेशमा भनिएको छ, “तर यो व्यवस्था हुँदाको बखत कायम रहेको व्यक्तिगत बचतलाई दुई वर्षभित्र कानुनले तोकेबमोजिम कायम गरिसक्नुपर्नेछ ।”       त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाको प्राथमिक पुँजी कोषको १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सकिने छैन । सहकारी संस्थामा रु १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा त्यस्तो रकमको स्रोत खुलाउनुपर्नेछ । स्रोत नखुलाएको बचत रकम सहकारी संस्थाले स्वीकार गर्न नहुने व्यवस्था अध्यादेशमा राखिएको छ ।       बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋण कारोबारको सूचना आदानप्रदान गर्नुपर्नेछ ।       “कर्जा सूचना केन्द्रले सदस्य सहकारी संस्थाको कर्जा प्रवाहमा वस्तुगत उद्देश्य र उपयुक्तता कायम गर्न त्यस्तो सहकारी संस्थाले प्रवाह गरेको ऋणको सूचना पनि प्राप्त गर्न सक्नेछ”, अध्यादेशमा भनिएको छ, “सहकारी संस्थाले रु १० लाखभन्दा बढी ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ र समयमा ऋण नतिर्ने ऋणीको नाम प्रत्येक तीन महिनामा अनिवार्य रुपमा कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।” त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सुरक्षित सदस्य संस्थाको रुपमा सदस्यता लिनुपर्नेछ ।        सहकारी क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न तथा नियमन र अनुगमनका लागि अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सकिने व्यवस्था ल्याइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरणको स्थापना गरिएको हो ।       प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । प्राधिकरणले आफ्नो वार्षिक प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ भने उक्त प्रतिवेदन सरकारले सङ्घीय संसद्को सम्बन्धित समितिमा पेस गर्नेछ । प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने हुने व्यवस्था अध्यादेशमा राखिएको छ ।       त्यस्तै, अध्यादेशमार्फत प्राधिकरणको काम, कर्तव्य र अधिकार तोकिएको छ । “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने गराउने काम प्राधिकरणको हुनेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने, बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमित रूपमा निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिनेलगायतका काम प्राधिकरणले गर्नेछ ।”       त्यस्तै, नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय परीक्षण ९प्रुडेन्सियल अडिट० प्राधिकरणले गर्नेछ । सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा लागू गर्ने–गराउने, प्रदेश र स्थानीय तहका बचत तथा ऋण सहकारी संस्थाको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने गराउने काम प्राधिकरणको रहेको छ ।       प्राधिकरण समक्ष परेको बचत रकम हिनामिना लगायतका उजुरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानुन बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार हुने व्यवस्था अध्यादेशमा राखिएको छ ।  जसअन्तर्गत कुनै व्यक्तिलाई प्राधिकरण समक्ष उपस्थित गराई बयान गराउने बा जानकारी लिने, साक्षी बुझ्ने, सरकार तथा मातहतका निकाय वा सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात पेस गर्न आदेश दिने, स्थलगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेस गर्न आदेश दिनेलगायतका अधिकार दिइएको छ । “प्राधिकरणले यो ऐन वा यसअन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने बचत तथा ऋण सहकारी संस्थालाई रु पाँच लाखदेखि १५ लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ”, अध्यादेशमा भनिएको छ, “यस्ता सहकारी संस्थाको सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐनअन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा रू एक लाखदेखि पाँच लाखसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि लेखि पठाउन सक्नेछ ।”       समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको रू पाँच लाखसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा राखिएको छ । सदस्यले जम्मा गरेको रू पाँच लाखभन्दा बढी बचतको हकमा सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभएमा मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।       बचत रकम फिर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्नेछ ।  धितो सुरक्षण बिक्री गर्नुअघि सम्बन्धित ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिई सो अवधिभित्र ऋण चुक्ता नगरेमा त्यस्तो धितो सुरक्षण लिलाम बढाबढ गरी बिक्री गर्नुपर्नेछ ।  त्यस्तो धितो सुरक्षण बिक्री गर्दा ऋणीले तिर्नुपर्ने रकमभन्दा बढी रकम प्राप्त हुन आएमा ऋणीको रकम चुक्ता भई बाँकी रहेको रकम त्यस्तो ऋणीलाई फिर्ता दिनुपर्ने अध्यादेशमा उल्लेख छ । समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्ने सिलसिलामा लाग्ने सम्पूर्ण खर्च त्यस्तो संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिने अध्यादेशमा जनाइएको छ । अध्यादेशमार्फत नेपाल राष्ट्र बैंक दफा ८८ मा संशोधन गरी कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थासँगै सहकारीसम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भएका सहकारी संस्थाको पनि सूचना लिन पाउने व्यवस्था ल्याइएको छ ।  त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गरी सहकारी संस्थाहरुलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अधिकार क्षेत्रभित्र ल्याइएको छ । अध्यादेशमार्फत राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ । अब राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्ति लगायतको जायजेथा दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्नेछ । हाल बहाल रहेका राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य यो दफा प्रारम्भ भएपछि आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछन् ।

काठमाडौं:    हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु  ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।  गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।        विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु¥याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ ।      आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ ।       नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ ।  यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ ।       तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ ।       ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ ।  पहिले तमु जातिको ल्होसार पर्व नस्लको  हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ÷छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ ।  पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ ।       प्राकृतिक एवम् तम संस्कारअनुसार पुस १५ लाई नै आधार मानी तमु जातिहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ । तमु भाषामा वर्ग भनेको वर्ष हो ।  तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्पराअनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ । तमु जातिको एक वर्षमा एउटा ल्हो को पूरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२÷१२ वर्षमा  आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने गरिन्छ ।       गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत कार्यक्रमहरू हुने भएको छ । इलाम नगरपालिका–६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिनुभयो । इलाम गुरुङ समाजले ल्होसारका अवसरमा पुस १४ र १५ गते खानाका परिकार प्रदर्शन गर्ने भएको छ ।      भेडाको मासु, ढिँडो, नारेपा ९लोकल रक्सी० लगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ ।  यसैगरी, पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कवितावाचन प्रतियोगिता भएको छ । साथै इलाम–१५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ ।      पुस १५ गते गुम्बामा लामा गुरुहरुद्वारा पूजापाठ र बालबालिकाका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिनुभयो ।  गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्वकालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकार राखिने समितिका सचिव उमेश गुरुङले बताउनुभयो । सो समुदायले पुस १५ गते ल्होसार पर्व मनाउँदै आएको बताइएको छ ।

ललितपुर:    ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ ।  असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।       बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोख्नुभयो ।  उहाँले भन्नुभयो, “दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।”      बाढीले क्षति पुर्‍याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ ।  “नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।”      नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।”      त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्‍याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि  दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।”