काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार भदौ १३ गतेभित्र प्राप्ताङ्क पुनः परीक्षणका लागि आवेदन दिन सकिनेछ । उहाँले जसका लागि मार्कसिटको लेजर र प्रवेश पत्रको प्रतिलिपि एक–एक प्रतिसहित नजिकको परीक्षा बोर्डको प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालय सानोठिमीमा बुझाउन सकिने बताउनुभयो । निवेदनका दिँदा कुनै शुल्क भने नलाग्ने जानकारी उहाँले दिनुभयो । प्रवक्ता अर्यालका अनुसार निवेदन दिएको पाँच–छ दिनभित्रै पुनः परीक्षणको नतिजा सार्वजनिक गरिनेछ । कक्षा १२ को नतिजा हिजो ९मङ्गलबार० सार्वजनिक भएको थियो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको थियो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ । जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ । तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
काठमाडौं: यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने भएको छ । मङ्गलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपियाँ बढाएको छ ।
पोखरा: तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित पैयुम फुटसल मैदान सञ्चालन हुनेछ । सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ । यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ ।
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो । समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे । समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेहरूको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको धारणा राखे । समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् । यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु परेको पीडाबोध भएको धारणा व्यक्त गरे । संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको ज्ञवालीको सञ्चारकर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे । हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र मानवअधिकार आवाजको आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पणलगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने बताए । कार्यक्रममा अनु बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । गएरातीको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकि असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमवार बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनकालागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ । जिल्ला विपद् ब्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङकेट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात ब्यवस्थापन, कृषि र पशुजन्य क्षति ब्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका संम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ । मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालकालागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो । लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतीका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिएका थिए । सोही क्रममा उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बिपद् ब्यवस्थापन कोषको रकम खर्च गरेर बिपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन दिए । बैठकमा प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
पोखरा: मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । तिज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने टिम संकलन संयोजक कर्ण बहादुर भुवाजीले जानकारी दिए । त्यस्तै खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको समाजका महासचिव हेमराज भण्डारीले बताए । समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा बनेको मुल समारोह आयोजक कमिटी अन्तरगत विभिन्न उपसमितिहरु निर्माण गरिएको भण्डारीले जानकारी दिए । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । ‘साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ,’ उहाँले भन्नुभयो, ‘अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताउनुभयो । ‘पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उहाँले भन्नुभयो, ‘दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ ।
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनुभएको छ । उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो । मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताउनुभयो । उहाँले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गर्नुभयो । पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पार्नुभयो । रासस