ललितपुर: नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताउनुभएको छ । स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उहाँले समाजवादी चिन्तकका रूपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताउनुभएको हो । “उहाँ धेरै ठुलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रूपमा लिएको छु, उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भन्नुभयो । उहाँले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उहाँले धेरै किताब लेखेर बौद्धिक विचार दिएको बताउनुभयो । उहाँले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राख्नुभयो । महामन्त्री गगनकुमार थापाले गिरि इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको बताउनुभयो । “प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन”, उहाँले भन्नुभयो । “प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो, उहाँका कुरा सुन्दा पाँच÷छ घण्टा बितेको पत्तै हुँदैनथ्यो, उहाँले धेरै कुरा लेख्नुभएको छ, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौँ । ” महामन्त्री थापाले स्वर्गीय गिरि नाशवान् पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभई नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरूमा समेत असहमति राख्ने नेता हुनुहुन्थ्यो भन्ने धारणा राख्नुभयो । गिरिकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उहाँले नेताहरूको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्ताबेज कम प्रकाशन भएको धारणा राख्नुभयो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्वर्गीय गिरि समाजवादी विचारलाई प्रस्ट्याउन सक्ने सबै विषयको अध्ययन गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले गिरि नेपालको समाजवादी आन्दोलनमा जीवितै रहनुहुने धारणा राख्नुभयो । उहाँले गिरिले पदलाई महत्त्व नदिएको जनाउँदै भन्नुभयो, “म मन्त्री बन्न राजनीतिमा आएको होइन, परिवर्तन गर्न चाहन्छु भन्नुहुन्थ्यो ।” कांग्रेस ललितपुरका जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले स्वर्गीय गिरि पार्टीले मात्रै नभई सबैले सम्झने सम्मानित व्यक्तित्व भएको धारणा राख्नुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्वर्गीय गिरिको सादगी र दार्शनिक जीवनीलाई पाठ्यक्रममा समेट्ने प्रयास गर्ने बताउँदै उहाँको सम्झनामा हरेक हप्ता बहस चलाउने धारणा राख्नुभयो । स्वर्गीय गिरिका धर्मपत्नी भारती सिलवालले उहाँको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको बताउनुभयो । स्वर्गीय गिरिले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गर्नुभयो ।
पोखरा: गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको तेस्रो संस्करणको उपाधि बाल कल्याण हाइस्कुलले हात पारेको छ । शुक्रबार पोखरा सभागृहमा भएको ग्रान्ड फिनालेमा अन्य १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेको हो । बालकल्याण हाइस्कुलले शीर्ष उपाधि गोल्डेन ढाकाटोपीहसहित १ लाख रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक अमन तामाङले जानकारी दिए । मिरर किङ इन्टरटेन्मेन्ट र बिटुडी डान्स स्कुलले गर्र्दै आएको प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशका १५ विद्यालय प्रतिस्पर्धामा थिए । प्रतियोगितामा सोसल पब्लिक स्कुलले दोस्रो स्थान ल्याएको थियो । दोस्रो भएको सोसल स्कुलले ट्रफीसहित ७५ हजार रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान बनाएको बेसलाइन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ जितेको छ । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुल र भाष्कर मेमोरियल स्कुल क्रमशः चौंथो र पाचौं स्थान ल्याए । उनीहरुले ट्रफीसहित क्रमशः ३० हजार रुपैयाँ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा छैठौं स्थान ल्याएको सबलाइम इंग्लिस स्कुलले १० हजार रूपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता संयोजक तामाङले कास्की मोर्डनाइज्ड स्कुललका युवराज गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि जितेको जानकारी दिए । ‘बेस्ट कोरियोग्राफरले गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ जित्नुभयो,’ उनले भने । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका थिए ।
काठमाडौँ: समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘छलफल राम्रो भयो, तरङ्गमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो रु के हो रु भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेश स्तरको घोषणा सभा गर्ने निर्णय गरेका छौँ । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’ बैठकपछि बोल्दै नेकपा ९एकीकृत समाजवादी० का नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने बताउनु भयो । उहाँले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको पनि बताउनु भयो । प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपालका तेस्रो बैठक बस्यो । समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भयो । सचिवालयमा गरेका निर्णयहरूको अनुमोदन गर्ने निर्णय भएको छ । समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भयो । हामीले ८ गते मधेसमा वीरगन्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौँ ।’ बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।
काठमाण्डौ: कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि यो निर्णय विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले साहदत प्राप्त गरेका थिए । उनीहरुको साहदतपछि तत्कालीन सरकारले साविकको कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई जोडेर कर्णाली प्रदेश घोषणा गरेको थियो ।
नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकाशी–१ बगाम घर भई रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे बस्दै आएका ३० वर्षका फुसाङ्वो शेर्पा पनि पक्राउ परेका छन् । मेटालर वान किलो गोल्ड लेखिएको एक÷एक केजीका दुई डल्ला रहेको र सुनको बजार मूल्य भने रु एक करोड ८९ लाख रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन परीक्षण गर्न र अवैध क्रियाकलाप गर्ने दुई शेर्पा उपर कानूनी कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइसकिएको बताइएको छ ।
बाग्लुङ: बाग्लुङको गलकोट नगरपालिका- ३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका- ३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बागलुङ: ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । वि.सं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ । १४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो । भदौ १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेषरुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “यो वर्ष पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ । प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो । पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो । प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागुऔषधसहित ५जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् । दिपेशले ५ किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आएका थिए । कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी श्रवण कुमार बिकका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे दिपेशलाई पोखरा २५ हेम्जाबाट पक्राउ गरेको हो । भने विराज र तेजेन्द्रलाई लेकसाइडबाट पक्राउ गरिएको थियो । पूर्वी रुकुमबाट पोखरा आउने क्रममा दिपेशले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए । यस्तै ठुलो मात्राको लागुऔषधसहित पक्राउ परेका दुई जनालाई पनि कास्की प्रहरीले सार्वजनिक गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई आज (आइतबार) सार्वजनिक गरेको हो । डिएसपी बिकका अनुसार उनीहरुको साथबाट बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजापाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की, मोबाइल सेट २ थान, ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडी बरामद गरेकोे छ । लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई लागुऔषध कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।