रसुवा:   नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...

मुगु:    रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।  नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।      पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ ।  सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।       छायानाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने जनाइएको छ । मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जङ्गलका बीचमा रहेका यी स्थानमा यहाँ आएका पर्यटक एग्लै घुम्न डराउने गर्छन् ।       अब पर्यटक प्रहरी राखिए सुरक्षित महसुस गरी पर्यटक स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही भन्नुहुन्छ, “पर्यटकको बसाइ लम्बिनेबित्तिकै स्थानीय जनताको आथिक स्थितिमा पनि सुधार आउनेछ ।”      पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरु लागिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।

डोटी:   जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिनुभयो । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।       घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिनुभयो ।

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।       यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।       गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् ।  परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।      व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ ।”      मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उहाँले बताउनुभयो ।       उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।”       रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गर्नुभयो । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं:  सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् ।  नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूले माग गर्नुभएको हो ।  सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं समारोहका मुख्य संयोजक शेरबहादुर सुनारले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बेलायत र नेपाल सरकारबीच दुईपक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् ।’’ अध्यक्ष लालबहादुर लिम्बूले ‘मातृभूमिप्रतिको माया र गोर्खाहरूलाई मातृभूमि आउन प्रेरित गर्न वार्षिकोत्सव मातृभूमिमा नै आयोजना गरिएको बताउनुभयो ।  सो अवसरमा संस्थाको उपाध्यक्ष प्रमिला राई, महासचिव विजय गुरुङ, पूर्वअध्यक्ष नारायण भण्डारीलगायतले पनि नेपाल–बेलायतबीच सम्बन्ध विस्तारमा गोर्खाज्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   ब्रिटिस सरकारले सन् २००४ देखि गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिँदै आएको छ । गोर्खा सैनिक भर्तीको इतिहास २१० वर्ष पुगेको छ ।  सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सुगौली सन्धिका आधारमा बेलायतले हरेक वर्ष सेनामा नेपाली युवालाई भर्ती गर्दै आएको छ । यहीअन्तर्गत सन् १९८५ मा एकैपटक भर्ती भएका चार सय ८२ जना गोर्खाज्हरुले त्यसको स्मरणमा हरेक वर्ष वार्षिकोत्सव मनाउने गर्दछन् । 

पोखरा: पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ ।  महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत/घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो ।  महानगरले नगर क्षेत्रमा आफ्नो अनुमति विना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमतिरसिफारिसरसहमति नदिन समेत ट्रस्टलाई अनुरोध गरेको छ ।  साथै नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले कोटीहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।   महानगर क्षेत्रभित्र धार्मिकरसांस्कृतिक लगायतका अन्य कार्यक्रमहरू आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था÷व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्धार प्रणाली मार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालयहरू, शाखारमहाशाखाहरूलाई निर्देशन समेत दिइएको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।        प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।           प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री एवं राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौँ उपत्यकाभित्रका नगरप्रमुखहरू रहनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।        यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुनेगरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षमा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।        विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।        बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्शतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गर्नुभयो ।  “यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।”

बलेवा:    इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ ।  सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।       ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । “दुई दिनमा रु एक करोड बचतकर्तालाई फिर्ता गरियो”, उहाँले भन्नुभयो ।      गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ ।       गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गर्नुभएको छ । सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिनुभएको हो ।       बचतकर्ताको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ ।  पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँच सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा हुनुहुन्छ ।

मनाङ:  मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।      तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।        उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चाँैरीका चरन क्षेत्र नष्ट भएका उहाँले बताउनुभयो ।      “आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भन्नुभयो, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उहाँले जानकारी दिनुभयो ।       कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उहाँले बताउनुभयो । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उहाँले उल्लेख गर्नुभयो ।       अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।”      भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।      जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।” तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।            आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।       यसअघि  ०७७ मङ्सिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

गुल्मी:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभएको छ ।      आज बिहान सदरमुकाम तम्घासमा कार्यालय विभिन्न सार्वजनिक निकायका प्रमुखसँग छलफल गर्दै उहाँले विकास निर्माणका काममा ढिलासुस्ती नगरी दिगो विकास गर्नेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।       सांसदसमेत रहनुभएका नेता भण्डारीले जिल्लामा भइरहेका पूर्वाधार निर्माणका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले सरोकार भएका सबैलाई निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक समन्वय गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।       पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभावी रूपमा नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले सोको विकल्प खोजेर मात्र काम थाल्नुपर्ने विचार राख्नुभयो । उहाँले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको वित्तीय तथा भौतिक प्रगतिका बारेमा कार्यालय प्रमुखहरूसँग जानकारी लिनुभएको थियो ।       नेपाली कांग्रेस रेसुङ्ग नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको आज तम्घासमा आयोजित कार्यक्रममा सांसद भण्डारीले समयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राख्नुभयो ।  नेता बनेर जनताका समस्या नबुझ्ने प्रवृत्ति बढ्दै जाँदा पछिल्लो समय आमनागरिकमा नेताप्रति नकारात्मक धारणा बढ्दै गएकाले सबै नेता, कार्यकर्ताले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।      नेता भण्डारीले पार्टीमा आफूले लामो समयदेखि योगदान गर्दै आएको स्मरण गर्दै नेता भण्डारीले मृत्युलाई पराजित गरी नयाँ जीवन पाएकाले अबको यात्रा जनताको सेवामा केन्द्रित हुने बताउनुभयो ।  बहुदलीय व्यवस्था आएको ३६ वर्षसम्म पनि सीमान्तकृत वर्गहरूलाई अझै पछाडि परिरहेकाले सरकारले पछाडि परेका वर्गको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।