गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका छन् बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।
पोखरा: पोखरामै पहिलो पटक नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको छ । मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले ४५ वर्षीय पुरुषको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरिएको हो । पोखरा भलाम घर भएका विष्णु गौतमको एक हप्ता अगाडि चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए । उनका अनुसार करिब ३ करोडको लागतमा स्थायी रुपमै उपकरण जडान गरिएको छ । चरक मेमोरियलले सुरु गरेको यो कार्यलाई निरन्तरता दिनका लागि सन्देशमुलक काम गरेको उनले बताए । पोखरेलका अनुसार सरकारले प्रदान गर्दै आएको १ लाख सम्मको मुटुसम्बन्धि उपचार खर्च चरकमा पनि व्यवस्था रहेको छ । मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालका दक्ष जनशक्ति कम रहेको बताए । उनका अनुसार नेपालमै करिब २० देखि २५ जनाको ओपन हार्ट सर्जन रहेको उल्लेख गरे । उनका अनुसार पछिल्लो समय मुटुको शल्यक्रिया काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र बाँसबारी, मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको छ । उक्त शल्लेक्रियाको लागत मुटु रोगको प्रकृति हेरेर लाग्ने बताए । डा. भट्टराईका अनुसार करिब १ लाखदेखि ६ लाखसम्म लाग्न सक्छ । भट्टराईले पोखरा अन्य क्षेत्रमा अघि रहेपनि मेडिकलको क्षेत्रमा केही पछि रहेको धारणा राखे । ‘पोखरा हरेक क्षेत्रमा अगाडि भएपनि मेडिकलको क्षेत्रमा पछाडि नै छ, त्यसैले चरकले नयाँ अभ्यास सुरुवात गरेको छ’, उनले भने, ‘काठमाडौंको सेवा सुविधा देशभर नै सुरुवात नगरे जनशक्तिले काम गर्न पाउँदैनन् ।’ डा. भट्टराईले ओपन हार्ट सर्जरी गर्न चुनौती रहेको सुनाए । ‘मुटुको उपचारमा मेडिकल साइन्समा विभिन्न प्रकारका छन् । यो काम निकै चुनौतीपूर्ण छ । पोखरा घर भएका बिरामीको मुटुको सफल शल्यक्रिया गरिएको छ’, डा। भट्टराईले भने, ‘मुटुमा तीन वटा नसा हुन्छ, उहाँको दुईवटा नसा बन्द भएको थियो, हात र छातीको नसा राखेर पोखरामा ओपनर हार्ट सर्जरी गरिएको हो ।’ उनले उक्त कार्यलाई निरन्तरता दिन चरक मेमोरियलाई सुझावसमेत दिएका थिए ।
दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ । यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा ज्यान गएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको ज्यान गएको हो । गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
पोखरा: मुनाल फिल्म प्रा.लि.पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्य नेपालकै पहिलो साँस्कृतिक टेलिभिजन रोधिं सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा पोखरा–१० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा भव्यताका साथ स्थापना दिवस मनाएको हो । दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि निवर्तमान मन्त्री एवम गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङले रोधिं साँस्कृतिक विश्वविद्यालय भएको बताउनुभयो। तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, साँस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लाने, गाँउ समाजको थिति बसाल्ने, किशोर एवम युवा पुस्तालाई व्यवहारिक रुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवम साँस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उहाँको भनाई थियो । तमु भाषाबाट नेपाली शब्दकोषमा प्रवेश गरेको रोधिं शब्दकै नामबाट स्थापित रोधिं टिभि ब्राण्ड बन्नुपर्दछ भन्नुहुदै उहाँले रोधिं टेभिले छोटो अवधिमा राम्रो प्रस्तुति गरिरहेकोमा गुरुङले प्रसंशा गर्नुभयो। रोधिं टिभिलाई सबैको प्रिय एवम व्यवसायिक रुपमा दिगोपनका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शुभकाना व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिनुभयो। रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको साँस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभिले विषयवस्तु बनाउनु जरुरी छ भन्नुहदै बामे सर्दै गरेको रोधिं टिभिको विकासका लागि समुदाय ढंगबाट अभिभावकत्व जरुरी भएको उहाँको जोड थियो। यस्तै गरी राज्यले पनि उचित रोधिं टेलिभिजन जस्तो साँस्कृतिक टिभिलाई साथ सहयोग र अभिभावकत्व प्रदान गरोस भन्नुहदै सबैको मनमुटुमा रोधिं बन्ने शुभकामना व्यक्त गर्नुभयो । टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै छोटो समयमा रोधिं टिभिले धेरै दर्शक श्रोताको मनजितेको बताउनुभयो। स्थापित टिभि च्यानलहरुमा समस्या आए पनि दर्शकहरुले वास्ता नगरे पनि रोधिंको च्यानले समस्या आउने वित्तिकै धेरैले फोन गर्ने गरेकोबाट रोधिं टिभि सबैको प्रिय बनेको प्रमाण पेश गर्नुभयो । मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफुहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताउनुभयो। सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, बिज्ञापन सामाग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भईरहेको बताउनुहुदै आगामी दिन धेरै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो । रुङहरुको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषय बस्तुसँग सम्बन्धित आवश्यक सामाग्री तयार पार्न त्यति कठैनाई नभएको बताउँछन् रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङ । सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा लगभग शृङ्खलाबद्ध रुपमा डेढ सय भाग छायांकन गरिसकेको बताउँछन् मुनाल फिल्मका प्रवन्ध निर्देशक भोज बहादुर गुरुङ । स्वदेश तथा विदेशमा रहनुहुने गुरुङ संघ संस्था व्यक्ति विशेषको साथ सहयोग र मार्ग निर्देशनले गर्दा नै आज हामी रोधिंको पहिलो वार्षिकोत्सब मनाउन पाएका छौं उनले भने । प्रथम स्थापना दिवसलाई थप रौनक प्रदान गर्न चर्चित लोक दोहोरी जोडी चिज गुरुङ र निर्जला गुरुङसहित कलाकारहरुको बेजोड दोहोरी प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा रोधिं कार्यक्रम संचालनका लागि विभिन्न शुभेच्छुकहरुले सहयोग प्रदान गरेका थिए । कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोज बहादुर गुरुङको अध्यक्षतामा, रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोक दोहोरी गायक टस बहादुर गुरुङल कार्यक्रम संचालन गर्नुभएको थियो ।
पोखरा: एउटा उखान छ, ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’, यही उखान अहिले पोखरा १८ अँधेरीकुनामा बस्ने बिजुली दमाईको जीवनसँग ठ्याक्कै ठोक्किएको छ । २ छोरा र पतिसहित ४ जनाको परिवार लिएर म्याग्दीको राखुबाट पोखरा १२ वर्ष अगाडि आइन् । ज्याला मजदुरी गरिन् । कमाएको पैसाले अँधेरीकुनामा प्लटिङ व्यवसायी राजु खत्रीसँग २ आना जग्गा किनिन् र फिर्के नजिक ओत लाग्ने टहरो बनाइन् । अहिले फिर्के संरक्षणको अभियान अन्तरगत फिर्केको खोलाघर छुट्याउने टोली बिजुलीको दैलोमा पुगेको छ । त्यसपछि आफ्नो टहरो फिर्के खोलाको घर हो भन्ने थाहापाएपछि उनको आँशु फिर्केमा चुहिएको छ । ‘ज्यामी काम गरेर साढे २ आना भनेको जग्गा पास गर्दा २ आना मात्र रहेछ, त्यही जग्गा पनि बैंङ्कमा राखेर लोन निकाले’, बिजुलीले आँशु चुहाउदै भनिन्, ‘बैंकको लोन तिर्न ३ वर्ष लाग्यो, लोन तिरेपछि त्यही जग्गामा टिनको टहरो निर्माण गरियो अहिले खोलामा पर्छ भन्दा रातभर निद्रा लाग्दैन ।’ (बिजुली दमाईको एकतले घर) आफ्नो हैसियत अनुसारको जग्गा किनेको सुनाउदै आफुलाई मापदण्डको विषयमा केही थाहा नहुँदा समस्या परेको उनले सुनाईन् । ‘महानगरले ०३२ सालको नापीको नक्सा लिएर खोला खोजिरहेको छ भन्छन्, नाप्दै आउँदा मेरो घर पनि खोलामा नै पर्दोरहेछ’, बिजुलीले भनिन्, ‘गाउँबाट आएर जसोतसो जग्गा किनियो, हामीलाई मापदण्डको विषयमा थाहा नुहुँदा दलाले फसायो ।’ सिमांकन टोलीले फिर्केको खोलाघर छुट्याएपछि प्लटिङ व्यवासायीले अधेरीकुनाको केही बासिन्दालाई छल गरेर जग्गा भिराएको प्रष्ट भएका हुन् । यस्तै गोरखाबाट अधेरीकुना बसाई आएकी विष्णुमाया कुमाललाई पनि मापडण्डभित्र पर्छकी भन्ने चिन्ता छ । ‘३२ सालमा खोला कहाँ कहाँ हिड्यो हिड्यो हामीलाई के थाहा हुन्छ । हामी जन्मेकै थिएनौ, उनले भनिन्, ‘नाप्न त पहिला पनि नापेको थियो तर पोल गाडेन, कहिले कता नाप्छन् कहिले कता मेसै छैन ।’ महानगरले विकासको नाममा नागरिकलाई घरबार विहीन नबनाउन उनको आग्रह छ । ‘खाडीमा बुढोले कति डिग्रीको घाममा पसिना बगाएर कमाएको पैसाले जोडेको घर हो विकास त आउँछ भन्छन् नि तर आफ्नो घर नै गएर आएको विकास के विकास, हाम्रा लागि त्यो भन्दा त विकास नै नभको ठिक छि’, विष्णुमायाले दुखेसो पोखिन् । पोखरा महानगरपालिकाले पुरानो आकारको फिर्के खोला खोज्न २०३२ सालको नापी नक्सा लिएर ४० जनाको टोलीले पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला २७ दिनयता खोजिरहेको छ । उक्त टोलीले खोलाघर छुट्याएको छ । सो सिमांकन टोलीसँगै अनुगमनमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खोलाघर खोज्ने कार्य अन्तिम चरणमा पुगेको बताए । ‘हामीले फिर्केखोला बगेको खोलाघर पत्ता लगाउन पहिलो चरणको काम सुरु गरेका हौं, हालसम्म ५ सयबढी पिल्लर गाडिएको छन्’, प्रमुख आचार्यले भने, ‘खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो । यो कसैले हटाएर हटिदैन प्राविधिक टोलीसँग संकेत सुरक्षित रहन्छ ।’ उनले फिर्के खोलालाई मिचेर बनाइएका संरचना हटाउनेमा महानरगर अडिग रहेने स्पष्ट पारे । ‘खोला माथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन, खोला माथिको जग्गा बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारवाही हुन्छ,’ मेयरले भने । उनले फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने छ’, उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’ हप्तादिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी मेयर धनराज आचार्यले सिमांकन टोलीको प्रतिवेदन एक हप्तामा सार्वजनिक हुने बताए । आज (शुक्रबार) सिमांकन सकिने बताउदै अबको हप्ता दिनमा प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सार्वजनिक हुनेछ । त्यसपछि फिर्केको मापडण्ड कति लगाउनेबारे टुंगो लाग्नेछ । अहिलेसम्म १० मिटरको चर्चा चलेपनि व्यवहारिक पाटोलाई हेरेर निर्णय गरिने मेयर आचार्यले बताए । 'हप्ता दिनमा प्रतिवेदन आउँछ, त्यसपछि मापडण्डको टुंगो लाग्छ । अनि फिर्केमाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउन महानगरले ३५ दिने सूचना जारी गर्छ ।’ फिर्केखोलाको सिमाङ्कन कार्यको नेतृत्व गरिरहेका महानगरका सर्वेक्षक वासुदेव पौडेलका अनुसार फिर्केको मापदण्डभित्र ५१ वटा पक्की घर, ३ वटा विद्यालय, १४ वटा समाजघर तथा भवन र ६४ वटा कच्चीघर (केही प्रतिशत) परेका छन् । पोखरा १८ बाट सुरु हुने फिर्के खोला पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ८ हुदैं ६ स्थित फेवातालमा मिसिन्छ ।
काठमाडौं: दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि (शनिबार) गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब सात सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’’ त्यस्तै, बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताउनुभएको हो । आज ९शुक्रबार० काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको औंल्याउनुभयो । उहाँले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बङ्गलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुबारे जानकारी दिनुहुँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पार्नुभयो । उहाँले खोलानाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनाबद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत् आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले नेपालमा नदीप्रवाही जलविद्युत् आयोजनाहरूको बाहुल्यले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्नसक्ने बृहत् अवसर रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले यस कार्यमा आफूलाई समेत तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने रु भन्ने गम्भीर प्रश्न अघि सार्दै हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी रहेको औंल्याउनुभयो ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपियाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्नुहुँदै प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड रुपियाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपियाँ पुगेको उल्लेख गर्नुहुँर्दै आर्थिक वर्ष ०७३/०७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताउनुभयो । प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको जानकारी दिनुभयो । उहाँले प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनुभयो । ‘‘गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । सर्वसाधारणलाई समेत शेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुनः संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्याङ्कन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ ।’’ प्रबन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको जानकारी दिनुभयो । उहाँले प्रशासन तथा वितरण चुहावट १३।४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो । ‘‘प्राधिकरणको केन्द्रीय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवम् सौर्य विद्युतबाट करिब ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्षभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी आवश्यक कार्य अगाडि बढाइएको छ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, विश्वसनीय र गुणस्तरीय बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादन तर्फका रणनीतिक महत्त्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडि बढेको छ ।’’ उहाँले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनुभयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।
नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।