पोखरा: पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । “आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भन्नुभयो ।
काठमाडौं: मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले राससलाई बताउनुभयो । उहाँका अनुसार भोलि बिहान १०:३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उहाँले बताउनुभयो । महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो । उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।
पोखरा: गण्डकी प्रदेश सरकारले आइतबार राति बाढीले क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल इन्धन र राहतका सामग्री पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले राहतको उचित तवरले व्यवस्थापन र बाढीबाट भत्किएका संरचना व्यवस्थित गर्न इन्धन पठाउने निर्णयसमेत लिएको छ । जिल्लामा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाइने भएको छ । प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने भएको छ । मौसम प्रतिकूल भएपछि हवाई यातायातबाट राहत सामग्री ढुवानी हुन सकेको छैन । पीडितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाको काम प्रदेश सरकारले सुरु गरेको छ । बाढीग्रस्त क्षेत्रमा खानेपानी, यातायात, औषधोपचारको व्यवस्थामा गर्न सहजीकरण गर्न प्रदेशका सरोकारवाला मन्त्रालयलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिएका छन् । कागबेनीमा आइतबार राति कागखोलामा आएको बाढीले ठुलो क्षति तुल्याएको छ । बाढीले २९ घर र १२ सवारी साधनमा पूर्ण क्षति पुगेको छ । एक एस्काभेटरसमेत बाढीले बगाएको छ । कागबेनीका १३ घरमा आंशिक क्षति पुगेको छ भने नौ गोठ पूर्णरुपमा क्षति भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए । कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम—कोरला जोड्ने एक पक्की पुल र कागबेनीबाट तिरी गाउँ जाने एक झोलुङ्गे पुल बाढीले बगाएको छ । कागबेनी श्राद्धस्थल बगरमा परिणत भएको छ । कागबेनी खोला थुनिएपछि स्थानीयलाई सम्भावित क्षतिबारे सतर्क गराइएकाले मानवीय क्षति भने हुन पाएन । अहिले कागबेनी क्षेत्रमा तीन वटै सुरक्षा निकायसहितको टोली खटिएको छ ।
गोरखा: गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ”, उपप्रमुख थोकरले भन्नुभयो, “गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।” बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उहाँले बताउनुभयो । “खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो”, उपप्रमुख थोकरले भन्नुभयो, “राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।” आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो । सर्वपक्षीय बैठकमा अलौकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय गरिएको थियोे । त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्किने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो । भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो । परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो । तस्बिरहरू:-
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन जोख्ने प्रक्रिया सुरु गरिएको छ । त्यसबाट सुनलाई छुट्याएर गाल्ने र तौलिने प्रक्रिया सुरु गरिएको हो । सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा कडा सुरक्षाबीच सुनसहितको कार्टुन खोलिएको छ । एउटा कार्टुनमा २० वटा ब्रेक सु रहेको जनाइएको छ । विभाग स्रोतका अनुसार आज ब्रेक सुबाट सुन छुट्याउने प्रक्रिया पूरा हुन्छ । त्यसपछि गाल्ने र तौलिने प्रक्रिया सुरु गरिने जनाइएको छ । राजस्व, भन्सार, सीआईबीलगायत निकायको संयुक्त टोलीले सुन छुट्याउने र गाल्ने तथा तौलिने प्रक्रिया पूरा गर्नेछ । यही साउन ४ गते सो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सरकारको निर्देशनानुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीसो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
पोखरा: फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पनि पहिचान हुन सकेको छैन । पोखरा ममहानगरपालिका १८ रातोडाँडा तल फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । ‘साउन २७ गते पोखरा १८ रातोडाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको थियो’, डीएसपी विकले भने, ‘आवश्यक मुजुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थियौं, तर शवको पहिचान हुन सकेको छैन् ।’ मृतक युवकको दाहिने हातमा क्रिस्चियन धर्मको जिसस क्राइसको जस्तो देखिने ट्याटु भएको कोही हराएको भए कास्की प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गर्न प्रहरीले अनुरोध गरेको छ । मृतक युवकको शवलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
विराटनगर: धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो । धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो । धरानमा घर-घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ ।
काठमाडौ: काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।