पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखरा:     वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत्  शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो।   चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय रहेको छ। फिल्मले अमेरिकाको प्रतिष्ठित वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ३ विधामा अवार्ड समेत जितेको थियो।   निर्माण टिमले हातले लेखिएको पत्रमार्फत् निम्तो दिने शैलीबारे सामाजिक सञ्जालमा चर्चासमेत भएको छ । आइतबार मात्रै  राजधानीमा टिम ‘मुभी लभर्स’ले विशेष शो’को आयोजना गरेको थियो।‘मुभी लभर्स फिल्म स्क्रिनिङ’को परम्परालाई निरन्तरता दिँदै यसपालि बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष शो’को आयोजना गरेको थियो । विशेष शोपछि अधिकांश चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका थिए।

पोखरा:   नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा  पोखरामा वैशाख २८ देखि ३० गतेसम्म नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।  पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली नाटकबारे पहिलोपटक पोखरामा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।  नेपाली नाट्यप्रतिष्ठानका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले  आगामी वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए ।  उनले नेपाली नाटकबारे पोखरामा हुने सेमिनारमा नेपाल र भारतका १ सय ५० बढी प्रतिनिधि आउने बताए ।  पोखरेलका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने अन्तरराष्ट्रिय सेमिनारमा भारतबाट सीपी शर्मा, सिक्किमका मुख्यमन्त्रीबा स्वकीय सचिव लगायतको उपस्थिति हुने छ ।  तीन दिन चल्ने सेमिनारमा नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा छलफल गरी त्यसबाट निस्केको निष्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने, भारत र नेपालका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध विस्तार स्थापित गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ ।  प्रतिष्ठानले २०८० सम्मका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक नाट्यग्रन्थ प्रकाशित गर्ने र प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुपाद गरी प्रकाशन गर्ने अन्तरराष्ट्रिय सेमिनारमा उद्धेश्य राखेको छ ।  सेमिनार गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजनकले जनाएको छ ।

  पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।   काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।    रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ ।     नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने,  घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् । 

पोखरा:   पोखरामा किरात समुदायले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा साकेला उभौली (वैशाख पूर्णिमा) पर्व मनाएका छन् ।    २०४८ सालदेखि हरेक वर्ष मनाउँदै आएका किरात सेवा समाज कास्कीले माङखिममा प्रकृति पुजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (शुक्रबार) उभौली पर्व मनाएका हुन् ।     किँरात सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईका अनुसार विशेषगरी वर्षमा साकेला दुई पटक मनाउने प्रचलन छ । उधौली पर्वका रुपमा मंसिरको पूर्णिमा र उभौलीका रुपमा वैशाखको पूर्णिमाको दिनमा साकेला पर्व मनाउने प्रचलन छ ।    आज सोही अनुरुप वैशाख पूर्णिमाको दिन उभौली साकेला पर्व मनाएको राईले बताए । ‘हामी प्रकृतिपुजक नै हौ । उभौली र उधौली गरी हामीले वर्षमा दुईपटक साकेला पर्व मनाउछौ, उनले भने,‘मंसिरका पूर्णिमाको दिन मनाउलेलाई उधौली भन्छौ जो अन्नवाली स्याहार्ने समय हो भने अहिले मनाउने भनेको अन्नवाली रोप्ने समय हो यस्लाई उभौली भन्ने गर्छा । यसरी वर्षमा दुई पटक पर्व मनाउने प्रचलन छ ।’   उनले किरात समुदाय गण्डकी प्रदेशको रैथाने नभएपनि पूर्वबाट पोखरा बसाईसरेका र विभिन्न कामकाजका लागि पोखरामा रहेका किरातीहरुले सँयुक्त रुपमा उभौली पर्व मनाएको सुनाए । ‘पहिलेपहिले आफ्नो भवन थिएन शान्तिवनमा बनभोज गरेर मनाउने गर्थाै, उनले भने, ‘अहिले आफ्नै समाजघर छ । अचेल यही मनाउने गरेका छौं । यसले एकताको सन्देश पनि दिएको छ ।’   उनका अनुसार कास्कीका करिब ७ हजार बढी किँरातीहरु बसोबास गर्दै आएका छन्  । आ –आफ्नो कामका शिलशिलाले गर्दा पूर्वमा जस्तो रौनक भने भेटिदैन । यद्यपी आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । त्यसैले सामुहिक रुपमा पोखरामा उभौली उधौली पर्व तामझामका साथ मनाउदै आएको छ ।    सो साकेलामा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थिति रहदै आएको छ ।    साकेला नाच्दा डोलक र झ्याम्टासहित किँरात पोशाक अपरिहार्य मानिन्छ । आफुलाई किँरात पोशाक लगाउन पाउँदा निकै खुशी लागेको बताउदै पहिचान र अस्तित्व संरक्षणको जिम्मा युवाहरुको काधमा आएको रुविना राईले बताइन् । ‘म आज मात्रै होइन सधै आउँछु । मैले लगाएको किरात ड्रेस हो, उनले भनिन्, ‘हामीले मात्रै होइन  यो पहिरन लगाएको हाम्रो बाउ बाजेको समयदेखि नै लगाउनु भएको हो त्यसैले यसलाई लोप हुन नदिनु हाम्रो दायित्व हो ।’   उनले किरात समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्न सम्बन्धित समुदाय कै कस्सिनुपर्ने सुनाइन् । ‘हाम्रो भाषा, धर्म, र अस्तित्व जोगाउन हामी नै त लाग्नुपर्छ । किनभने यो हाम्रो सम्पत्ति हो,’ उनले भनिन् ।   तस्बिरहरू: बिबि रोका मगर/सुनगाभा न्यूज ​                        

पोखरा:   टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् ।  पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्टस् अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको  आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतीले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङजा जिल्लाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् ।  हाल कमेडी च्याम्पियन कार्यक्रममा सह–प्रस्तोताको रुपमा दर्शकमाझ देखिरहेका उनको शैलीले दर्शको ध्यान खिचिरहेको छ । कमेडी च्याम्पियनमा उनले प्रस्तुती राख्दा टिकट पाउने नेता, सेलिब्रेटिको लाइफ स्टाइल, भाइरल बाबा लगायतका प्रस्तुती दर्शकको लागि रुचिकर बनेका थिए । अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।   वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ मञ्चलाई मिलेको छ ।

पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सम्पन्न भएको छ ।  । अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत १८ वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गर्नुभयो ।   अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तकमन्च,केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गरेका थिए भनें संचालन सूरज उपाध्यायले गरेका थिए ।

पोखरा:    देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताए । कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताए । कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन नपरोस् भन्ने कामना गरेर कृति लेखेको बताइन् ।  उनले बन्दीपुर आफ्नो कर्मथलो भएकाले पुस्तक बजारमा बिके पनि नबिके पनि एउटा दस्तावेज बनाउनका लागि भावना र चिन्तानलाई समेटेर किताब निकालेको धारणासमेत राखिन् । कृतिकारकी छोरी सीता सुनारले पौढ शिक्षा आर्जन गरेकी आमाले कापीका पानामा लेखेर राखेका टुक्राटुक्रीलाई जम्मा गरेर कृति प्रकाशन गरेर सबैका माझ ल्याएको बताइन् । उनले प्रौढ शिक्षा पढ्दा आमा प्रथम भएको र घरमा बस्दा केही न केही लेखिरहने भएकाले वृद्धा अवस्थामा आफ्नो गाउँका बारेमा लेख्दै रहेकी आमाको इच्छा मर्न नदिनका लागि पहिला सानो र अहिले ठूलो आकारमा दोस्रो संस्करण कृति प्रकाशन गरेको बताइन् । कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले समाजमा विकृतिको जालो मौलाएकाले त्यस्ता विकृतिलाई यस्तै सिर्जनशील कार्यले निस्तेज पार्नुपर्ने बताए । गीताञ्जली साहित्य परिवारका कार्यसमिति सदस्य नरेन्द्र रानाभाटले साहित्य साधनामा लाग्दाको यात्रा र यसबाट आउने आनन्द अन्य कुनै वस्तुसँग तुलना हुन नसक्ने धारणा राखे । कार्यक्रममा गजलकार विष्णु वास्तोला, साहित्यसेवी प्रशान्त सुनार, समाजसेवी पुनम पोखरेललगायतले कृतिको सफलता र सर्जकको सुस्वास्थ्य र सुकीर्तिको कामना गरेका थिए । सोही समारोहबीच सुनारको लेखन यात्राको प्रोत्साहनका लागि हुर्जा गण्डकीद्वारा विशेष सम्मान गरिएको थियो । साथै उनका शुभेच्छुक शुभचिन्तकले पनि देवीसरालाई सम्मान गरेका थिए । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले अध्यक्षको आसनबाट बोल्दै ७१ वर्षको उमेरमा पनि यसरी सिर्जनशील जीवन बिताएकी देवीसराको सिर्जनशीलताको योगदानको कदर शब्दमा गरेर नसकिने र व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए । हुर्जाका उपाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव सुशील श्रेष्ठले गरेका थिए । 

पोखरा:   आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् ।  ‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’, उनले भने ।  कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखेका छन् । फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाई उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरउन्नतिमा सुधार हुँदै जाने उनले बताए ।  चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौं भन्दा बाहिर मोफसलमा विषयगत पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनिय रहेको भनाई उनको छ ।  चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्र सम्बन्धि गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनिय काम गर्दै आएको बताए ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व  आइसकेपछि क्रियाशिलता बढ्दै गएको उल्लेख गरे । एक पछि अर्को कार्यक्रम गरी पोखरामा मनोरञ्जन सम्बन्धि गतिविधिलाई संघले बढ्वा दिएको भनाई उनको छ । उनले नेपाली चलचित्रले समाजको कथावस्तुलाई मसिनो गरि केलाई त्यसको उजागर गर्न तर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।  चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भित्तेपात्रो विमोचन कार्यक्रम संघका उपाध्यक्ष अर्पण तिवारीको संयोजनमा भएको थियो । 

पोखरा:   पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ ।  नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो । झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगितामा प्रतियोगीले सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने छ । प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने पाउनेछन् ।  प्रतियोगितामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । वैशाख १५ गते प्रतियोगी छनोट कार्यक्रम रहेको र फाइनल बैसाख १६ गते हुने आयोजक संस्था नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सुर्य गायकले बताए ।  झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।  नेपालका मौलिक बाजा आरबाजो, सारङ्गी, मादलको संरक्षण, मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन,कृष्ण चरित्र, स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे ।  ‘झलकमान गन्धर्व बुबाले संगीतमा देखाउनु भएको बाटोलाई पछयाउँदै हामी हिडिरहेका छौं । उहाँका सिर्जनालाई संरक्षण गर्ने दायित्व हाम्रो । फलस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने ।  उनले सामुदायिक विकास केन्द्रले संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाई सम्पूर्ण गन्धर्व जातिलाई समेट्ने गरी लाग्ने बताए । सारङगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको भनाई उनको छ ।  परम्परागत पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउने र आफ्नो अधिकार प्रति सचेत रहि अन्याय विरुद्ध आवाज उठाउने संस्थाको योजना छ ।  गन्धर्व जातिको वर्तमान अवस्था पहिले भन्दा सुधार भएको झलकमान गन्धर्व सारङगी पाठशालाका अध्यक्ष दिलिप गायक बताउँछन् । उनका अनुसार अहिलेका कलाकारले परम्परागत पेशाबाट नै जिविकोपार्जन गर्दै आएका छन । उनले नेपाली मौलिक बाजा, लोकगीत संरक्षण र सम्बद्र्धनका लागि राज्यनै लाग्नुपर्ने बताए ।   पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सहयोगमा हुने कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।