पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको छ । घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले डम्पिङ साइडको एक कार्यक्रमका बिच शिलन्यास गरे । शिलन्यास कार्यक्रममा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्लाष्टिक र फोहोर मुक्त बनाउने योजना रहेको बताए । ‘अन्नपूर्ण संरक्षण क्षेत्रभित्र गण्डकीका १५ वटा स्थानीय तह रहेका छन्, एक्यापको क्षेत्रभित्र रहेका पदमार्गमा पर्यटकहरुले लैजाने प्लाष्टिक र पानी तथा अन्य बोतलहरु जथाभावी फाल्दा प्रदुषण बढेको गुनासो आएको छ’, प्रमुख कडरियाले भने, ‘एक्यापसँग जोडिएका गाउँ तथा पर्यटकीय स्थलहरुलाई चाँडै नै प्लाष्टिक मुक्त बनाउने योजना अनुसार घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको हो, अभियान अन्य स्थानमा पनि सुचारु गछौं ।’ एक्याप प्रमुख कडरियाले पर्यटकीय गाउँ घान्द्रुकमा कुहिने फोहोरको व्यवस्थापन भएपनि नकुहिने प्लाष्टिक तथा बोतलहरुको व्यवस्थापन गर्न डम्पिङ साइडको आवश्यक रहेको बताए । ‘फोहोरलाई मोहरमा परिवर्तन गर्न नसक्दा फोहोर व्यवस्थापन हाम्रो मुख्य चुनौती बन्दै गएको छ, उनले भने, ‘घान्द्रुकको डम्पिङ साइडमा नकुहिने फोहोरलाई संकलन गरेर पोखरा लैजाछौं जसको ढुवानी खर्च एक्यापले नै व्यहोर्छ , एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग विभिन्न स्थानमा संकलन भएको फोहोरलाई पुनः प्रयोग गर्न सम्झौता गरिसकेको छ ।’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ गुरुङले घान्द्रुक पर्यटकहरुको आर्कषक केन्द्रमा रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य हो, घान्द्रुकलाई सफा सुग्घरसँग थप विकास गर्न सके पर्यटकहरुको आगमन अझै बढ्न सक्छ’ अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकलाई सफा तथा फोहोर व्यवस्थापनका लागि एक्यापसँगको सहकार्यमा डम्पिङ साइड निर्माण गर्दै छौं, डम्पिङ साइड निर्माण भएसँगै नकुहिने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ ।’ उनले अन्नपूर्ण क्षेत्रमा भित्र रहेको पदमार्गहरुमा पर्यटकहरुको आगमनसँग फोहोर व्यवस्थापनमा चुनौती थपिएकाले नकुहिने फोहोर व्यवस्थापनका लागि नै डम्पिङ साइडमो निर्माण थालेको बताए । ‘डम्पिङ साइड निर्माण गर्न एक्यापले सहयोग गर्ने आश्वासन दिएको छ, हामीले नै डम्पिङ साइड बनाउने योजना अगाडि बढाएर आज शिलन्यास गर्न सफल भएका छौं’, उनले भने, ‘घान्द्रुक हाम्रो पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी पनि हाम्रो नै त्यसैले घान्द्रुकलाई सफा राख्न डम्पिङ साइड निर्माण गर्न लागेका हौं ।’ उनले यस अगाडि निर्माण गरेको डम्पिङ साइडमा समस्या रहेकाले नयाँ स्थानमा डम्पिङ साइड निर्माण गर्न लागेको बताए । अध्यक्ष गुरुङले पोखराको एक संस्थासँग समन्वय गरेर घान्द्रुकमा फोहोरको वर्गिकरण तथा व्यवस्थापनका लागि असोज ९ र १० गते २ दिने तालिमको समेत आयोजना गरिएको बताए । घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग (एबिसी), मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा जाने आन्तरिकक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । घान्द्रुकमा पर्यटकहरुको संख्या तथा बसाई लम्बाउन चक्रिय पदमार्ग, पार्कहरु समेत निर्माण गरिएको छ ।
काठमाडौं: बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।
गण्डकी: पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ । माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन् । कलाप्रेमीले यहाँको सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताउनुुभयो । समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उहाँले जानकारी दिनुुभयो । “समूहको सक्रियतामा बर्सेनी गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चौँथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ”, गुरुङले उहाँले भन्नुुभयो, “यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् ।” प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई अभिरुचिपूर्वक अवलोकन गरिरहेका उहाँले बताउनुभयो । देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लाग्नुभएका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उहाँले उल्लेख गर्नुभयो । प्रदर्शनीमा कलाकार गोपाल दराईले तयार पार्नुभएको ओखलढुङ्गाको कलाकृतिदेखि प्राज्ञ नगेन सिंहले तयार गर्नुभएको बैतडीस्थित पात्ताल भुवनेश्वर गुफालगायत कलाकृतिले विभिन्न स्थान र परिवेशलाई जीवन्त प्रस्तुत गरेको देखिन्छ । नेपालको गहिरो गुफाका रुपमा पात्ताल भुवनेश्वर परिचित छ । त्यस्तै वरिष्ठ कलाकार बुद्धि गुरुङको पशुपतिनाथ, सौगात गुरुङको फेवाताललगायत कला प्रदर्शनीका आकर्षण बनेका छन् । ग्यालरी छिरिसकेपछि कलाकार जित गुरुङले तयार गर्नुभएको गुरुङ पैडी ९ज्योतिषि० को मूर्तिले जो कोहीको मन छुने गरेको छ । गुरुङ समुदायका मानिसले आफ्नो जन्म, मृत्यु, विवाहलगायत संस्कार, शुभ–अशुभ कार्यमा पैडीबाट सेवा लिने विषयलाई उक्त मूर्तिकलामार्फत जानकारी दिन खोजिएको छ । हालै उक्त मूर्ति तयार गरेको जानकारी दिँदै कलाकार गुरुङले आफूले यस्ता विभिन्न कलाकृति तयार गरिरहेको बताउनुभयो । प्रदर्शनीमा डिबी गुरुङले पानी रङ्गमा तयार गर्नुभएको कास्कीका पर्यटकीय गुरुङ गाउँहरू घान्द्रुक, ताङ्तिङका कला राखिएका छन् । हिमाली तथा लेकाली जीवनलाई ती कलाकृतिले जीवन्त चित्रण गरिरहेका छन् । त्यस्तै दुर्गा केसीको पदयात्रा, सङ्गीता घिमिरेको बुद्धलगायत कला प्रदर्शनीमा सजाइएका छन् । अमृत परियारले तयार गर्नुभएको माछापुच्छ्रे हिमालसँगै रहेको चौरी, लोकप्रसाद गुरुङको रोपाइँ, वामन चालिसको क्यारिकेचरले समाजका विविधतालाई प्रस्तुत गर्न खोजेको देखिन्छ । प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताउनुुभयो । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उहाँले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिनुुभयो । पछिल्ला समयमा पठन संस्कृति हराउँदै गएजस्तै कलाप्रतिको आकर्षण पनि घट्दै गएको समूहका अध्यक्ष गुरुङले कलाप्रति युवाको आकर्षण बढाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुुभयो । “कला सिर्जनाप्रति पछिल्लो समयमा आकर्षण घट्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “यसतर्फको आकर्षण बढाउँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरेका छौँ । यसबाट युवामा सकारात्मक प्रभाव रहेको अपेक्षा गरेका छौँ ।” कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन् । यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।
तनहुँ: विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो । बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उहाँका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।” गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ । खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
गण्डकी: गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ । अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरु लालयित हुन्छन् । पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन् । कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ । किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ । विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले शिकार भइरहेकामा जानकारहरुले भने चासो व्यक्त गरेका छन् । प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरुको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप(प्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारुलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका हुन्छ, बारुला र अरिङ्गालले बोटबिरुवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्”, उहाँले भन्नुभयो, “प्रकृतिलाई सन्तुलित बनाउने किरा(फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ ।” व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहेपनि घातक ढङ्गले शिकार गरेमा भने अरिङ्गाल हराउँदै जानसक्ने उहाँको भनाइ छ । डा सुवेदीले बासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताउनुभयो । “अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरुमा भयसँगै नकारात्मक धारणा व्याप्त छ”, उहाँले भन्नुभयो, “असुरक्षाको महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ ।” डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन÷अनुसन्धान बारुला, अरिङ्गालगायत किरामा हुन नसकेको बताउनुभयो । प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उहाँको भनाइ छ । डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानुन विपरीत हुने बताउनुभयो । त्यस्ता कृयाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार दण्डनीय मानिने उहाँको भनाइ छ । “झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रुखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन ।” त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रुखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उहाँको भनाइ छ । प्रमख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरुले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताउनुभयो । “तत्काललाई कानुनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरुमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो “अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको शिकार गर्नुहुँदैन ।” कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताउनुभयो । उहाँले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिङ्गाले बोटबिरुवामा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढीरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन् ।” प्रायः अग्ला रुख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पती आदिका रुखमा बस्न बढी रुचाउने प्रमुख काफ्लेले बताउनुभयो । चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उहाँले सुनाउनुभयो । विश्वभर किटपतङको घट्दो अवस्थाका कारण वनस्पतीजन्य उत्पादनमा ह्रास हुँदै आएको उहाँको भनाइ छ । अग्ला रुख, वनस्पती तथा स्थानहरुमा अरिङ्गाल, बारुलालगायत परागसेचनको मुख्य माध्यमका रुपमा रहेको प्रमुख काफ्लेले बताउनुभयो । पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्तवपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । “सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन ।” अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उहाँले सुझाउनुभयो । शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताउनुभयो । अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाउनुभयो । “अरिङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रुपमा शिकार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ ।” वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उहाँले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरुको पनि प्राथमिकता नपरेको उल्लेख गर्नुभयो । नेपालमा अरिङ्गालरबारुलाका ११ प्रजाति रहेको बताइन्छ । यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन् । अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरु बताउँछन् । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट बयस्क हुनु अरिङ्गालको जीवनचक्र हो । अरिङ्गालले मौरी, झिङ्गा आदि किरालाई आहार बनाउने गरेको छ । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन् ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय २० निर्धारण भएको छ ।
बलेवा: प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नवीन्द्र ढकालले बताउनुभयो । उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएको डा ढकालले बताउनुभयो ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिनुभएको थियो । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्नुहुँदै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिनुभएको भेटमा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि ९राजदूत० लोकबहादुर थापाले जानकारी दिनुभयो । विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसङ्घले पहल गर्ने विश्वास दिलाउनुहुँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्नुहुँदै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसङ्घको उच्चतम् पद उपलब्ध गराउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिनुहुँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराउनुभयो । उहाँले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिनुभयो । ‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गर्नुभयो । भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि ९राजदूत० थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी हुनुहुन्थ्यो । त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गर्नुभएको थियो । गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।
काठमाडौं: ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ । प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ । ‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’ वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ । सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देल भन्नुहुन्छ, “तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।” संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले स्पष्ट पारिसक्नुभएको छ । प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गर्दै हुनुहुन्छ । सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुहुन्छ । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने विषय प्रधानसेनापतिको पहिलो सम्बोधनमा व्यक्त भएको उहाँले जानकारी दिनुभयो । प्रधानसेनापतिसँग देश र जनताका हितमा काम गर्ने अथाह ज्ञान नेपाली सेनाका पूर्वसहायक रथी धर्म बानियाँ राष्ट्रिय सुरक्षालाई सबल बनाउने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती विश्लेषण गर्दै नेपाल राष्ट्र र नेपाली जनताको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा महारथी सिग्देलमा अथाह ज्ञान रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सैद्धान्तिक, व्यावहारिक, रणनीतिक कौशल र पेशागत सीपमा निपूर्ण महारथी सिग्देलले सेनालाई आधुनिकीकरण गर्दै लैजाने क्रममा आवश्यक उपकरणसहित हातहरितयार, सूचना सङ्कलन, तल्लो दर्जाका जनशक्तिलाई लक्षित गरी कल्याणकारी कार्य अघि बढाउन ध्यान पुर्याउनुहुने छ ।” नेतृत्वबाट कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता व्यक्त भइसकेको छ । हिताधिकारीलाई बहिरङ्ग उपचार सेवाको वार्षिक सीमा पुनरावलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने विषय पनि पहिलो सम्बोधनमै परेको छ । पूर्वसहायक रथी बानियाँ सरकारको अभिन्न अङ्ग हुनुका नाताले राष्ट्र विकासमा सेनाको भूमिकालाई थप विस्तार गर्न महारथीलाई सुझाव दिनुहुन्छ । सैनिक–नागरिक सम्बन्ध र सैनिक कूटनीतिक सम्बन्ध विस्तारमा पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सैनिक नेतृत्वले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने विश्वास दिलाएको छ । सैनिक–नागरिक सम्बन्धलाई थप घनिष्ट तुल्याउन शिक्षा, स्वास्थ्य, कला संस्कृति, परम्परा, पर्यावरण संरक्षण तथा राज्यका सम्पदाहरूको सुरक्षामा पनि सेना तल्लीन छ । महारथी सिग्देल भन्नुहुन्छ, “समग्र संस्थाको हितमा काम गर्न, असल नियतले काम गर्ने मामिलामा नडराउन, व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थाको ‘तेजोबध’ नगर्न तथा मूलमन्त्रका रूपमा रहेको ‘सैनिक अनुशासन र मर्यादा’ कायममा उच्च ध्यान दिन आवश्यक छ ।” भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिका लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समयसापेक्ष सुधार गरिने उहाँको सम्बोधनमा उल्लेख छ । विश्वमा शान्ति सैनिकको धेरै सङ्ख्या खटाउने मुलुकको सूचीमा पछिल्लो वर्षदेखि नेपाल शीर्षस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म विश्वका विभिन्न ४४ शान्ति मिसनमा एक लाख ५३ हजार एक सय आठ नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् भने हाल छ सय ७९ महिलासहित पाँच हजार नौ सय १८ शान्ति सैनिक ११ मिसनमा परिचालित छन् । शान्ति स्थापना कार्यका लागि सेनाले तालिम तथा बन्दोबस्ती सामग्रीको व्यवस्थापनमा विशेष पहलको अठोट व्यक्त गरेको छ । ‘बङ्कर टु ब्यारेक’, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायत कार्यलाई व्यवस्थित गर्दै राष्ट्रिय खेलकुद विकासलाई पनि प्राथमिकता दिएर काम गर्ने सेनाले जनाएको छ । नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्ने तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने विषय पनि सम्बोधनमा समेटिएको छ । राष्ट्रियता, जनता र सङ्गठनको पक्षमा दह्रो अभिव्यक्ति पूर्वउपरथी जगदीशचन्द्र पोख्रेलले महारथी सिग्देलबाट सकलदर्जालाई भएको सम्बोधन र आफूसँग नजिकको चिनाजानीका आधारमा राष्ट्रियता, जनता र सङ्गठनको हितमा उहाँको दह्रो अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संस्थागत ‘इन्ट्रेस्ट’लाई कसरी कायम राख्ने भन्ने सन्दर्भमा विषयवस्तु प्रष्ट रूपमा आएको छ । प्रधानसेनापतिले सकलदर्जालाई आफ्नो कार्यकालमा अनुशासन, विधि र प्रणाली कसरी अघि बढ्छ भन्ने सुविचारित मार्गनिर्देश गर्नुभएको छ ।” राष्ट्रिय सुरक्षा अवधारणालाई केन्द्रमा राखेर भएको मन्तव्यबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विश्वविद्यालय अलि खटेरै काम गर्ने विषय आएका उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको द्रुतमार्गको जिम्मेवारी समयमै पूरा गर्ने मामिलामा कुनै अलमल नहोस् भन्ने प्रधानसेनापतिबाट स्पष्ट सङ्केत भएको प्रतिक्रिया दिनुभयो । सेनालाई ठिक बाटोबाट अघि बढाउन आन्तरिक अनुशासन कायम गर्ने, नियमित तालिम र प्रशिक्षणका आधारमा जनशक्तिलाई चुस्त तथा दुरुस्त राख्ने, विश्वशान्ति कार्यलाई प्रभावकारी तुल्याउने विषय सङ्गठन सुदृढीकरणका हिसाबले निकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उहाँको भनाइ छ । नेपाली सेनाका पूर्वप्रवक्तासमेत रहनुभएका पोख्रेलले भन्नुभयो, “उहाँको नेतृत्वमा सङ्गठनलाई अघि बढ्दा उपलब्धि हासिल गर्ने सन्दर्भमा आशा गर्ने धेरै ठाउँ छ, उहाँको नेतृत्वमा राष्ट्र र सङ्गठन सुधारमा पक्कै पनि धेरै काम हुने विश्वास लिएको छु ।” यसका लागि सरकारले समयमै योजना छनोट, स्वीकृति, हस्तान्तरण, बजेट व्यवस्थापन, आवश्यक निर्देशन, समन्वय र सहयोगको प्रत्याभूतिसहितको प्रबन्ध मिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।