मोरङ:    कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यह...

काठमाडौं:   संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको छ ।      प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।        प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।      प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नुहुने छ । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नुहुनेछ ।       प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुनेछ । यसैगरी उहाँले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य: सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

पोखरा:  बागलुङको निसीखोला गाउँपालिका–३ किटनीमा चट्याङ लागेर रजना बुढाको मृत्यु भएको छ ।  गएराति रजना बुढाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  चट्याङले घरको मिटर बक्समा समेत क्षति पु¥याएको छ । मृतक बुढाको २ वर्षीय छोरी र सासु सकुशल रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

हेटौँडा:    पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ ।       हेटौँडाबाट थानाभ¥याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।       ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।      प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ । 

बझाङ:    करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको ।      मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उहाँ एकल महिला हुनुहुन्छ । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उहाँका दुःखका दिन सुरु भएका थिए ।  “श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार ग¥यौँ । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो”, विष्नाले आँसु चुहाउँदै सुनाउनुभयो ।      श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो ।  “उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ स¥यौँ । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ”, उहाँले पीडा पोख्नुभयो ।      गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उहाँलाई पेटको भोकभन्दा भविष्यको चिन्ता पिक्का लाग्यो । त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले जानकारी दिनुभयो ।  “गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन”, उहाँले भन्नुभयो ।        आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताउनुभयो । “बाँकी ९ महिना बेसा ९अन्न किन्नुपर्ने० अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो”, उहाँले भन्नुभयो । ५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टेक्नुभयो । उहाँ गर्भमा हुँदा नै बुबाको देहान्त भयो ।       विष्नाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काउनुभयो । आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उहाँको कथन छ ।      विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहनुभएको छ । चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहनुभएको छ ।  “गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ । बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु”, वडाध्यक्ष बोहराले भन्नुभयो, ““सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।”      यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पु¥याएपछि पीडामाथि थप पीडा थपियो । “पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,” विष्नाले भन्नुभयो, “आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ १ एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।”      भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उहाँ सम्झिनुहुन्छ । “धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग ग¥यो । सोही रकमबाट चामल किनेर चार÷पाँच महिनासम्म खायौँ । अरू समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ,” उहाँले भन्नुभयो ।

म्याग्दी:  कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।      उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।       क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।       “म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उहाँले भन्नुभयो, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।”      म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् ।       अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।       तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताउनुभयो । उहाँले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताउनुभयो ।

तनहुँ:    मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।            एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो        जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशितगरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ ।       सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा ९२० बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।       प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।      जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गत करिब एक सय ९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।       मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरैपटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताउनुभयो ।       मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी( नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा एक सय ९९ वटा टावर रहनेछ ।      एमसिए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।       जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।         आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।      विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौं:    नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ ।      यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ । हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार न्यूनतम राजस्व तोकिएको छ ।       बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न रु २३ लाखसम्म कबोल गरिएको उहाँले जानकारी दिनुभयो ।  त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम रु १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ । आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन ।        सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ ।      नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार ९सिङ, छाला र खुर० कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै  लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ ।      वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छभने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ ।”       आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका छन् ।      नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४      यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ । यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको छ ।      आरक्षमा दुई सिजनमा सिकार खेलाइन्छ । पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म हुने गर्छ । यहाँ बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ ।      निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरेको बताउनुभयो ।  “यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन”, उहाँले भन्नुभयो ।      विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।      गत आवमा सिकारबाट चार करोड २६ लाख बढी आम्दानी      अघिल्लो आवमा यहाँ १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कुल रु चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी भएको थियो । विभागले यस वर्षको पहिलो सिजनका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।      सिकार कम्पनीहरूले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रति नाउर र झारलको सिकार गरेबाफत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । आरक्षमा सिकार खोलाउने पेसेवर सिकार कम्पनीहरूमा नेपाल वाइल्डलाइफ एडभेन्चर, हिमालयन सफारिज, ट्र्याक्स एन ट्रेल्स, नेपाल वाइल्डलाइफ सफारी, ग्लोबल सफारिज नेपाल, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेकलगायत रहेका छन् ।      हिमालयन सफारिजका सञ्चालक महेश बस्नेतले आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्ति खटाउने र आवश्यक पूर्वाधार बनाउनुुपर्नेलगायत सुझाव दिनुभयो ।      कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरेको जनाइएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।

काठमाडौँ:   नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ ।   नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् ।   कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताउनुभयो ।   ज्ञान नहुनेले अरुसँग सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।   एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरुप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो ।   अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले राससलाई जानकारी दिनुभयो ।   अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।