काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

पोखरा:  पोखरामा तीन वटा लायन्स क्लवको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  शनिबार साँझ एक विशेष कार्यक्रमकाबीच लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो ।    गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले , पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद लम्सालले र गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठलाई मोहन अधिकारीले पदभार हस्तान्तरण गरेका थिए । पदस्थापनपछि बोल्दै लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउनका लागि स्वास्थ्य सचेतना कार्यक्रम, लायन्स क्वेष्ट कार्यक्रम, न्यानो कपडा वितरण, स्टेसनरी वितरण, भईपरि आउने विपत्तिमा सहयोग तथा राहत लगायत कार्यक्रम निर्धारण गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।  त्यस्तै लायन्स क्लव अफ पोखरा पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीले आफ्नो क्लवमा सबै क्षेत्रमा आवद्धता भएका सदस्यहरुको रहेको भन्दै उनीहरुको मनोभावनालाई समेटेर कार्यक्रम गर्नेे प्रतिवद्धता व्यक्त गरे । उनले यसअघिका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप रचनात्मक कार्यक्रमहरुपनि आफ्नो कार्यकालमा सञ्चालन गर्ने योजना रहेको सुनाए ।  कार्यक्रममा लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठले क्लवले आधा दर्जन बढी कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको जानकारी दिए । उनले गत वर्षजस्तै बाँकी रहेका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।    कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ एमका डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले तीन वटै क्लव सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव अध्यक्ष तथा पदाधीकारीहरुको प्रशंसा गरे । उनले निवर्तमान अध्यक्षहरुले जस्तै गरि कार्यक्रमलाई निरन्तरता दिन कुनै कन्जुस्याईं नगर्न आग्रह गरे ।    कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर चण्डीप्रसाद अर्याल, द्वितिय डिष्ट्रिक्ट भाइस गभर्नर धनिराम बराल, डिष्ट्रिक्ट चिफ एड्मिनिस्टेटर किशोर बराल, पीआरओ दीपक खरेल, को–चिफ एड्भाइजर शिवराज आचार्य, चिफ अफ कन्स्यूलर उमानाथ बराल, जिएटी कोअर्डिनेटर चुणामणी बराल लगायतले क्लवहरुले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।   पहिलो सत्रको कार्यक्रमको अध्यक्षता पोखरा बिरौटा साझा चौतारीका निवर्तमान अध्यक्ष कल्पना आर्याल र दोश्रो सत्रको लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जोन चेयर पर्सन गिता पराजुली र धन्यवाद ज्ञापन रिजन–९ का रिजन चेयर पर्सन भोजराज बराल, झण्डाको अभिवादन गलेस्वर सेन्चुरी र कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा हिमालय सिटीका पूर्व अध्यक्ष एवं सिनियर एड्भाइजर गोविन्द काफ्लेले गरेका थिए । 

काठमाडौं:  नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो ।   कांग्रेस कार्यालय, सानेपामा भदौ २४, २५ र २६ गतेसम्म हुने महोत्सवमा १२ वटा सेसन हुनेछ ।   महोत्सवका संयोजक एवं कांग्रेस महमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने तय भएको छ ।   प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महोत्सवका क्रममा हरेक दिन साँझ क्रमशः कविता, गजल र सांगीतिक साँझ हुनेछ भने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुनेछ । बीपी, लोकतन्त्र र कांग्रेससँग जोडिएका वृत्तचित्र र केही तस्वीर प्रदर्शन पनि हुने उनले जानकारी दिए ।

पोखरा:   नेवा: खल: कास्कीले २०५६ सालदेखि नियमित गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता २०८० को आयोजना गर्ने जिम्मेवारी यसपटक रानीपौवा ताया: मचा नाच समितिले पाएको छ ।   सो समितिले आगामी १६ गते शनिबार पोखरा महानगरपालिका ११ स्थित रानीपौवामा नृत्य प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   प्रतियोगिता सम्पादन समितिका मुल संयोजक इश्वर प्रसाद कर्माचार्यले सो प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।   प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले नगद रु ३ लाख १ रुपैयाँ प्रदान गरिने संयोजक कर्माचार्यले बताए । उनका अनुसार द्वित्तिय हुने समुहले २ लाख १ रुपैयाँ हाप पार्नेछ भने तृतीय स्थान हाँसिल गर्ने समुहले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना स्थान गर्ने टिमले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।   यस्तै महिलातर्फ प्रथम र द्वित्तिय हुने समुहले क्रमश  ४० हजार १ रुपैयाँ र २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।    उक्त पुरस्कारराशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।   प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्यालेले अनुसार सो परिवारले हरेक वर्ष १० लाख सहयोग गर्ने सम्झौता भएको बताए ।   प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित समाग्री तथा र खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए  ।   ताया: मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना हुने नेवा:खल: कास्कीले जनाएको छ ।   

पाेखरा: भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भुटानकाे ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।   जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।   अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।   अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

काठमाण्डौ:  सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ ।   प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गर्नुभयो । उहाँले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताउनुभयो ।    यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजदेखि स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो । अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ ।   तत्कालका लागि सर्वोच्च अदालतबाट स्वचालित तारेख व्यवस्थापन शुरु गरिएको र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।

काठमाण्डौ:  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका– ८ घर भइ कठमाण्डौ टोखा नगरपालिका– ३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भइ काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका– १ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भइ ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।   उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक दुई लाख रुपैयाँ तलबमा काम लगाइदिने जनाउँदै  पीडितहरुबाट पाँच लाख ४५ हजार रुपैयाँ ठगी गरेको हो ।   त्यस्तै सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी दुई लाख रुपैयाँ ठगी गरेको हो ।    यस्तै खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक ५० हजार रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी एक लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।   यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाइ सुपर मार्केटमा मसिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

पाल्पा: पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका– २ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका– १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।   मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।   मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियो।

काठमाण्डौ: सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।   सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।’ सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभइ विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइ सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरिद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गर्नुभयो ।   राष्ट्रियस्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न कार्यालयले त्यस्तो आवश्यकता महसुस गरेको जनाएको छ । त्यससम्बन्धी सुधार कार्यले प्रदेश र स्थानीय तहको खरिद क्षमतामा वृद्धि गर्ने र सबै सार्वजनिक निकायको खरिद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ ।   सार्वजनिक निकायमा सबै संवैधानिक अङ्ग वा निकाय, अदालत,सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा त्यस अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा सबै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ का प्रवधान पालना गर्नुपर्ने बाध्यता छ ।   खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ट र विश्वसनीय बनाउने उद्देश्यका साथ यस्तो कार्यहरु गर्न लागिएको सचिव रेग्मी बताउनुहुन्छ । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले यही महिनाको अन्तिम हप्ता पोखरा र हेटौँडामा प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्न लागेको छ ।   सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद एकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले क्लिनिक कार्यक्रम सञ्चालन लागेको हो ।   सार्वजनिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएकाले यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने विश्वास गरिएको छ ।

काठमाण्डौ: कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ ।    तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो । बजेट कार्यान्वयन गर्नुपर्ने अवधि हिजो सकिएको छ ।   हिजोसम्म प्रदेश सभाबाट पारित भइ त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने थियो । तर वर्तमान प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ ।    संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना नगरिए पनि कोशी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।    गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याउनुभएको थियो । प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियाे ।   तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका कांग्रेस सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की रिट लिएर सर्वोच्च अदालत पुग्नुभयो ।   सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ ।   अब, कसरी अघि बढ्ने भन्ने विषयमा अलमलमा परेपछि सरकारले सर्वोच्चलाई सोध्ने तयारी गरेको छ।