स्याङ्जा: कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्र्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो । “विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो । उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।” निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधि नागरिकले महसुस हुने गरी काम गर्ने दाबी गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो । वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढङ्गबाट छलफल गर्नका लागि अन्तक्र्रियाले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो । वालिङमा जन्मेर देशका विभिन्न सङ्घसंस्था तथा कार्यालयमा लामो समय अनुभव सँगाल्नुभएका व्यक्तिहरूका बीच सामूहिक छलफल तथा अन्तक्र्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिका रूपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैरैले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषयविज्ञले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिबद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धिहरू देखिने उहाँले दाबी गर्नुभयो । रासस
ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका(१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो। सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए। सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए। सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए। उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए। आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्।
काठमाडौँ: आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो । प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
डोटी: पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ। डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिरो र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् । शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिरो जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् । सडक विभागका अनुसार बाढी–पहिरोबाट अरु तीन वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द छन् । तानसेन–रिडी–कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द छ । त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेको हेवाखोलामा अवरुद्ध रहेको छ । गएको असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन ।
मोरक्को: मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतिको विस्तृत विवरण प्राप्त भएको छैन ।
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरी खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित हुनुभएको छ । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उहाँले बताउनुभयो । ‘बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजार रुपैयाँभन्दा बढी खर्च गरेर धान रोपेको थिएँ,’ तमोलीले भन्नुभयो, ‘गएराति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ ।’ पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रवार साँझ सात बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन दिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन्। ‘धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्,’ धामीले भन्नुभयो, ‘खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ ।’ हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् । ‘खेतमाा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ,’ जङ्गी साउदले भन्नुभयो, ‘हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन्।’ वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो । ‘हात्तीलगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसको सुनवाइ हुनसकेको छैन ।’नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो । यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेश सभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्याएको स्थानको अवलोकन गर्नुभएको छ । मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् । मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्याउँदै आएको छ ।
विराटनगर: सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएकाे थियाे । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक आम्दानी गरेको छ । अन्तरराष्ट्रिय उडानबाट पहिलो कमाई स्वरुप १ लाख २६ हजार आम्दानी गरेको हो । अहिलेसम्म पोखरा एयरपोर्टबाट अन्तरराष्ट्रिय उडान भरेको छ । नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरको चार्टर्ड अवतरणसँगै आम्दानी भएको हो । उक्त जहाजका ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी भएको लालकर्णले बताए । ‘एकजना उड्दाखेरी तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो,’ उनले भने । विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने नहुने बताइएको छ । यो समाचार बाह्रखरीमा विशन क्षेत्रीले लेखेका छन् ।
दार्चुला: दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । हिजो (शुक्रवार) दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ । दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्। तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयो । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयो । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्। तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डर आउट पोष्ट स्थापना गर्न गएको टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् ।