काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

काठमाडौं:  नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्नुहुँदै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।   सांसद आलेमगरले कतिपय कानुनहरु संविधान बनेको तीन वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्नुुहँदै यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्नुहुँदै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो ।   सांसद आलेमगरले भन्नुभयो,‘‘संविधानमा बन्न बाँकी कानुनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, दुईरतीन वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानुन पनि हामीले बनेको पाएनौँ । उदाहरणका लागि दलित सम्बन्धि कानुन । दलितसम्बन्धी कानुन दुईरतीन वर्षभित्र बन्नुपर्ने । यस्तै, अन्य कानुनहरु पनि थिए तर त्यो बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानुनहरु बनेनन् ।,’’   उहाँले थप्दै, ‘‘यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेशी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ ।   त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरु छन्, १८१ वटा कानुनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’’ उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिका वडा नं १० देवीनगरमा रहेको काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।    समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।    समितिका अध्यक्ष टीकाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, विसं २०६६ साल जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा रहेको छ ।   गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ । साथै तत्कालीन वडा कार्यालयबाट पनि बजेट विनियोजन भइ गुम्बाको भवन निर्माणमा सहयोग रहेको विज्ञप्तिमा जनाइएको छ ।   विज्ञप्तिमा भनिएको छ, गुम्बा निर्माणमा सयौँ बौद्ध धर्मावलम्बी आस्थाका व्यक्तिसहित पर्यटन मन्त्रालय, सहरी विकास तथा भवन विभाग, जिल्ला समन्वय समिति काठमाण्डौ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, संसदीय विकास कोषलगायत विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग जुटाइएको जानकारी गराउँदैछौँ ।   केही समय अगाडि महानगरपालिकाले धर्म, संस्कृति र समाजको बेवास्ता गर्दै सार्वजनिक सूचना जारी गरेर गुम्बा भत्काउन माइकिङ गर्ने कार्य गरिरहेको कुराले समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । महानगरले धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा उल्टै भत्काउने कुरा राम्रो नहुने समितिको भनाइ छ ।    काठमाडौमा मात्र नभइ देशभर मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चलगायत धार्मिक आस्थाका केन्द्र सार्वजनिक जग्गामै बनेका स्मरण गराउँदै समितिले महानगरलाई आफ्नो मातहत ल्याएर गुम्बाको संरक्षण गर्नसमेत आग्रह गरेको छ ।    गएको साउन ३ गते महानगरले डोजर ल्याएर देवीनगरमा संरचना भत्काउन खोज्दा उच्च अदालत पाटनबाट तत्काल गुम्बा नभत्काउन आदेश जारी भए पनि महानगरले त्यसको अवज्ञा गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ुसंरचना आफैँ नहटाए भत्काउने भन्दै महानगरपालिकाले माइकिङ गर्नु सम्मानित अदालतको अपहेलनाका हो । रासस

वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।   आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।​ मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्।    अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए। 

पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ।   इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन्। मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताए।   उनले भने, ‘सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ। यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ।’ राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताए।   उनले भने, ‘मुख्य राजमार्गमा सवारी चाप हुन्छ।  त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ। यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धीत  निकायले ध्यान दिनुपर्दछ।’   सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ।   यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ। सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताए।

काठमाण्डौ:  कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।   न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।   मुख्यमन्त्री थापाले पछिल्लोपटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो ।   सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।   यसअघि पनि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमलाई सरकार गठनको दाबी पत्रमा हस्ताक्षर गर्न लगाएर दाबी पेस गरेका कारण सर्वोच्चले सरकार गठनसम्बन्धी प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापालाई पदमुक्त गरिदिएको थियो ।

रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गएको छ ।   हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो ।    जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।       

काठमाडौं:    एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पोखरा:    एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटो पत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् । हाल उनी एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् । यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।

बाजुरा: चट्याङ लागेर बाजुरामा दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् ।   गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता घाइते भएकी छिन् ।   कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ ।   घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।