बाढीले भवनमा क्षति पुर्‍याएपछि कागबेनीमा पठनपाठन बन्द

मुस्ताङ | भदौ १, २०८०

बाढीले भवनमा क्षति पुर्‍याएपछि कागबेनीमा पठनपाठन बन्द तस्बिर फाइल

मुस्ताङ:    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।


जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो । 


“भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उहाँले भन्नुभयो, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।”


बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् । 


कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।


“नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”

 

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भन्नुभयोे, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्