काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

पोखरा:   पोखराको प्रतिष्ठित सहारा क्लबले गत वर्षको पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ ।   पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) गत वर्ष सम्पन्न २२ औं आहा ! रारा पोखरा गोल्डकप २०७९, फूटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।   क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको बताए ।    उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।   कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।   सहारा क्लबले ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नारासहित क्लबद्वारा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई सहयोग गर्दै आएको छ ।  

पोखराः   सधैं झै तनहुँका १६ वर्षीय युनिश थापा साउन ३० गते पनि झोला बोकेरै स्कुल गए ।   विज्ञान विषयको गृहकार्य (होमवर्क) नगरेपछि सजायस्वरुप सय पटक उठबस गरे । पछि गणित विषयको समयमा सोही कक्षाकै एकजनासँग झगडा गरेपछि थापालाई गणित शिक्षकले फेरि उठबसको सजाय सुनाए । त्यसपछि सजाय भोगीरहेका युनिश १ सय पटक गर्दै गर्दा एक्कासी ढले ।   यो घटना तनहुँको ब्राइट फ्युचर स्कुलको हो । स्कुल अवधिमै ढलेका थापाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको खुल्न आएको हो । अस्पतालको रिपोर्टका अनुसार  युनिशको पिसाबमा रगत देखिएको, खुट्टाको मसल च्यातिएको र कलेजोमा समस्या देखिएको उनका आमा सुनिता खत्री थापाले बताइन् ।   ‘विद्यालयमा झगडा र होमवर्क नगरेको भन्दै सजाय दिँदा अहिले बाबुको स्वास्थ्यमा असर परेको छ’, खत्री थापाले भनिन्, ‘विद्यालयमा दिएको सजायको कारण नै बाबु राम्रोसँग बस्न र ट्वाइलेट बस्न पनि नसकेपछि भदौ १ गते अस्पताल भर्ना गरेको हो । अहिले उपचार पछि घर फर्किएका छौं ।’ विद्यालयमा सजाय पाएकै कारण युनिश साउन ३१ गते विद्यालय जान नमानेपनि फकाएर विद्यालय पठाएको सुनिताले सुनाइन् । उनका अनुसार ३२ गते झन् गाह्रो भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । युनिश ६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका छन् । विद्यालय प्रशासनसँग सो विषयबारे बुझ्दा प्रशासन शाखामा कार्यरत कर्मचारी मनिषा थापाले भनिन्, ‘होइन त्यो बच्चा आफै के–के लागुपदार्थ सेवन गर्ने गरेको, बाबामम्मीले पोखरामै कता कता लानुभको र नसकेर पोखराको स्टुडेन्ट यहाँ लिएर आका हुन् के उल्लाई ।’ तर विद्यालयमा दुईजनाबीच झगडा भएपछि शिक्षकले उठबस गराउन लगाएको भने उनले स्वीकारिन् । ‘त्यो बाबुचाँही क्लासमा आफ्नो साथीसँग झगडा गरिराको रैछ । टाउकोमा हानाहान गरिरराको रहेछ । त्यसपछि उनीहरुलाई गणित शिक्षकले सक्छौ भने उठबस गरन भनेपछि गर्दै गर्दा १ सय चोटीमा उ ९युनिश थापा० लडेको हो,’ उनले भनिन् । दुई विद्यार्थीबीच कुटाकुट गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको उनले बताइन् । ‘विद्यालयमा यस्तो घटना भएको भनेर जानकारी आएपछि सिसीटिभी हेर्दा फुटेजमा त्यो रेकर्ड देखिएको छ’, ति कर्मचारीले भनिन्, ‘घटना भएको भोलिपल्ट विद्यार्थी विद्यालय आएपनि त्यसपछि विद्यालयमा आएका छैनन् ।’

मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल जुध्दा  एक जना चिकित्सकको मृत्यु भएको छ।   दुर्घटनामा  सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।    मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित  ओम  सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार  प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई   प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।    ‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’, डिएसपी दाहालले भने।   उनका अनुसार टिपर चालक झापा  मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 

पोखरा:     समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा ‘माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ । माओवादी केन्द्रका  सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिनुभयो । “प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।” 

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।    कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।   दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौ: बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाण्डौ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयबासिन्दाले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् ।   बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाण्डौ उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।   समितिका संयोजक श्रीराम ढुङ्गानाले स्वच्छ रूपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको भन्दै काठमाण्डौ महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा आपत्ति जनाउनुभयो ।   समितिका उपसंयोजक सुमित्रा ढकालले समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाइ व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन त्यही पालिकामा हुनुपर्नेमा जोड दिनुभयो । ककनी गाउँपालिका–२ का कार्यवाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट नागरिकलाई टाढा राख्न सबै एकजुट हुन आग्रह गर्नुभयो ।   समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शीघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहतमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने माग राखेका छन्। 

काठमाण्डौ:  आज प्रतिनिधि सभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।   आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ ।   आजको बैठकमा  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।

पोखरा:   पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ ।  ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।      पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।  ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

पोखरा: पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए । सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो । सौगात पछिल्लो समय व्यवसायमा सक्रिय छन् । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको छ । ट्रेडमलमा व्यवसायीलाई आकर्षण गराउन प्रविधिमैत्री वातावरणलाई आत्मसात् गरिने उनले बताए । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरउन्नतिमा लागि पर्नेछु’, उनले भने,‘ट्रेडमलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्य सहित काम गर्न प्रतिबद्ध छु ।’ मिनराज काफ्लेले ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा युवा व्यक्तित्वलाई नियुक्त गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । सौगात सयौं युवाहरुको प्रेरणा बन्न सक्ने भनाई उनको छ । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराई नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले लिएका छन् । पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्येमा पर्छ । जहाँ ५ सय ४ सटरहरु छन् । ट्रेडमलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तिय संस्था, रियलस्टेट, हस्पटालिटी क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । यस्तै यो समूहले अंशुभरा एग्रोफर्म समेत संचालनमा ल्याउने तयारी गरिरहेकोे छ ।