पोखरा: पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो । तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो । विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । उनले भने,‘सहभागि हुन चाहनेका लागि फर्म भर्न शुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ ।’ फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ । प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने संघका अध्यक्ष गुरुङले स्पष्ट पारे । प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियोपनि फर्म भर्ने मिति असोज ३ गतेसम्ममा नै ल्याईसक्नुपर्ने अध्यक्ष गुरुङले बताए । त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु वीच सोमवार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’ गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’ आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारलेपनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए । विकसित देशहरुमापनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिती थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आईतवार र सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
काठमाडौं: कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्याएको हो । प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समय बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताउनुभयो । अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरूमा पनि क्षति पुगेको थियो । मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३र११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।
काठमाडौं: भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पकोे असर माराकेशसहित अन्य धेरै सहरहरुमा पनि परेको छ । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् । मोरक्कोमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो ।
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । म्यानमारको यंगोन अन्तराष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । यि दुई टोलीबीच शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अन्जन विष्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गर्ने मौका गुमाएका छन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । अन्जनको १२ गोल छ । सोही खेलमार्फत त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । अर्को महिना लाओसविरुद्ध हुने विश्व कप छनोटको तयारीको सिलसिलामा नेपालले फिफा डेटमा मैत्रीपूर्ण खेल खेलेको हो ।
पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी बिद्यालयस्तरिय पहिलो ५ र ५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ । फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए।पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १० हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे। मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।
(बाँके) : बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उहाँले बताउनुभयो । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस
बैतडी: अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतवार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । ढुङ्गा फुटाउन बझाङबाट मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ुठूलो ढुङ्गा फुटाउन नसक्दा गाडी बीच बाटौमै रोकिएका छन् । आइतवारदेखि यो राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडक खण्डको गुरुखोला नजिक रुख खस्दा सडक अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । राजमार्ग अवरुद्ध भएर गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिवारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताउनुभयो । “सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो, “यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिनुभयो । “सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुनसकेको छैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।” उहाँका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।