काठमाडौं: नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार)का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएको नेकपा (एमाले)का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।
काठमाडौं: नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो। नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको थियो ।
काठमाडौं: संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले ८राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।
जनकपुरधाम: मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सांसद यादवको आज (मंगलबार) बिहान निधन भएको हो । महोत्तरी निवासी उहाँलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
काठमाडौं: नेकपा (एमाले) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो। सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने छ। एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो।
काठमाडौं: सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने बताइएको छ । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।
काठमाण्डौ: नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
काठमाडौं: हृदयघातबाट निधन भएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको शव श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए । विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष÷सभामुख भइसकेका हुन् । उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गराएका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।
काठमाडौं: संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।