पोखरा: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि बहालवाला प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यसहित ड्राइभिङ तालिम प्रदान गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधन (कार/जिप) ड्राइभिङ तालिम प्रदान गरिएको हो । गण्डकी प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको सो तालिममा गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट–२ जना प्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना व्यक्त गरेका थिए । सो तालिममा सनराइज ड्राइभिङ इन्सटिच्युटले सहजीकरण गरेको थियो ।
पोखरा: पोखरामा छोरीसहित एक युवती सम्पर्कविहीन भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र उनकी ५ वर्षीया छोरी ऋषिका करिब २ महिनादेखि सम्पर्कबिहीन छिन् । उमा गत असार २८ गते छोरी ऋषिकालाई लिएर घरबाट निस्किएकी थिइन् । तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न कास्की प्रहरीकहाँ परिवार पुगेको थियो । अहिले कास्की प्रहरीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै देख्ने वा फेला पार्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । बेपत्ता उमा गोरो वर्णकी, पाँच फिट उचाइ, देब्रे भागमा काटेको खत रहेको र हराउँदाको बखत सेतो कुर्ता, कालो पाइन्ट तथा छोरी ऋषिकाले पहेँलो जामा लगाएको प्रहरीले जनाएको छ । उनको हुलिया मिलेको अवस्थामा निगरानी गर्न तथा लुगा फेरेको भए पनि अन्य हुलियाको आधारमा उनको पहिचान गरी फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।
गोरखा: जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको छ । २० औँ निजामती सेवा दिवसको अवसर पारेर आज शुक्रवारदेखि विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । गुनासो पेटिकाको शुरुवातले सूचना प्रविधिको विकाससँगै ई–गभर्नेन्सु को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । जिल्ला प्रशासन कार्यालयले वेबसाइट, इमेल, फेसबुक, ट्विटर जस्ता विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो । यसका साथै विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरूलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ । गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्धसरकारी निकायहरूबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो । कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । यो पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
विराटनगर: सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेकाे तयारी छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ ।
काठमाडौं: वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् । अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापना शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउदै अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गरे । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले सो अवसरमा ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गरेका थिए । कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।
काठमाडौं: नक्कली नेपाली नोटसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेकाा छन् । उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईल बरामद गरेकाे छ । स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । सो घटनाको बारेमा उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजसँगै विभिन्न कार्यक्रम जात्रा सञ्चालनका लागि ५० भन्दा बढीले प्रशासनको अनुमति लिएको जनाएको छ । कास्की प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ ५ गते प्रशासनको अनुमति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला महोत्सव आयोजना नगर्न सूचना प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा विभिन्न कार्यक्रमका लागि ५० भन्दा बढी समूहले प्रशासनको अनुमति लिएको जानकारी दिए । ‘हामीले तीज पर्वलाई मात्र होइन, दशै तिहार लगायतका चाडपर्वमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशित गछौं’, ढकालले भने, ‘प्रशासनले शान्ति सुरक्षालाई कायम गर्दै सूचना प्रकाशित भएपनि सूचनामा गलत बुझाइ रहेको पाइयो ।’ उनले हरितालिका तीज मनाउने नाममा खर्चिला कार्यक्रम गर्ने र विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन सूचना प्रकाशित गरेको दोहोर्याए । ‘शान्ति सुरक्षा दिनुको प्रशासनको कर्तव्य हो, कुनैपनि चाडपर्व मनाउने नाममा तडक भडकसहितका खर्चिला कार्यक्रम नगरी संस्कृतिको संरक्षण होस भन्ने हो’, उनले भने, ‘खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन प्रशासनको अनुमति लिएर कार्यक्रम गर्न सूचना प्रकाशित गरेका हौ ।’ कास्की प्रशासनले अनुमति नलिएका अन्य समूहलाई पनि जानकारी दिन र अनुमति लिन आग्रह गरेको छ ।