काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ । रासस
चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ । “हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भन्नुभयो– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।” गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ । निकुञ्जभित्र ६७ पोष्ट छन् । निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोष्टबाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ । कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन् । वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ । रासस
सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान साढे ३ बजे दोलखाबाट काठमाडौं आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिओ गाडी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ पाँचकिलोस्थित जिरी(लामोसाँघु सडक खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार गाडी अनियन्त्रित भई घुम्ती सडकबाट अन्दाजी तीन यस मिटर तल सडकमा खसेको थियो। दुर्घटनामा परी चालक काठमाडौंको नागार्जुन नगरपालिका(४ का ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खाडीचौरको सिन्धु सदाबहार अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुरघटनामा अन्य ४ जना घाइते भएका छन्। रामेछापको उमाकुण्ड गाउँपालिका- २ का ३७ वर्षीया संगिता बराइली, उनकी ८ बर्षीया छोरी युशा बराइली, रामेछापकै गोकुलगंगा गाउँपालिका-१ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका-७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इन्सपेक्टर यादवले जानकारी दिए। दुर्घटनाग्रस्त गाडी सडकमै रहेकाले सवारीसाधन एकतर्फी सञ्चालनमा छ। गाडी हटाएर सडकलाई दुइतर्फी सञ्चालनमा ल्याइने इन्सपेक्टर यादवले जानकारी दिए।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ । पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता समयसीमा थप गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ । आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना दिएकामध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाका आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिनेछ । सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिनेछ । कार्ययोजनासहितको व्यक्तिगत विवरण पठाउन पार्टीको इमेल ठेगानाको व्यवस्था गरिएको छ । रासस
काठमाण्डौ: काठमाण्डौको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
रसुवा: रसुवागढी नाकाबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजो मितेरी पुलबाट पक्राउ परेकी हुन् । केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ । भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको हो । समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन । दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।
काठमाडौं: एसिया कपमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेले । एक समय १४.१ ओभरमा ६६-४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए । भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे । हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो । जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नसिम शाहले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।
काठमाडौं: नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेको उहाँको भनाइ छ । “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ” उहाँले भन्नुभयो, “कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ ।” उहाँले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । “आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन । व्यक्ति र पार्टीको नाम मात्र फरक हो” उहाँले भन्नुभयो ।