मुस्ताङ: छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । ‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’ मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । साभार कान्तिपुर राष्ट्रिय दैनिक
पोखरा: गण्डकी प्रदेश सभा सदस्य सांसद भिम बहादुर कार्कीले आफू निर्वाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरुको विवरण सार्वजनिक गरेका छन् । गएको मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद कार्कीले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै हालसम्म भएका उपलब्धि र कामहरुको विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेशसभा सदस्य कार्कीले मतदाताहरुको विश्वासमा रहेर नै आफ्नो काम कर्तव्य निर्वाह गरेको बताए । ‘निर्वाचनमा मलाई मतदाताहरुले विश्वास गरेर नै निर्वाचित गराउनुभयो, उहाँहरुको विश्वासमा रहेर नै प्रदेश सभा सदस्यका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु’, सांसद कार्कीले भने, ‘राजनीति कर्म राष्ट्र र जनता केन्द्रित भएकाले जनताको जनजीविकाका सवाल आफ्नो प्राथमिकतामा राखेको छु ।’ उनले आफु निर्वाचित भएपछि प्रदेश सभामा कास्की २ (१)का जनताका समस्याहरु, विकास निर्माण, समृद्धि र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । सांसद कार्कीले गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत छनोट भएका र विनियोजित बजेट समेत सार्वजनिक गरे । उनका अनुसार पोखरा महानगरपालिका १७ स्थित स्वास्थ्य चौकीदेखि महतगौँडासम्मको सडक ५० लाखको लागतमा स्तरउन्नती भएको, यस्तै ३० लाखको लागतमा पोमनपा वडा नम्बर ३३ स्थित भञ्ज्याङ आँपुकस्यारी मोटर बाटो स्तरोन्नति भएको , रू २० लाखको लागतमा पोखरा –१५ टुटुंगा स्थित एकतापथ टुटुंगा मोटर बाटो बाँकी ढलान भएको ,रू २० लाखको लागतमा पोखरा २१ को पुरानो कोलसिम्ले सडक स्तरोन्नति गरेको , रू ३० लाखको लागतमा पोखरा ३३ को जुके हनुमान पोखरी मोटरबाटो स्तरोन्नति भएको बताए । यस्तै रू २० लाखको लागतमा पोखरा ७ स्थित झपेन्द्र स्मृति भवनको बाँकी काम पूरा भएको, रु २० लाखको लागतमा पोखरा २१ स्थित रामदी एकहाते एकीकृत खानेपानी योजना , रू २० लाख लागत रहेको बक्रेक, कात्तिके सडक स्तरोन्नति भएको , रू १० लाखको लागतमा धारापानी कुल मन्दिरदेखि ग्राउण्डसम्म सिंढी बाटो निर्माण सम्पन्न भएको ,रू २० लाखको लागतमा पोखरा १७ को दोभिल्ला वस्ती जोगाउन फुस्रे खोलामा तटबन्धन गरिएको सांसद कार्कीले उल्लेख गरे । उनका अनुसार २१ फेदीपाटन मासपाटन दम्साँदी हुँदै पहारी डाँडासम्मको कृषि सडकको लागि १ करोड विनियोजन भई ठेक्का प्रक्रियामा बहुवर्षिय योजनाका लागि अघि बढेको छ । उनले आर्थिक वर्ष २०८०÷८१ का लागि विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरुबाट छनोट परेका योजनाहरुको जानकारी समेत दिए । जस अन्तर्गत भू तथा जलाधार ब्यवस्थापन कार्यालयबाट १८ ,पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट १२ ,डिभिजन वन कार्यालयबाट १, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीमार्फत २२ ,समपुरक अनुदान अन्तर्गतका २ वटा पुर्वाधार बिकास कार्यालयबाट २६ ,जलस्रोत तथा सिंचाइ डिभिजनबाट १२ वटा र पुल निर्माण तर्फ २ वटा रहेका जानकारी दिए । पोखरा महानगर वडा नं. ३३ मा प्रादेशिक औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढेको , सोहि वडामा हिंसा पीडित महिलाहरूको लागि पुनस्र्थापना केन्द्र संचालनको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे ।
पोखरा: राजावादीहरुले पोखरा महानगरपालिका १० स्थित लखनचोकमा मयेर धनराज आचार्य र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उक्त चोकमा पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न एक टोली पुगेका थिए । लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लागाएको थियो । त्यसपनि उक्त टोलीले मेयर धनराज आचार्य र प्रहरीविरुद्ध नारा घन्काए– ‘सालिक चोर्न पाइदैन, धने तेरो पाराले दुख पायो साराले, प्रहरी दमन मुर्दावाद ! प्रहरी हस्तक्षेप मुर्दावाद ! राष्ट्रिय एकता कायम गर, राष्ट्रघातीहरु होसियार, प्रधानमन्त्री तिमि कुन देशको ? मेयर तिमि कुन देशको ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर, मुर्तिचोर देश छोड, हाम्राे ठाउँ खाली गर । २९ औं विश्व आदिवासी दिवसको अवसरमा लखनको सालिकमुनि राखेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि विवाद सुरु भएको थियो । सो विवादपछि पोखरा महानगरपालिकाको सर्वदलीय बैठकले पोखरा महानगरभित्र रहेका सालिकहरुलाई सहिद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आज (आइतबार) मात्रै कास्की कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय मान्य नहुने बताएको छ । कास्की कांग्रेसले कुनैपनि हालतमा बिपी कोइराला, हरि प्रसाद गुरुङ लगायतको सालिक यथास्थानमै राख्ने अडान राखेको छ । यस्तै तमु ह्युला चोक (विराैटा) मा रहेको सालिक पनि त्यही राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।
पोखरा: गण्डकी प्रदेश प्रहरीको गत वर्षको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५ सय ३१ जना मानिस बेपत्ता भएका छन् । गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङबाट हराएका पुरुष, महिला, बालक र बालिका सबै भेटिएका छन् । बाँकी अन्य जिल्लाबाट हराएका केही मानिस भने अझै भेटिन नसकेको प्रदेश प्रहरीले जनाएको छ । गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ हजार ८३ जना मानिस हराउँदा १ हजार ५ सय ५२ जना मात्र भेटिएका छन् । प्रदेश प्रहरीका अनुसार गण्डकीबाट ५ सय ७३ जना पुरुष हराएको निवेदन पर्दा ३ सय ४३ जना मात्र भेटिएका छन् भने २ सय ३० जना अझै हराइरहेका छन् । यस्तै गण्डकीबाट ९ सय ५२ जना महिला हराएको निवेदन अनुसार ७ सय १६ जना भेटिएका छन् भने २ सय ३६ जना अझै हराएको सूचीमा छन् । एक प्रहरी अधिकृतका अनुसार हराएको सूचना वा निवदेन दिँदा परिवारले दिएको हुलियाको आधारमा खोजी भइरहेको जनाए । यस्तै गण्डकी प्रदेशबाट १ सय ५१ जना बालक हराएको निवेदन दर्ता हुँदा १ सय २९ जना भेटिएका छन् भने, २२ जना बालक अझै हराइरहेको सूचीमा छन् । गण्डकीमा सबैभन्दा बढी बालक हराउनेको सुचीमा कास्की पहिलो नम्बरमा छ । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गण्डकीबाट ४ सय ९ जना बालिका हराएका छन् भने ३ सय ६६ जना बालिका भेटिएका छन् र ४३ जना अझै हराइरहेको सूचीमा सुचीकृत छन् ।
लमजुङ: पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उहाँले भन्नुभयो । सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
दाङ: दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हाे । ‘घरमा शाैचालय नभएका कारण विक शाैच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गाैतमले भन्नुभयाे । अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।
गोरखा: केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । ुपहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छु, अध्यक्ष लामाले भन्नुभयो, ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् । पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो। प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।
पोखरा: सर्वदलीय बैठकमार्फत पोखरा महानगरभित्र रहेका सडक चोकका मुर्तिहरु सहिद पार्क लाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ती जनाएको छ । विज्ञप्ती जारी गर्दै आज (आइतबार) महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको छ । पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’ कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ ।