काठमाडौं:  सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गर्नुभएको हो । ...

रसुवा: रसुवागढी नाकाबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजो मितेरी पुलबाट पक्राउ परेकी हुन् ।   केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।   सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:   पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ । भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको हो ।  समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन । दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

काठमाडौं:    एसिया कपमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेले । एक समय १४.१ ओभरमा ६६-४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए । भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे । हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो । जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नसिम शाहले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

काठमाडौं:     नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ ।   प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताउनुभयो ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।   “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ” उहाँले भन्नुभयो, “कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ ।”  उहाँले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । “आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन । व्यक्ति र पार्टीको नाम मात्र फरक हो” उहाँले भन्नुभयो । 

पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।   स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।   यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।    प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।   

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हरितालिका तीजको अवसरमा पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आज शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २५ देखि २७ गतेसम्म तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने जानकारी दिएको हो । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ । तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् ।    हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।  महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ । महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।  ।

काठमाडौं:    एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ। श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्।  पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्। पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।

गण्डकी:    वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको वासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ । पोखरा उपत्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत  स्थानमा करिब १५÷१६ वर्ष अघिसम्म ठुलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर विसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर विसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वासस्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताउनुभयो । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकार भएका कारण यसको संरक्षणमा जागरूकता आवश्यक रहेको देखिएको छ । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँचरपाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ । पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइड र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । समाजले आजै तनहुँका तीन ठाउँ व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको उहाँले बताउनुभयो । 

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण, नक्सालमा सरुवा भएको छ ।  कास्की प्रहरी प्रमुख केसीको सरुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट मोहनकुमार थापा कास्कीमा आउँदैछन् । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने कास्कीसहित १४ जिल्लाका प्रमुख फेरिएका हुन् ।