काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

पोखरा:  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कोरोला नाका सञ्चालनका लागि चीन सरकारसँग छलफल हुने बताएका छन् ।  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा कोरोला नाका सञ्चालनका लागि छलफल गर्ने बताएका हुन् ।  ‘अब हुने चीन भ्रमणमा विभिन्न एजेण्डा छलफल हुनेछ भौतिक पूर्वाधार देखि विभिन्न क्षेत्रमा छलफल गर्ने छु’, प्रचण्डले भने, ‘गण्डकी प्रदेशको मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालन लागि चीन सरकारसँग छलफल हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालनमा आए गण्डकी प्रदेशको समृद्धमा थप सहयोग पुग्ने बताए ।  सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको बताउँदै भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेस्र्याइएको उनको भनाई छ ।  ‘ भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु होइन,सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ, अन्तिमम भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन कि?’, उनले भने, ‘आफ्ना मान्छेलाई बचाउने पो हुन कि? तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन, सानो विचार, सानो उद्देश्यले गरिएको होइन ।’ उनले आफ्नो अरुको नभनी कसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए ।  ‘मैले प्रहरी, सेक्युरिटी फोर्स र अनुसन्धानकर्तालाई भन्दै आएको छु, निष्पक्ष र निस्वार्थरूपमा अनुसन्धान गर्नुस, जो जो दोषी देखिन्छन प्रकाउ गर्नुहोस्, चाहे त्यो माओवादी, कांग्रेस, एमाले, समाजवादी जोसुकै होस् ।’ उनले भने ।   

तनहुँ:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।  आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा। कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उहाँले  तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिनुभयो  ।  डा कोइरालाले भन्नुभयो, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब  कूटनीतिक क्षेत्रमा  समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।  तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा। कोइरालाले सुझाव दिनुभयो ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो ।” जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाउनुभयोे । 

पाल्पा:     बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोलाÞ–२, घर भई हाल बगनासकाली–१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीय छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।  घरको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पानीमा डुबेर अशक्त भएकी बालिकाको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

काठमाडौं:     असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कोशी सरकारविरुद्ध परेको रिटमा आज शुक्रवार हुने भनेको सुनुवाइ स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएपछि रिट परेको हो । यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेशसभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै कोशी सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । अन्तरिम आदेशसँगै आजका लागि पेसी तोकिएको थियो ।

काठमाडौं:    आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।  नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सीता रानामगरले अविजित २ रन जोडिन् ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।  बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । 

सिन्धुपाल्चोक:    नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।  नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो ।  विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।  चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाउनुभएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण  गराउनुभएको थियो ।  केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

पर्वत:     पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।   स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।  वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।

काठमाडौं:     नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ । पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

गोरखा:    पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।   पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।