लुम्बिनी: लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा उल्लेख छ । रासस
काठमाण्डौ: भन्सार छली लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन एअरलाइन्समार्फ दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छली अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डौ महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा त्यो परिमाणको सुनसहित तत्काल फेला पारेर पक्राउ गरेको थियो । यसैगरी यस विषयमा थप सोधुपछ एवम् अनुसन्धानका क्रममा जगत लामा र मिङमा दोर्जे स्यान्तानलाई काठमाण्डौ महानगरपालिका–१५ ढल्कुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बाग्मती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरन पठाएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए। सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एड्भान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरूप हस्तान्तरण गरेका हुन्। राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएकाबेला हस्तान्तरण गर्न पाउँंदा खुशी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए। ‘फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन्। त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ,’ बीपीको सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ। सुस्तगतिमा हुने प्रगतिले संघर्ष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ।’ प्रजातन्त्र राजनीतिक प्रणालीको रूपमा वा जीवन पद्दति प्रयोगको रूपमा यी देशहरूमा परीक्षणको रूपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गरेका छन्। राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए। उनले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका थिए।
बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ। भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो। भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ। मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको बताइएको छ।
डोल्पामा मंगलबार भेटिएको शव गुल्मपति बिमल पण्डितकै भएको पुष्टि भएको छ। मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीयहरूले फेला पारेका थिए। लगत्तै उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए। डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। ‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं। धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिए। सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए। डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए। ‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ। वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ।’ सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ। उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन्। चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ। त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए। लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए। गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो। उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए। गाडीमा चढेका बेला उनको दुई–तीन पटक फोन आएको थियो। सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन्। उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो। सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पुर्याइदेउ’ भनेका थिए। तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ। ‘उहाँको मोबाइल ७ः१५ बजेसम्म एक्टिभ देखिएको थियो। त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने।
काठमाडौँ: अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको हो । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गहना चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरेको छ । पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी गरेको आरोपमा पर्सागढी नगरपालिका स्थायी घर भएकी शिवदेवी चौधरी र चोरी गरेको गहना लुकाउन सहयोग गरेको भन्दै एक मोवाईल पसलका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको हो । गएको भदौ २५ गते पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी भएको निवेदनपछि सोही आवासमा काम गर्ने व्यक्तिलाई सोधबुझ गर्दा चोरी गरेर मोवाईल पसलमा लुकाउन दिएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: भारत एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेलालागेले ४६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहेपनि जिताउन सकेनन् । दुनिथले बलिङमा पाँच विकेट समेत लिएका थिए । धनन्जय डि सिल्भाले ६६ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले उत्कृष्ट सुरुवात दिलाएका थिए । बुमराहले तेस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसांकालाई विकेटकिपर लोकेश राहुलबाट ६ रनमा क्याच गराए । बुमराहकै बलमा कुशल मेन्डिस १५ रनमा वैकल्पिक फिल्डर सूर्यकुमार यादवबाट क्याच आउट भए । मोहम्मद शिराजले ओपनर दिमुथ करुणारत्नेलाई फस्ट सिलिपमा शुभमन गिलबाट २ रनमा क्याच गराएपछि श्रीलंका ७.१ ओभरमा २५-३ को अवस्थामा पुगेको थियो । सदिरा समाराविक्रमा ३१ बलमा १ चौकासहित १७ रनमा राहुलबाट स्टम्पिङ आउट भए । कुलदीप यादवको बलमा ठूलो सट खेल्ने धुनमा उनी मिस भएपछि आउट हुन पुगेका थिए । चरिथ असलंका ३५ बलमा २ चाकासहित २२ रनमा कुलदीपकै बलमा आउट भए । रविन्द्र जडेजाले कप्तान दासुन शानकालाई फस्ट स्लिपमा रोहित शर्माबाट ९ रनमा क्याच गराएपछि श्रीलंका २५।१ ओभरमा ९९(६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि धनन्जय डि सिल्भा र दुनीथले ७५ बलमा ६३ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाको बलमा डि सिल्भा मिडअनमा गिलबाट क्याच आउट भए । सिल्भाको विकेटसँगै जितको सम्भावना लगभग समाप्त भएको थियो । भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेन । युवा स्पिनर दुनिथ वेलालागे र पार्टटाइम स्पिनर चरिथ असलंकाले सानदार बलिङ गर्दै मध्यम योगफलमै रोकेका थिए । दुनीथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै भारतको साझेदारीमा ब्रेक लगाएका थिए । भारतका शीर्ष चार ब्याटरलाई आउट गर्दै दुनीथले श्रीलंकालाई खेलमा हाबी बनाएका थिए । दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो । अर्को एन्डबाट असंलकाले उत्कृष्ट बलिङ गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए । असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए । श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । यी दुबै स्पिनरको करिअरको उत्कृष्ट प्रदर्शन हो । अर्का स्पिनर धनन्जय डि सिल्भाले विकेट लिन नसकेपनि १० ओभरमा मात्रै २८ रन खर्चेर दबाबमा राखेका थिए । स्पिनर महेश थिक्सेनाले ९.१ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सुपर सिक्स खेलमा भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले रहाएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बंगलादेश सुरुवाती दुई हारका साथ फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नागबेली मार्ग बस्ने २५ वर्षीय बाल आले र सिराहा घर भई हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ रहेका छन् । उनीहरुलाई गत २५ गते बजे पोखरा महानगरपालिका वडा नं. १५ नागबेली मार्गमा लागुऔषध विक्री गरिरहेका सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ । हाल जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।