काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो । घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । रासस
काठमाडौ: कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेशविपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
काठमाडौं: उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो । चन्द्रमासअनुसार भदौ महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष साउनशुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा।तोयराज नेपाल बताउनुहुन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । गौराको पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइन्छ । यस्तै, काठमाण्डौसहित सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास रहेका क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देविलाई भदौ कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार व्रत बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो । देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । दुईरतीन दिन पूजा गरिसकेपछि मङ्गलवार र शनिवार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगेर सेलाइन्छ । जुठो, सुतक परेका बेला देविलाई विसर्जन गर्नु नहुने परम्परा छ । देविलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । यो पर्वका लागि साउन शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ । यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । यसैबीच,दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने जनविश्वास रहिआएको छ । आज देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गरिन्छ । काठमाण्डौको टुँडिखेलमा पनि आज देउडा गीत र नृत्यसहित विशेष कार्यक्रम हुन्छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ । यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं: भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो। चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन्। यदि चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ। रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महत्त्वाकाङ्क्षी प्रयास गरेको हो। चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ। अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन्। सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो। त्यतिबेला चन्द्रयान-२ चन्द्रमाको सतहमा खसेको थियो। त्यसैले भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैको दृष्टि चन्द्रयान-३ मा थियो। सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गर्नुभएको थियो।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उहाँले जानकारी दिनुभयो । कानुनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्नेगरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाउनुभएको थियो । ‘हामीलाई खासगरी राजधानीबाहिरका पत्रकारबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौं, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११ (१) मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको छ । त्यस्तै, स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । ‘लामो समयसम्म पत्रकारितामा लागिरहेका अग्रजहरुले स्वतन्त्र पत्रकार परिचयपत्र पाउने र नवीकरण गर्ने सवालमा असजिलो भयो भन्ने गुनासो गरिरहनुभएको छ’ केसीले भन्नुभयो, ‘यसलाई सहज बनाउन के गर्न सकिन्छ, छलफल भइरहेको छ, यसमा पनि विभागले गृहकार्य गरिरहेको छ ।’ त्यस्तै, विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा दर्ता गराउनुभएको छ । सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश पनि माग्नुभएको छ । कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो ।
काठमाडौं: चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् । शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ छहरामा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ‘‘काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’’ प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिनुभएको छ ।
विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दीपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई छन् । ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा.तपेश्वरलाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य चार जनालाई मङ्गलबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै पक्राउ परेकाहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।