काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

काठमाण्डौ:  सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।   हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गर्नुभएको छ ।   त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् ।

पोखरा:    लेकसाईड मदिरा व्यवसायी समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ब्यवसायसंगै समाजिक सेवा प्रदान गर्ने उद्देश्यले लेकसाईडको ओरेगन मल्टि ट्रेडर्सको प्राङगणमा सम्पन्न रक्तदानमा ३८ जनाले रक्तदान गरेका हुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटालाई  ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा समितिमा आवद्ध र अन्य गरी ३८ जनाले रक्तदान गरेका हुन । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत अगाडी बढ्नु आफैमा स्रहानिय काम भएको बताउदै आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले लेकसाईडमा रहेका मदिरा व्यवसायीहरुलाई संगठित गराइ समिति बनाएर सामाजिक काम गर्दै गर्दा अझैपनि केही ब्यापारीहरुले अनुमति नलिइकन मदिराजन्य पदार्थहरु बिक्री वितरण गरिरहेको र त्यसको अनुगमनका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए । लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा रहेका मदिरा व्यवसाय गर्नेहरुलाई एकतृत गरेर समिति गठन गरेर आफ्नो समितिले रक्तदान कार्यक्रमबाट सामाजिक कामको शुरुवात गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यसअघि फेवातालमा जलकुम्भी झार फाल्ने कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले जानकारी दिए ।   लेकसाईड मदिरा व्यवसायी समितिका सचिव कृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।  

पोखरा:    साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को आज पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन्। उक्त अवसरमा साहित्यकार सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहत्यकार ईश्वरमणिको यो चौथो कृति हो मुक्त संग्रह । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह प्रकाशन भइसकेका छन् । शुरुमा जतिबेला म सार्वजनिक पुस्तकालयको अध्यक्ष थिएँ सो समयमा अधिकारीको एउटा हिमाल आरोहीको जीवनीमा आधारित पुस्तक प्रकाशन भईसकेको छ । उक्त पुस्तक तत्कालिन समयमा कुमुदिनी होम्समा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अरिबन तिमिल्सिनाको जिवनीमा लेखिएको मलाइ थाहा छ । पोखरा मुक्तकको शहर हो । यहाँ मुक्तकका कर्महरु हुनु पनि स्वाभाविकै हो । सरुभक्तले भने, यस्ता असल कृतिहरु आईरहनु पर्छ । कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने छैन र हुन्नन् पनि तर एक दुईटा असल सिर्जना भए असल र कृति उत्तम भईहाल्छ उनले भने । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरु साहित्य लेखनमा पनि उत्तिकै निपूर्ण छन् भन्ने कुरा गणितका विज्ञ डा।अधिकारीको कृतिबाटै प्रस्ट भएको छ । प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरुलाई बुझ्न आवश्यक भएको बताए । साहित्यकार, संस्कृतिकर्मि तिर्थ श्रेष्ठले मुक्तक मक्त हुन्छ । यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्च भन्ने कुरा गलत हो । श्रेष्ठले भने, यो दुई लाईनको पनि हुनसक्छ वा चार, सात लाईनको पनि हुनसक्छ । तर हुनुपर्ने चाँही भाव र चोटिलो प्रहार यसको गुण हो । अधिकारीका मुक्तकहरुमा रुवाईया शैली अपनाएको भएपनि अब्बल भएको बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने बताए । कृतिकार ईश्वरमणि अधिकारीले ३० वर्षको अवधिमा लेखेर थन्किएका मुक्तकहरुबाट छानेर सम्बोधिका प्रकाशन गरेको बताए । मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु। तर बेईमानीलाई अस्वीकार गरेको छु । उनले भने, मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरुमा सच्याउनु पर्छ । सो अवसर’मा उनले छिट्टै अर्को पुस्तक निकाल्ने र पाण्डुलिपि पनि तयार भएको जानकारी दिए । कार्यक्रममा कवि जीवनसागर भण्डारीले अधिकारीको परिचय विवरण प्रस्तुत गरेका थिए भने कवि प्राञ्जलले उनका केहि मुक्तक वाचन गरेका थिए । कृतिको बारेमा कवि संजिव पौडेलले समिक्षा गरेका थिए । सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, प्राज्ञ, बिम्ब कवि रमेश श्रेष्ठ, गजलकार दीपक समिप, सरस्वती प्रतिक्षालगायतले शुभकामना व्यक्त गर्दै विषय विज्ञताका साथमा साहित्य लेखनमा अधिकारीको कर्मले नेपाली साहित्यमा योगदान पुगेको बताए । १२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । यसअघि कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई संस्थाकी उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत, संस्थाका सचिव चैतन्य अधिकारीले सञ्चालन र अध्यक्षता अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।  

पोखरा:     खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो ।  प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६-३ गोलअन्तरले हराउँदै विजयी भयो ।  मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए ।  उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र युवा खेलाडीहरुले खेलकुदपत्रकारसँग मैत्रीपूर्ण खेल खेल्दै खेलकुदको विकास आवश्यक रहेको सन्देश दिएको बताए । ‘हिजो कास्कीको फुटबलको स्तर कहाँ थियो र आज कहाँ छ त्यो सबैलाई थाहा भएकै कुरा हो । हिजोका दिनसम्म राष्ट्रिय टिममा कास्कीको खेलाडी नपरेको समय नै हुनेथिएन तर आज कास्कीका खेलाडी राष्ट्रिय टिममा पर्नै छाडे यो फुटबलमा मात्र होइन अन्य खेलमा समेत समस्या छ’ उनले भने, ‘हामीले जिम्मेवारी त पाएका छौ तर अधिकार पाएका छैनौं । आज रंगशालाको उपभोग गर्न प¥यो भने राष्ट्रिय खेलकुद परिषदको अनुमति चाहिन्छ । हाम्रै आगनमा समेत हामीले केहि गर्न पाउँदैनौ खाली समिति बनाएर मात्रै खेलकुदको विकास हुँदैन ।’  उनका अनुसार गण्डकीको खेलकुदमा निकै अस्तव्यस्त रहेको छ । यस्तै गण्डकी प्रदेश फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले फुटबल खेलका लागि गण्डकी प्रदेश फुटबल संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले मैत्रीपूर्ण खेलले दुई संस्थालाई जोड्ने काम गरेको सुनाए । उनले अरबौ रुपैयाँमा बनेको रंगशालाको उपयोग खासै नभएकोमा चिन्ता व्यक्त गरे । पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार निर्माण भएपनि स्तरीय प्रतियोगिता भने खासे नभएको सुनाए । खेलकुद विकास मञ्चका अध्यक्ष विक्रम थापाले खेलकुदको विकासका लागि मञ्चको स्थापना भएको सुनाए । उनले हरेक वर्ष खेलकुद पत्रकारहरुसँग मैत्रीपुर्ण खेल खेल्दै दुई संस्थाबीच सम्बन्ध गास्ने सुनाए । फुटसल प्रतियोगिताको आयव्यय सार्वजनिक   यस्तै खेलकुद विकास मञ्चले असार २९ र ३० गते आयोजना गरेको स्व।याम (राम) बहादुर थापा स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । संस्थाकी उपाध्यक्ष अञ्जली भुषालले प्रतियोगिताबाट कुल एक लाख ४० हजार आम्दानी भएको छ भने दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् ।   प्रतियोगितामा टिम दर्तामार्फात ८० हजार, सहयोगमार्फत ६० हजार रुपैयाँ उठेको हो । प्रतियोगिताबाट ६० हजार रुपैयाँ घाटा भएको उनले बताइन् ।  

बागलुङ:     भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।  वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उहाँको भनाइ छ ।  घर भत्किँदा नारायणको रु १० लाख बराबरको क्षति भएको छ भने जमुनाको रु छ लाख बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।  “पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो, “बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरू घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।” विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताउनुभयो । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोख्नुभयो । बागलुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उहाँको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताउनुभयो । 

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र नेपाल र बेलायतमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र हङकङमा अगष्ट ३० तारिखमा प्रदर्शन हुने भएको छ ।  ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज हङकङको सहयोगमा अगष्ट ३० तारिखमा जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा बेलुका ८ बजे प्रदर्शन हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।  ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्र घान्द्रुक, पोखरा, काठमाडौंसहित बेलायतको तीन शहरमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘घान्द्रुकको (कोँड नाश)वृतचित्रलाई नेपाल र बेलायतपछि अगष्ट ३० तारिखमा हङकङमा प्रदर्शन गर्दै छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुकको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । लामा अमृत फाउण्डेशनले घान्द्रुक लगायत देशको विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।   

पोखरा:    पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेको छ ।  टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो । प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे ।  नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको सुनाइन् । हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउन जोड दिईन् । ‘केही वर्ष महामारीले व्यवसायलाई चलायनमान बनाउन सकेनौं’, उनले भनिन्, ‘सबै व्यवसायीहरु अब डिजिटल बैंकिङ सेवामा जोडिन आवश्यक छ ।’ डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमकमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए ।   ‘डिजिटल बैंकिङ सेवालाई प्रभावकारी बनाउँने उद्धेश्यकका साथ यो कम्पनीसँग जोडिएका छौं’, महाप्रबन्धक सिंले भने, ‘डिजिटल बैंकिङ सेवा हरेक स्थानमा सरल र सहज सेवा विस्तारमा हामी जोडिनुपर्छ ।’ पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तरगत एक हजार चार सय बढी बस सञ्चालनमा रहेको बताए ।  ‘हाम्रो कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्यूआर कोड जोड्ने छौं’, केसीले भने, ‘अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ ।’ कम्पनीले पृथ्वी मोबाईल एप्सबाट पनि टिकट काट्ने सेवा विस्तारलाई चाँडै नै लागू गर्ने उनले सुनाए ।   

लायन्स क्लव अफ पोखरा सृजना चौतारीको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लव स्थापना दिवसको दिन भदौ ७ गतेको अवसर पारेर तीन महिना अघि निर्वाचित दीपक तिमिल्सिना नेतृत्वको कार्यसमितिलाई पदस्थापन गरिएको हो । लायन्स क्लवमा पदभार सम्हाल्नु तीन महिना अघि निर्वाचित हुने प्रावधान छ । सो अनुसार जुलाई एक तारिखका दिन निर्वाचित तिमिल्सिनालाई निवर्तमान अध्यक्ष जनकबहादुर कार्कीले शुक्रबार साँझ एक विशेष कार्यक्रमका बीच पदभार हस्तान्तरण गरेका थिए ।   पदभार ग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । आफ्नो कार्यकालमा कुल २६ वटा कार्यक्रम बनाएकोमा १४ वटा सम्पन्न गरिसकेको र बाँकी १२ वटा कार्यतालिका बनाएर गर्ने योजना रहेको उनले जानकारी गराए । आगामी कार्यकाललाई स्वर्णिम बनाउनका लागि उनले मधुमेह सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम, देउसीभैलो कार्यक्रम, मिर्गौला पीडितलाई सहयोग, लायन्स क्वेष्ट कार्यक्रम, न्यानोकपडा वितरण, स्टेसनरी वितरण, अन्र्तराष्ट्रिय ईसामे डिष्ट्रिक्ट कन्भेन्सनमा सहभागिता, वनभोज कार्यक्रम, शुभकामना आदानप्रदान, पिस पोष्टर कार्यक्रम र गभर्नर क्लव भिजिट कार्यक्रमको तालिका निर्धारण गरेर त्यसको संयोजकसमेत घोषणा गरे ।    कार्यक्रममा केक काटेर क्लवको स्थापना दिवस मनाइएको थियो भने नया सदस्यहरुलाई स्वागतसहित सदस्यता वितरण गरिएको थियो । सो अवसरमा क्लवले भरत अधिकारी र कृष्ण लामिछानेलाई ह्वीलचेयर प्रदान गरेको थियो भने अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) मार्फत दृष्टिविहीनहरुलाई वितरण गर्नेगरी २० वटा सेतो छडी प्रदान गरेको थियो ।   कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठाले लायन्स क्लव अफ सृजना चौतारी सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव र अध्यक्ष दीपक तिमिल्सिनाको प्रशंसा गरे ।   कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठ, पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष बालकृष्ण बराल, निवर्तमान अध्यक्ष जनकबहादुर कार्की, पूर्व अध्यक्ष बिना गुरुङ, चिफ एडभाईजर प्रजापती बास्तोला, सहायक चिफ एडभाईजर मधुसुदन कोईराला, जिएलटी कोअर्डिनेटर सन्तोष घिमिरे, रक्तदान कार्यक्रम संयोजक जितबहादुर थापा –गोपाल), ईनसामे चिफ जीवन गोर्खाली, लगायतले क्लवहरु मध्ये सृजना चौतारीले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।  

काठमाडौं:   चार देश सम्मिलित महिला टी– २० शृङ्खलाको खेलमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा पुगेको छ ।  आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १/१ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् । नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।