काठमाडौं: प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ । बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गर्नुभयो । उहाँले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराउनुभयो । प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । रासस
काठमाडौं: प्रतिनिधिसभा बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गर्नुभयो । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो । जनमत पार्टीका विनीताकुमारी सिंहले तराई–मधेशका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गर्नुभयो । सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भन्नुभयो । बैठकमा कांग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय, नेपका ९एकीकृत समाजवादी० का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ । रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उहाँको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले बताएका छन् ।
बैतडी: पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ । न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो । सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् । विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो । नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् । २०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । यो खबर आजको गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
पोखरा: विश्वकै अग्लो उचाइमा रहेको दाबी गरिएको मुस्ताङको लोवाथाङ मुस्ताङ गल्फ कोर्समा भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित मुस्ताङ लोवाथाङ मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुन लागेको जानकारी दिएको हो । खेलकुदलाई पर्यटनसँग जोड्नका लागि लोवाथाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर दोस्रो संस्करणको गल्फ च्यालेन्स आयोजना गरिएको पूर्व प्रदेश सांसद इन्द्रधारा विष्टले बताए । ‘वर्षायाममा पोखरा लगायत तल्लो क्षेत्रमा, असार देखि असोजसम्म गल्फको मौसम छैन, यसैलाई ध्यान केन्द्रीत गर्न मुस्ताङ पुग्ने पर्यटकलाई जोड्न पनि गल्फ कोर्स निर्माण गरेका हौं, विष्टले भने, ‘खेलकुदलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ त्यसैलाई पूरा गर्न दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गर्दै छौं ।’ उनले दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भएपछि भारतको पूर्वी सिक्किममा रहेको याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्ने बताए । ‘लोवाथाङ स्थित मुस्ताङ गल्फ कोर्स समुन्द्र सहतबाट ४६४५(१५२३९.५ फिट) उचाईमा रहेको छ’, उनले भने, ‘यस कोर्समा दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भए, भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको (३९७०) याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्दै विश्वको उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा दर्ज हुनेछ ।’ भारतको पूर्वी सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिदै आएको छ । लोवथाङस्थित मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ कोर्स सम्पन्न भए ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा दावी गर्दै ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज गर्ने तयारी गरिएको छ । भदौं ३० गते हुने दोस्रो संस्करणको गल्फ च्यालेन्समा काठमाडौं, पोखरा धरान र बुटवल लगायतका ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् जसमा ४ जना महिला रहेको आयोजकले जनाएको छ । इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने पूर्वसांसद विष्टले बताए ।
पोखरा: पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । तिज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको सुर्य चन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले जानकारी दिइन् । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् । उनका अनुसार कार्यक्रममा स्रस्टाहरुलाई सम्मान समेत गरिनेछ । २०५१ सालदेखि निरन्तर सक्रिय समाजले गर्ने उक्त तिज विशेष कार्यक्रम पोखरा ५ मा रहेको मालेपाटन खेल मैदानमा हुनेछ ।
नगेन आर्ट एकेडेमीको आयोजनामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको एकेडेमीकै हलमा आजबाट चित्रकला प्रदर्शनी सुरु भएको हो । सो प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले कलाकार राष्ट्रको गहना भन्दापनि यो मानव शरीको महत्वपूर्ण अंग आखाँको रुपमा आफुले लिएको बताउनुभएको छ । उहाँले शब्दले बयान गर्न नसकेका धेरै कुराहरु चित्रले बोल्ने गरेको बताउनुभयो । “शान्ति, पर्यटन र कला प्रर्वद्धन” भन्ने मूल उद्देश्यसहित स्थापित यस नगेन आर्ट एकेडेमीले आयोजना गरेको यस चित्रकला प्रदर्शनी कार्यक्रम निकै उत्कृष्ट रहेको बताउँदै आसोज २० गतेसम्म सञ्चालन रहने यस प्रदर्शनी कार्यक्रमको लागि शुभकामनासँगै सफलताको कामना समेत गर्नुभएको छ । त्यस्तै उद्योग महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अन्तर्राष्ट्रिय स्तरमा चित्रकलाको महत्व भएको तर नेपाल जस्तो कला–संस्कृतिमा धनी भएको राष्ट्रमा कलाको उजार गर्नको लागि सरकारले अझै पहल गर्न नसक्नु दुःखद भएको बताउनुभयो । तर यस नेगन आर्ट एकेडेमीले राजधानी बाहिर रहेर यस क्षेत्रको विकासका लागि केही गर्ने उद्देश्यसहित स्थापना भई विभिन्न समयमा आयोजना गर्दै आईरहेको यस्ता प्रदर्शनी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गरेको जानकारी दिनुभयो । प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना होइन अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै नेपाल ललितकला बिकास बोर्डको आवश्यक भएको र प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्नुभयो । यस्तै नगेन न्युज पब्लिकेशन प्रा।ली।का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले विकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुने गरेको तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै जसका कारण चित्रकला प्रदशनीमा समस्या भएको भन्दै नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेका कला अब कहाँ प्रदर्शर्नी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । तेस्रो राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्दासम्म पनि कुनैपनि सरकारी निकाय र यससँग सम्बन्धीत निकायहरुबाट चासो नदिएकोमा दुःख समेत व्यक्त गर्नुभयो । सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको यस प्रदर्शनी असोज २० गतेसम्म सञ्चालन हुनेछ । यस प्रदर्शनी कार्यक्रमको समुद्घाटनमा स्वागत एकेडेमीका सल्लाहकार कृष्ण रानाभाट र धन्यवाद विद्यार्थी शिला घिमिरेले गर्नुभएको थियो । यस प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय नेटवर्क रहेको छ । प्रदर्शनीमा गोपाल श्रेष्ठ–कास्की, केदार पालिखे–कास्की, पदम घले–कास्की, पारु अधिकारी–कास्की, आयान रोनियार–पर्सा, रिङ्की कुमारी बर्नवाल–चितवन, सुरेम देसार–ललितपुुर, दिल्ली कृष्ण आले–धनकुटा, रश्मी बराल–कास्की, शिव स्रिपाली–कास्की, अनमोल रिजाल–कास्की, तिलक पुन–कास्की, राजु चित्रकार–ललितपुर, चन्द्र रम्तेल–कास्की, आयुष बाटाजु–कास्की, प्रिसा तिम्सिना–कास्की, बनु माया गुरुङ्ग–कास्की, आशिया नेपाली–कास्की, अशिम घमाल–कास्की, आयुष पराजुली–कास्की, आरोन बाबु लिगल–कास्की, फियोना गुरुङ्ग–कास्की, छितिस अधिकारी–कास्की, अल्जीना राई–कास्की, सलोनी मिस्र–कास्की, स्मारिका विश्वकर्मा–कास्की, अंकिता सुनार–कास्की, सपना थापा–कास्की, बिनोद थापा–कास्की, सुजल छन्त्याल–म्याग्दी, इन्दु सेन–कास्की, भुषणक्राज भण्डारी–कास्की, शाश्वतमान श्रेष्ठ–कास्की, सानीका पौडेल–कास्की, अमन कार्की–कास्की, नरेश विष्ट–दार्चुला, मिलन थापा–भक्तपुर, तिर्थ निरौला–धरान, यश कुमार श्रेष्ठ–कास्की, रुद्र वली–कास्की, साधना ढुङ्गाना–कास्की, बुद्धि गुरुङ्ग–कास्की, गोपी श्रेष्ठ–सर्लाही, मछिन्द्र शाक्य–बाग्लुङ, सन्जिप लामिछाने–कास्की, केशर गुरुङ्ग–कास्की, नगेन सिंह–कास्की, प्रमिशा सिलवाल–कास्की, कमल नेपाली–कास्की, सोहन शर्मा–कास्की, सरहान प्रधान–धनकुटा, मिक्सेन लिम्बु–धनकुटा, कृति शाह–ललितपुर, रोविन राई–धनकुटा, आशिष अधिकारी–कास्की, सुरज सुवेदी–बाँके, वाइ।सि।भुत्तेल–कास्की, बिक्रम शिशिर–सुर्खेत, राधेश्याम मुल्मी–कास्की, सुभन्ता पौडेल–कास्की, शिला घिमिरे–कास्की, उज्जवल अधिकारी–कास्की, मिना–कास्की, नजोज्सा सिंह–कास्की, जोनाशा सिंह–कास्की, मान्या सिंह–कास्की, आयुष गुरुङ्ग–स्याङ्जा, महेश आचार्य–स्याङ्जा, रुक्साङ्ग पुन –कास्की, एल। पि गुरुङ्ग– कास्की, आयान पौडेल– कास्की, निर्भान बराल–कास्की, श्रेया हाडा श्रेष्ठ, शुश्मा श्रेष्ठ, डा। सिमा शाह , उमाशंकर शाह, रमेश खनाल, मुकेश मल्ल, पुराण खड्का, सुष्मा राजभण्डारी, जस्मिन राजभण्डारी, चन्दा श्रेष्ठ, सम्झना राजभण्डारी, शंकर शर्मा, उत्तम नेपाल, शिव प्रसाद न्यौपाने, राजेश मानन्धर, राजन खड्का, सुरेन्द्र प्रधान, महेश आचार्य, अर्जुन खालिङ्ग, एन।बि। गुरूङ्ग, मदन श्रेष्ठ, संगिता घिमिरे, नेम बहादुर तामाङ्ग प्रमोद, रमेश विकल, राजु पिठाकोट, वि।आर। श्रेष्ठ , डि। राम पाल्पाली, टिका दत्त दाहाल, भिषण राजभण्डारी, निरज चित्रकार, केशवराज खनाल, अनिता खनाल, घनश्याम गुरागाँई, गोपी श्रेष्ठ, ज्योति प्रकाश वि।क।, मञ्जु सेउला, बिपना महर्जन, हितमान गुरूङ, राजेन्द्र कुवंर, मुकेश ताम्राकार, सुष्मा भट्ट, नगेन सिहं, विशाल राना मगर, सन्तोस राई, राजेन्द्र नापित, नकुल विश्वकर्मा, सुदिन श्रेष्ठ, कर्ण दुरा, यदु बलामी, श्यामा रम्तेल बाबु, प्रमीला लामा, कृष्ण देव महर्जन पुजा, किशोर नर्कर्मी, कृष्ण राउत, राम बहादुर ठाडा, देबेन्द्र पाण्डे, विक्रम तामाङ, सुमन शाक्य रहेका छन् ।
काठमाडौं: संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ । आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सैन्य अभ्यास भक्तपुरको नगरकोटमा हुनेछ । उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यास भइसकेको छ । अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुनेछ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ । नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन तालिम गर्दै आएको छ ।
नवलपुर जिल्लाको बुलिङटार वडा नंं २ मेलौरीका टेक बहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न थाल्नु भएको छ। पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाँडा पालनमा भविष्य देख्नु भएको हो । दुई बर्ष साउदीको होटलमा वयटर र साढे तीन बर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेको बताउँदै उहाँले विदेश छोडेर परिवारसंगै वसेर उन्नत जातका भैसीका पाडा पाल्न शुरु गरेको जानकारी दिनुभयो । कालिगण्डकी करिडोरको आशपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउदै गरेको अवस्थामा भेटिनु भएका लुङदेलीले रासससंग भन्नुभयो, “एक बर्षअघि दुई लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडा मध्ये एउटा मरेको र हुर्केका १० वटा विक्री गरेर छ लाख भन्दा बढी आम्दानी गर्ने लक्षय छ ।” “नलवपुरको डेढ गाउँ र आशपासमा सवै भन्दा बढी राँगाको मासु विक्री हुने गरेको छ” ३५ बर्षीय लिङदेलीले भन्नुभयो, “प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।” मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दुख सम्मेर स्वदेशमा नै केहीगर्ने सोच बनाएर फर्केको बताउँदै उहाँले परिवारले समेत विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन शुरु गरेको बताउनुभयो । हुर्केका राँगाको मासु विक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाईदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लावन्दि गरेको खेतमा यतिखेर दोव्वर धान उत्पादन भएको उहाँले बताउनुभयो । साना गरा हुँदा खर्च बढि हुने र मल बगाउने र पानी समेत नपुग्ने दुखेसो सुनाउँदै उहाँले थप्नुभयो, “ठुरा गरा र प्रसस्त पशुको मल राखेपछि एक हप्तासम्म पनि पानी अडिने गरेको छ ।” खेतमा धान निक्कै राम्रो भएको छ गोड्ने समयमा मात्र युरिया मलको प्रयोग गरेको उहाँको भनाई छ । उहाँले राँगासंगै दुई हल गोरु पनि चराउँदै आउनु भएको छ । गोठमा चारवटा बाख्रा र दुईवटा खशी रहेका छन् । सो क्षेत्रमा अहिले पनि खेत वारी जोत्नका लागि ट्रयाक्टर भन्दा गोरुको प्रयोग बढी हुँने गरेको छ । उहाँको सो क्षेत्रमा १२ हलको खेत र दुई हलको वारी रहेको छ । कालिगण्डकी करिडोले पूर्व पश्चिम राजमार्गको गैडाकोटस्थित कालिगण्डकीचोक र तनहुँको घिरिङ हुदै भिममादसम्मको बाटो खुलेपछि उक्त क्षेत्रको उर्वर फाँटमा उत्पादित कृषि उत्पादन बजारिकणमा सुविधा पुगेको छ, कोरला, पोखरा–त्रिवेणी सडक सञ्चालन हुन सके यस क्षेत्र सहित गण्डकी प्रदेशको समृद्धिको आधार बन्ने उहाँको विश्वास छ । दुधको लोभले पाडापाडी नहुर्काउने र भारतवाट लाखौ रुपैयामा तिरेर भैसी खरिद गर्ने हाम्रो समाजमा यस्ता विदेशबाट फर्केर व्यवसायिकरुपमा पाडापाडी पाल्ने युवालाई तीनै तहका सरकारवाट प्रोत्साहन गरिनु पर्नेमा स्थानीयको सामुहिक आवाज रहेको छ ।