काठमाडौं: असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कोशी सरकारविरुद्ध परेको रिटमा आज शुक्रवार हुने भनेको सुनुवाइ स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएपछि रिट परेको हो । यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेशसभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै कोशी सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । अन्तरिम आदेशसँगै आजका लागि पेसी तोकिएको थियो ।
काठमाडौं: आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो । नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले अविजित २ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो । बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।
सिन्धुपाल्चोक: नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाउनुभएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
पर्वत: पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन । वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।
काठमाडौं: नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ । पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।
गोरखा: पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।
भोजपुर: भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्र मानिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम निरन्तर छ ।
काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।
पोखरा: ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको मृत्यु भएको दुई दिनपछि फेरि मोटरसाइकलको ठक्करबाट अर्का युवतीले ज्यान गुमाएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कास्की प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिव पाठकका अनुसार पोखरा १० अमरसिंहचोकमा हिजो (बुधबार) बिहानै मोटरसाइकलले ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारको मृत्यु भएको हो । मर्निङ वाक हिडेकी उनलाई हिजो (बुधबार) बिहान करिब ५ बजे पृथ्वीचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले पैदल यात्री दनुवारलाई ठक्कर दिएको थियो । घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो । दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँ म्याग्देकी २० वर्षीय वर्षा कुमालको घटनास्थलमै मृत्यु भएको थियो । क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान मृतक सविताको श्रीमान् दीपेन्द्र दनुवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाने बताए । उनका अनुसार अहिले सविताको शव मणिपाल अस्पतालमा छ । उनले मोटरसाइकल चालकको लापरबाहीको कारण आफ्नो श्रीमतीले ज्यान गुमाउनुपरेको बताए । ‘मोटरसाइकल चलाउनेको चरम लापरबाही देखिएको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको छु । घरमा दुइटा सानो बच्चा छ । हामी ज्याला मजदुरी गरेर छाक टार्ने परिवार हो, उनले सुनगाभा न्यूजसँग भने, ‘कानून बमोजिम चालकलाई कारवाही र उचित क्षतिपुर्ति नपाएसम्म बुढीको शव उठाउदिन ।’ उनले क्षतिपुर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शुक्रबार धर्ना दिनेसमेत बताए । ‘गाउँबाट आफन्तहरुलाई बोलाइसकेछु । भोलि धर्ना दिने तयारी छ । मोटरसाइकल चलाउने नेपाली कांग्रेसको नेताको मान्छे भन्ने सुनेको छु । हामीलाई उचित क्षतिपुर्ति चाहिन्छ, नत्र राँको बाल्छौ,’ दनुवारले भने । पोखरा १० बुद्धचोकमा बस्दै आएको दनुवार परिवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् ।