काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ । आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७स्५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७स्५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ । त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् । यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ । ६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए । उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् । प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा: लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ । आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो । जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ । फाइनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेको रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो । खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए । लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै अनुशासित टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
पोखरा: कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १४ गतेसम्म कास्की प्रहरी मातहत प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सयुक्त टोलीले स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको हो । स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीको १०० र जिल्ला ट्राफिक कार्यालय कास्कीको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध समेत गरेको छ ।
पोखरा: पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश र महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।
सर्लाही: प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ। सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो। अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताउनुभएको छ । महिला आर्थिक पत्रकार सङ्घ फेजाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।” उहाँले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो । “सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका लागि नियमनलाई प्रभावकारी बनाउन ध्यान दिनेछौँ”, मन्त्री पौडेलले भन्नुभयो, “पुँजीगत खर्चको तुलात्मक रूपमा मूल्याङ्कन गर्दा गत वर्षको तुलनामा यस वर्ष प्रगति भएको छ तर यो पर्याप्त छैन ।” उहाँले बैंकहरूको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको तर यस क्षेत्रमा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको धारणा राख्नुभएको छ । “मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेहरूलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधार हुन सक्दैन । यस क्षेत्रमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरूरी छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने र यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको छ । सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधानका निम्ति नीतिगत सुधारमा जोड दिएको र अध्यादेश त्यसैको सशक्त पहल भएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।
काठमाडौं: महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल आजको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन जोडिन । नेपालका सिता रानामगरले ५, मनिषा उपाध्यायले २ र कविता जोशी र इन्दु वर्माले १र१ विकेट लिए ।