बागलुङ: बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन् । बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने सर्तमा मिलापत्र गरे लगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताए । रु एक लाख सम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतबार नै ढोरपाटन क्षेत्रमा रु ३७ लाखको चेक ९२ बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिए । गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये रु एक लाखसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म पाँच सय ४७ पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको अन्य एक हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित स¬ङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिनुभयो । रु एक लाखसम्म बचत गर्ने चार सय ८८ बचतकर्ता छन् । रु एकलाख माथिका बचतकर्तालाई जग्गा दिने तयारी छ । बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका पाँच सय ४७ जनाको रु २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार बढी बचतकर्ताको रु एक अर्ब १५ करोड बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए । सहकारीको करिब रु दुई अर्ब रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट एक अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबीसहित देवकुमारसहित ११ जना विरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । एक हजार पाँच सय ४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा छन् ।
काठमाडौं: आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।” स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । ‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’ चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उहाँले भन्नुभयो, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।” नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधी व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।” खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर ९साइडइफेक्ट० हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताउनुभयो । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिएरनदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।” राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।
पोखरा: सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान यो पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रतियोगिता उद्घाटन अवसरमै मंगलवार सनिशलाई उत्कृष्ट सम्मान गरिनेछ ।
पोखरा: विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था झल्कने ३५ वटा तस्बिर प्रदर्शनमा राखिएको पत्रकार कृष्णमणि बरालले जानकारी दिए । २० वर्षकै अन्तरालमा फेवाताल कसरी साँगुरिएको छ र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने तुलनात्मक तस्बिर प्रदर्शनीमा राखिएको थियो । सिमसार, सिमरामा पाइने जीव, सबै प्राणीकालागि नभैनहुने पनीका स्रोत संरक्षणकालागि जनचेतना जगाउने उद्देश्यका साथ संरक्षण फोटो प्रदर्शन ीगरिएको पत्रकार बरालले बताए । फोटो प्रदर्शनीको समुहिक रुपमा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराई, हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर जलहारी र वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्र.ना.उ.सन्तोष निरौलाले उद्घाटन गरेका थिए । सिमसार क्षेत्रको संरक्षणका साथै पर्यावरणीय संरक्षणमा यो प्रदर्शनीले जनचेतता अभिबृद्धि गर्ने वडा अध्यक्ष भट्टराईले विश्वास गरे । २० वर्षकै अवधीमा ताल धेरै साँगुरिदै जानुको साथै प्रदूष(ाको चपेटमा परेकोले पुर्खौदेखि माछा मारेर जिवीका चलाउँदै आएका जलारी समूदायको पेशा नै संकटमा पर्दै गएको हर्पन फेवा मत्यस सहकारीका अध्यक्ष ज्ञानबहादुर जालरीले बताए । देख्दा देख्दै ५० प्रतिशत भन्दा बढी ताल पुरिएकोमा पनि उनले चिन्ता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्राकृतिक स्रोतको संरक्षण्मा सबै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । आयोजक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले संकटमा पर्दै गएका पोखराका सिमसार संरक्षणकालागि सबैलाई ध्यान आकर्षण गर्न फोटो प्रदर्शनीका आयोजना गरिएको बताए । सिमसार लगायत सबै प्राकृतिक स्रोत संरक्षणकालागि आगामी दिनमा पनि निरन्ता दिने पनि उनले बताए । सिमसार संरक्षण फोटो प्रदर्शनीको विभिन्न विद्यालयका विद्याथी, आमा समूह, पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक लगायतले अवलोकन गरेका थिए ।
पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा बगर भाइखलकद्वारा आयोजित १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तिन वटा उमेर समूहमा (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) भएको प्रतियोगिताको ४० वर्षतर्फ ब्रदरहुड काठमाडौं च्याम्पियन बनेको छ । फाइनल खेलमा गार्डेन एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो । उपाधि जितेको ब्रदरहुडले नगद रु २ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गार्डेनले नगद रु १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । उक्त विधामा ब्रदरहुड भेट्रान्सका बुद्धराज लिम्बु सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । यस्तै सोही टिमकै गोलरक्षक मिन बहादुर बस्नेत, सोही टिमकै अंगुर कुमार खड्की उत्कृष्ट स्ट्राइकर, गार्डेनका विनोद गुरुङ उत्कृष्ट मिडफिल्डर, सोही टिमकै किरण गुरुङ उत्कृष्ट डिफेण्डर र ब्रदुहुडका कोमल खवास उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए । यस्तै ५० वर्ष उमेरसमूहतर्फ बानेश्वर भेट्रान्सले हेटौडा भेट्रान्सलाई ५–० गोल अन्तरले पराजित गर्दै बोनेश्वरले उपाधि जित्यो । उपाधि जितेको बानेश्वरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उक्त विधाबाट बानेश्वरका हरिहर थापा सर्वाेत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भए । ६० वर्षतर्फ युके मास्टर्स देहरादुनले सिडिएफए चितवन भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । युके मास्टर्सले उपाधिसँगै नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपविजेता चितवन भेट्रान्सलाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त विधामा देहरादुनका भरत घोसाई सर्वाेत्कृष्ट खेलाडी बने । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, चिरायु नेशनल अस्पतालका प्रतिनिधि, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना पोखरा १ का वडाध्यक्ष साहरा प्रधान, तमु धि युकेका प्रतिनिधि, बगर भाइखलक युकेका प्रतिनिधि, भाइखलकका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए । गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखरा लगातयका ३९ टिमको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो । ‘गुरुकुल आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो – ‘ पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं।’ आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने मागप्रति आफू सकारात्मक रहेको उहाँको भनाई छ । गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षानीतिसँग जोड्न अनिवार्य रहेको भन्दै उहाँले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति रहेको बताउनुभयो । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको उहाँको भनाई छ । सांस्कृतिक, धार्मिक एवं पर्यटकीय नगरी पोखरामा फेवातालको उत्तरी तट बैदाममा अवस्थित श्री केदारेश्वर महादेव मन्दिर वि.सं. १९५० देखि १९६० को दशकमा स्वर्गद्वारी महाप्रभुका अनन्य शिष्य स्वामी शंकरा नन्दजीद्वारा स्थापित मन्दिर हो । स्थापनाकालदेखि नै जप, तप, ध्यान, साधनाको केन्द्रको रूपमा प्रसिद्ध यो मन्दिर आफ्नो भव्यता एवं दिव्यताले श्रद्धालुहरूका लागि आज पनि उत्तिकै आस्थाको थलोको रुपमा रहेको छ । यहाँ श्रावणमासमा बोलबम मेलालगायत वर्षभरिका विभिन्न चाडपर्वहरूमा विशेष उत्सवका साथ भगवद् आराधना गर्दै भक्तजनहरूमा आस्था, भक्ति, अभिवृद्धि गरिनुका साथै समय समयमा विशेष अनुष्ठानको माध्यमले सनातन संस्कृतिको प्रचारसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विद्याश्रमले जनाएको छ । यहाँ नैतिक, चरित्रवान्, कर्मठ एवं इमान्दार नागरिक तयार पार्ने उद्देश्यका साथ अर्घाखाँची जन्म भई लामो समय काशी अध्ययन, अध्यापन गर्नुभई यो मन्दिर तथा गुरुकुललाई कर्मभूमि बनाई १० वर्ष अघिदेखि स्वामी चिद्घन चैतन्य डा. लेखनाथ आचार्यको संकल्पमा २०७३÷७४ देखि निःशुल्क आवासीय गुरुकुलको स्थापना गरिएको छ । यस विद्याश्रममा नेपाल सरकारको गुरुकुलीय पद्धति अनुसार दैनिक अंग्रेजी, सामाजिक, गणित, नेपाली, कम्युटर तथा संस्कृत तर्फ वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड ज्योतिष लगायत पुराण इतिहासको पनि अध्ययन भई रहेको र सांस्कृतिक भजन किर्तन पनि दैनिक रुपमा सञ्चालन भइरहेको छ । यो विद्याश्रममा भर्ना हुन र अध्ययनको लागि कुनै पनि शुल्क नलाग्ने आवास, शिक्षा, भोजन, पोशाक आदी सम्पूर्ण निःशुल्क व्यवस्था छ ।
काठमाडौं: कुमारी बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको बैंकको आ.ब. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ।व। २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित भएको छ । साथै, सभाले आ।व।२०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकसमेत तोकेको छ ।
पोखरा: गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् । ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर अनुकूलका कर्मचारी राख्न पुस ११ गते अध्यादेश ल्याइएको थियो । १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश प्रमाणीकरण गरेका थिए। बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ । म्याग्दीकी गौचनको कात्तिक २८ गते निधन भएको थियो । सभामुख धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए । प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । यस्तै गण्डकी प्रदेश सभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य सुनिता थापाको सहजताका लागि सचिवालयले दोभासेको व्यवस्था गरेको हो । त्यसो त यसअघि नै प्रदेश सभामा दोभासे राख्नुपर्ने आवाज उठिरहेकै थियो । प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण उनकै सहजताका लागि प्रदेश सभा सचिवालयले ज्यालादारीमा दोभासे राखेको हो । समानुपातिक सदस्यमा मनोनीत थापा आज पहिलो पटक प्रदेश सभाको बैठकमा उपस्थित भएकी हुन् ।
पोखरा: गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् । समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित संरक्षण, स्याहार–सुसार तथा समुचित विकासको अवसर प्राप्त गर्नेछन् । “हाम्रो उद्देश्य व्यवस्थित, पारदर्शी र प्रभावकारी केन्द्र सञ्चालन गर्दै कर्मचारीहरूलाई आफ्नो कर्तव्यप्रति अझ प्रेरित गर्नु हो । यस कदमले कार्यस्थलमा उत्पादकत्व वृद्धि गर्दै समाजमा परिवारमैत्री वातावरण सिर्जना गर्न योगदान गर्नेछ”, उनले भने । केन्द्रको प्रभावकारी सञ्चालनका लागि सहकार्य आवश्यक रहेको भन्दै मन्त्री थापाले सबै सरोकारवालालाई सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले प्रदेश सरकारले प्राथमिकता र महत्वका साथ शिशुु स्याहार केन्द्रको स्थापना गरेको उल्लेख गरिन् । सरकारी कर्मचारीका ६ महिना देखि तीन वर्षसम्मका शिशुहरुलाई उक्त स्याहार केन्द्रमा राख्न सकिने बताइन् । यसका लागि दक्ष मन्टेश्वरी तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरिएको भनाई उनको छ । बालबालिकाको पोषण र बालबिकासलाई ध्यानमा राखेर सेवा प्रवाह गर्ने उनले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पदाधिकारीहरू, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । दिवा शिशु स्याहार केन्द्रको स्थापना भएसँगै सरकारी कर्मचारी तथा अन्य अभिभावकलाई कार्यस्थलमा सहजता मिल्ने विश्वास गरिएको छ ।