काठमाडौं: नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए । ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।
काठमाडौं: आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ । यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो । विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताउनुभयो । “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “सुनछहरामा पूर्वाधार विकास र प्रर्वद्धनको आवश्यकता छ ।” भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत हप्ता समुन्द्रि सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाईमा रहेको सुनछहरा पुगेर फर्किएको थियो । किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् । छहराको भित्र रहेको गुफाको भित्ताहरु पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा ९रिम०ले बताउनुभयो । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाईजाले बताउनुभयो । हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप बिशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरु वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दो बस्तिको सामान लिएर जानुपर्छ । पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताउनुभयो । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिदैन् । पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा जानुभएका सुरेन गुरुङले बताउनुभयो । सुनछहरा हँुदै रिखार, धौलागिरि आधार शिविरको अस्टे«लीयन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।
काठमाडौं: निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेबु्रअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् । एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।
कास्की: थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो । पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो । थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधैं क्वाटरफाइनल खेलेको हो । प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख, उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुने भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे हुनेछ । यस्तै दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसी भिड्ने छ । तेस्रो क्वाटरफाइनल खेल बिग सिटी लेकसाइड र स्याङ्जा एफसी प्रतिस्पर्धा गर्नेछ । भने, अन्तिम क्वाटरफाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको बताउँदै उहाँले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । ‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु । दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो ।’ उहाँले भन्नुभयो– ‘नयाँ पुस्ताहरुलाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’ उहाँले लायन्स क्लबहरूले मानवीय सेवामा गरेका कार्यक्रमहरुको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।
अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही पहिरोमा परी मृततका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उहाँलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताउनुभयो । उहाँका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
काठमाडौं: आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ । यस्तै, कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवलाय गठन गर्ने तयारी भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ । संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ । कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुख्य कार्यक्रमको तयारीलाई भव्य तुुल्याउन समावेशी प्रतिनिधित्व हुनेगरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ । संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ । यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गर्नुभएको थियो । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानवजीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।