कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरी खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित हुनुभएको छ । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उहाँले बताउनुभयो । ‘बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजार रुपैयाँभन्दा बढी खर्च गरेर धान रोपेको थिएँ,’ तमोलीले भन्नुभयो, ‘गएराति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ ।’ पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रवार साँझ सात बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन दिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन्। ‘धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्,’ धामीले भन्नुभयो, ‘खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ ।’ हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् । ‘खेतमाा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ,’ जङ्गी साउदले भन्नुभयो, ‘हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन्।’ वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो । ‘हात्तीलगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसको सुनवाइ हुनसकेको छैन ।’नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो । यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेश सभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्याएको स्थानको अवलोकन गर्नुभएको छ । मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् । मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्याउँदै आएको छ ।
विराटनगर: सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएकाे थियाे । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक आम्दानी गरेको छ । अन्तरराष्ट्रिय उडानबाट पहिलो कमाई स्वरुप १ लाख २६ हजार आम्दानी गरेको हो । अहिलेसम्म पोखरा एयरपोर्टबाट अन्तरराष्ट्रिय उडान भरेको छ । नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरको चार्टर्ड अवतरणसँगै आम्दानी भएको हो । उक्त जहाजका ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी भएको लालकर्णले बताए । ‘एकजना उड्दाखेरी तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो,’ उनले भने । विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने नहुने बताइएको छ । यो समाचार बाह्रखरीमा विशन क्षेत्रीले लेखेका छन् ।
दार्चुला: दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । हिजो (शुक्रवार) दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ । दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्। तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयो । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयो । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्। तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डर आउट पोष्ट स्थापना गर्न गएको टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् ।
डोटी: डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् । शुक्रवार हिजो दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति सूर्य विनायक नगरपालिका(८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश नं ३–०२–००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् । घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भई ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।
गण्डकी: लेखक प्रगति राईको उपन्यास कृति ‘थाङ्ग्रा’ माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले सम्वाद गर्नुभएको थियो । प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैङ्गिक समानताको मुद्दालाई पुस्तकमा उठाएको बताउनुभयो । “खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ”, उहाँले भन्नुभयो, “उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।” दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको कथा कम आइरहेको देखेर आफू पात्र खोज्दै बैतडी पुगेको उल्लेख गर्नुभयो । उहाँले जन्मिँदै निर्वासित भएर जन्मनुपर्ने विवश महिलाको वंशको अधिकारबारे उपन्यासमार्फत आवाज मुखरित गर्ने प्रयास गरेको धारणा राख्नुभयो । लेखक राईले महिला–पुरुष दुवैको समान हक र स्वतन्त्रताका पक्षमा आफू सधैँ उभिइरहने बताउनुभयो । पूँजीवादले महिलाई बन्धनमा राखेको भन्दै त्यसकाप्रतिको विद्रोहका रूपमा पनि ‘थाङ्ग्रा’ उपन्यासलाई लिन सकिने उहाँको भनाइ थियो । आयोजक संस्थाका अध्यक्ष गीता लामिछाने विष्टले नेपाली समसामयिक र ज्वलन्त मुद्दालाई लेखक राईले उपन्यासमा लिपिबद्ध गरेको बताउनुभयो । “महिला, दलित र सीमान्तकृत समुदायको आवाज पुस्तकमा मुखरित भएको छ, सामाजिक परिवेशको जीवन्त चित्रण यस उपन्यासमा पाइन्छ”, उहाँले भन्नुभयो । सहजकर्ता बस्नेतले महिलाका मुद्दामा लेखिएको ओजिलो कृतिका रूपमा ‘थाङ्ग्रा’लाई लिनुभयो । उहाँले उपन्यासको कथानक र पात्रले आफूलाई प्रभावित बनाएको धारणा राख्नुभयो । “पुस्तकमा हास्य रस पनि उत्तिकै भेटिन्छ, पढ्दै जाँदा कथाले आफैँ डो¥याउँछ”, बस्नेतले भन्नुभयो, “भाषाको छनोट र शिल्पले पनि पुस्तकलाई सरल बनाएको छ ।” लेखक राईको सो उपन्यास मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा परेको कृति हो । राईका यसअघि ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ लगायत कृति प्रकाशित छन् ।
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथन ‘१८ औं पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन् । १८ औं संस्करणको दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ । सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकाश बैंक ली।, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, वोष्टनरन्यू ह्याम्पशायर नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, चन्द्र गुरुङ अस्ट्रेलिया, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङ, हिमा अस, केल्मी, एक्सटेप नेपाल स्पोर्टस वेयरलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । त्यसै गरि १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् । त्यसै गरि १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए । उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको समृद्धिमा भूमिका खेलेको छ । १८ औं संस्करणमा सबै कुरा सहज भयो भने ५० भन्दा वढि देशका धावक पोखरा आउने छन् ।” पोखरा म्याराथनको रुट समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट रहेको र विश्वका ठूला शहरमा आयोजना हुने जस्तै गरि पोखरा म्याराथन संधै चर्चामा हुने गरेको अध्यक्ष पराजुलीले बताए । “यो हाम्रो लागि खुसीको विषय हो । अग्रज खेलाडीहरुले राष्ट्रको खेलको लागि मात्रै पसिना बगाएका छैनन् । उनीहरुले संस्था समेत स्थापना गरेर खेलकुदमा योगदान दिएका छन् भन्ने उदाहरण लाई स्थापित गरेको छ”, उनले भने । १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा कुनै फेरबेदल नगरिएको मञ्चले जनाएको छ । म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु हुने गरेको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले यात्रु लिएर पहिलोपल्ट भुटानको व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः ४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको हो । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो । भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु युरोपेली पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।