पोखरा: प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । पोखरामा मंगलबार सम्पन्न भएको प्रेस चौतारी नेपाल कास्कीका नवौं जिल्ला अधिवेशनले मोतिसागर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष महिलामा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी, सहसचिव (समावेशी)मा सुरेश अधिकारी र कोषाध्यक्षमा सन्दिप खनाल चयन भए । यस्तै सदस्यहरुमा सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल, मनिषा लामिछाने र सुरेश रानाभाट चयन भए । यस्तै प्रदेश प्रतिनिधितर्फ राजु गिरी, बालकुमारी पौडेल‘तारा’, अर्जुन गाहा (शुसान्त), रेजिना कटुवाल र सुरेश रानाभाट चयन भए । केन्द्रिय प्रतिनिधितर्फ दिपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुन्य पौडेल, प्रकाश अधिकारी बिद्रोही र शान्ती गुरुङ चयन भएका छन् । दुई जनालाई सम्मान र पुरस्कार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारीमा जन्मिएका उनी पोखरा–१५ का स्थायी बासिन्दा हुन् । गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । बी.एलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् । पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् । पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् । प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।
पोखरा: पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन् । ‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’ ४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले भने ।
काठमाडौं: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन् । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेशका बारेमा प्रतिपक्षले चर्को विरोध जनाउँदै आएको छ । बैठकमा नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनेछन् । अध्यादेशका विषयमा सत्तापक्ष र विपक्षीबीच मतभिन्नता रहेकै अवस्थामा भोलि संसद बैठक बस्दैछ ।
महोत्तरी: यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । “हिउँद पानी नपरी बित्यो”, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।” कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उहाँको भनाइ छ । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ । माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । “आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन”, बर्दिवास–७ का ७० वर्षीय विन्देश्वर यादव भन्नुहुन्छ । खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उहाँले बताउनुभयो । भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ ।” एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउनुहुन्छ । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउनुहुन्छ । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् । भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ । हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन् । खानेपानीको हाहाकार पर्नसक्ने बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंह बताउनुहुन्छ । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के ९जरुवा० पानीको मुहानमा पानी देखिन छाडेको छ । हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर ९मञ्जरी० कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ । हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ । हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही–७ का मोहन महतो बताउनुहुन्छ । “हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण ९बिस्तुर नजाने० हुन्छ”, उहाँ भन्नुहुन्छ । महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ । यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन् ।
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो । निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष अर्थात ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए । सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए । मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायम राख्दै सङ्घर्ष समितिहरु र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति समेतबाट आन्दोलनलाई थप सशक्त बनाउन भन्दै माघ २० गतेदेखि अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरिएको थियो । बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो । पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ । त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।
पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकार दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे । यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित ग¥यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए । युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले राजनीतिकमीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको बताए । ‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ, गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’ गृहमन्त्री लेखकले अहिले युवाहरु कुलतमा फसिरहेकाले युवा क्लबहरुले जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे । ‘अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । युवा क्लबहरुले लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ, उनले भने, ‘युवाहरुलाई लागूऔषधबाट जोगाउन खेलकुद, अध्ययन, समाजसेवासँगै राजनीतिमा जोड्न आवश्यक छ ।’ बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले सो अवसरमा नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामू जिम्मेवार भई काम गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘नागरिकसामू जिम्मेवार भई उहाँहरुका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रहि पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु ।’ प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयनको विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका उपलब्धिहरू प्रशंसनीय रहेको बताउनुहुँदैं थप उपलब्धि हाँसिल गर्न अझ प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । ‘प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका महत्वपूर्ण उपलब्धिहरू प्रशंसनीय छ यद्यपी थप उपलब्धिका लागि प्रतिबद्धता र अठोट गर्न आजको दिन (स्थापनका दिवस) महत्वपूर्ण र ऐतिहासिक रहेको छ’, उहाँले भन्नुभयो । प्रदेश प्रमुख भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘प्रदेश सभा र प्रदेश सरकार आ–आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरुमध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको छ’, उहाँले भन्नुभयो । प्रदेशले बनाउनु पर्ने कानूनहरु, शान्ति सुरक्षामा सुधार, प्रदेशबाट राष्ट्रिय तहको कूल ग्राहस्थ उत्पादन, उद्यमशिलताको विकास, कृषियोग्य भूमिको चक्लाबन्दी, कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना, प्रदेशको राष्ट्रिय प्रति व्यक्ति आयमा वृद्धि, मानव विकास सूचकाङ्क, सरदर आयु, साक्षरता दर लगायतमा वृद्धि गर्नुपर्ने र युवाहरुको विदेश पलायन साथै प्रदेशको बहुआयामिक गरिबीको दर घटाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । प्रदेश सरकारका उक्त आवधिक योजनाहरुलाई प्राप्त गर्न कुशल कार्यान्वयन भएको खण्डमा मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने राष्ट्रिय अभियानमा गण्डकी प्रदेश सरकारको योगदानको पुष्टि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो । तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट भाले गैँडा ल्याइएको हो भने शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका हुन् । सोमबार डार्ट गरिएको गैँडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो । शनिबार डार्ट गरिएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ स्थानान्तरणको काम गरिएको हो । निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यस पटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैँडा पूर्वमा ल्याइँदै छ ।
जाजरकोट: जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका(११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक मध्यपहाडी राजमार्ग निर्माण गरिरहेको सुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् । ‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी पाण्डेले भने ।