गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

काठमाडौं:   सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो ।  आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको हो । साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मङ्सिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यस्तै, मङ्सिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेश गर्ने सुविधा दिएको छ ।  यद्यपि मासिकरुपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ । रु एक करोडमाथिको विवरण मासिक विभागले वार्षिकरुपमा रु एक करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिकरुपमा नै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिकरुपमा कर विवरण दाखिला गर्ने गरेका थिए । “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।”  चालु आर्थिक वर्षको बजेट तथा मूल्य अभिवृद्धि कर नियमावली २०५३ संशोधनअनुसार कर विवरण दाखिला अवधि परिवर्तन भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बजेट तथा नियमावलीअनुसार कर विवरण दाखिलाको समय परिवर्तन भएको बताउनुभयो ।

गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।   बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्।   घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।   प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।   महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो।   महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए।   ‘जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्,’ उनले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ।’   सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९र८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०र८१ को साउनमा जरिवानावापत दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।   ‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ,’ उनले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ।’   यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।   सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ।   महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ।  

मुस्ताङ:    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।  “भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उहाँले भन्नुभयो, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।” बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् ।  कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो । “नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”   बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भन्नुभयोे, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”

तनहुँ:    बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उहाँले बताउनुभयो । “केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ”, निर्देशक पौडेलले भन्नुभयो । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रु ५०, पत्रकारलाई रु तीन सय ५०, अन्य यात्रुका लागि रु पाँच सय, रेष्ट्रो क्याबिनको रु २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल रु तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् । मिति नतोकिए पनि दशैं अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । ‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताउनुभयो ।   नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उहाँले जानकारी दिनुभयो । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उहाँले भन्नुभयो, “कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।” बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन ९तल० हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट ९टुरिष्ट कोच०, अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ । 

काठमाडौं:   हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।  कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् ।                              होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो ।       हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताउनुभयो । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताउनुभयो ।  “पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो”, उहाँले भन्नुभयो ।       सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउनुहुन्छ ।       चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ ।    यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान  सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ  हात र लात्ती बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।   कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए  थिए ।  प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।  इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए । 

गण्डकी: गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।    हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्वर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।    स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उहाँको भनाइ छ । “मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरू जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ”, प्रमुख रेग्मीले भन्नुभयो ।   गत आवमा स्याउखेती विस्तारतर्फ रु ११ करोड ५० लाख र शीतोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।    शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताउनुभयो । शीतोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवासमेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।     विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु एक सय ५० का दरले वार्षिक झन्डै रु १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ ।    स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताउनुभयो । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।   अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको हो । “किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्”, उहाँले भन्नुभयो, “उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।”    रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् ।    उक्त प्रविधिको स्याउखेती सातरआठ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । रासस

हेटौँडा:   हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ वर्षीय नवीन हुमागाइँले संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते हुनुभएको हो ।  मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँ स्थायी ठेगाना भएका उहाँले बुधवार राति १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अङ्ग काटेर उपचारका लागि उहाँ हेटौँडा अस्पताल पुग्नुभएको छ ।  अस्पतालले थप उपचारका लागि राति १२ बजे चितवन रिफर गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीलाई बयानको क्रममा उहाँले आफैँले आफ्नो लिङ्ग काटेको बताउनुभयो ।  उहाँको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटना कसरी भएको हो भन्ने बारेमा प्रहरीले अझै अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।