बमजनलाई सर्लाही अदालतमा पेस गरिँदै
सर्लाही | पुस २६, २०८०
सर्लाहीः ‘लिटल बुद्ध’ समेत भनेर चिनिने रामबहादुर बमजनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउने या नआउने अनिश्चित भएपछि राति नै सडकमार्ग भएर सर्लाही ल्याइएको हो । राति कडा सुरक्षाका बिच सडकमार्ग हुँदै बमजनलाई सर्लाही ल्याइएको हो ।
बमजनलाई अहिले सर्लाहीको जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ नेपाल प्रहरीको केन्द्रीय असन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको बूढानीलकण्ठमा आफ्नै घरबाट पक्राउ गरेको थियो ।
बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बमजनको जीवनशैली अपत्यारिलो छ ।
‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताउनुभयो । प्रहरीले बमजन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाससमक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले जानकारी दिनुभएको छ ।
प्रहरीले मुद्दाको मिसिल बुझाइसकेकाले थुनछेक बहस तत्कालै सुरु हुने सर्लाही जिल्ला अदालतले जनाएको छ । बमजन सर्लाहीको चुरे भेगमा पर्ने लालबन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा पनि केही वर्ष बसेका थिए ।
स्थानीयका अनुसार बमजनको आश्रम अहिले सुनसान छ । कहिलेकाहीँ केही अनुयायी आउजाउ गर्ने गर्छन् । बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थरकोटमा रहेको सो आश्रममा पटक–पटक छापा मारेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

