पोखरा: पोखरामा किरात समुदायले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा साकेला उभौली (वैशाख पूर्णिमा) पर्व मनाएका छन् । २०४८ सालदेखि हरेक वर्ष मनाउँदै आएका किरात सेवा समाज कास्कीले माङखिममा प्रकृति पुजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (शुक्रबार) उभौली पर्व मनाएका हुन् । किँरात सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईका अनुसार विशेषगरी वर्षमा साकेला दुई पटक मनाउने प्रचलन छ । उधौली पर्वका रुपमा मंसिरको पूर्णिमा र उभौलीका रुपमा वैशाखको पूर्णिमाको दिनमा साकेला पर्व मनाउने प्रचलन छ । आज सोही अनुरुप वैशाख पूर्णिमाको दिन उभौली साकेला पर्व मनाएको राईले बताए । ‘हामी प्रकृतिपुजक नै हौ । उभौली र उधौली गरी हामीले वर्षमा दुईपटक साकेला पर्व मनाउछौ, उनले भने,‘मंसिरका पूर्णिमाको दिन मनाउलेलाई उधौली भन्छौ जो अन्नवाली स्याहार्ने समय हो भने अहिले मनाउने भनेको अन्नवाली रोप्ने समय हो यस्लाई उभौली भन्ने गर्छा । यसरी वर्षमा दुई पटक पर्व मनाउने प्रचलन छ ।’ उनले किरात समुदाय गण्डकी प्रदेशको रैथाने नभएपनि पूर्वबाट पोखरा बसाईसरेका र विभिन्न कामकाजका लागि पोखरामा रहेका किरातीहरुले सँयुक्त रुपमा उभौली पर्व मनाएको सुनाए । ‘पहिलेपहिले आफ्नो भवन थिएन शान्तिवनमा बनभोज गरेर मनाउने गर्थाै, उनले भने, ‘अहिले आफ्नै समाजघर छ । अचेल यही मनाउने गरेका छौं । यसले एकताको सन्देश पनि दिएको छ ।’ उनका अनुसार कास्कीका करिब ७ हजार बढी किँरातीहरु बसोबास गर्दै आएका छन् । आ –आफ्नो कामका शिलशिलाले गर्दा पूर्वमा जस्तो रौनक भने भेटिदैन । यद्यपी आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । त्यसैले सामुहिक रुपमा पोखरामा उभौली उधौली पर्व तामझामका साथ मनाउदै आएको छ । सो साकेलामा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थिति रहदै आएको छ । साकेला नाच्दा डोलक र झ्याम्टासहित किँरात पोशाक अपरिहार्य मानिन्छ । आफुलाई किँरात पोशाक लगाउन पाउँदा निकै खुशी लागेको बताउदै पहिचान र अस्तित्व संरक्षणको जिम्मा युवाहरुको काधमा आएको रुविना राईले बताइन् । ‘म आज मात्रै होइन सधै आउँछु । मैले लगाएको किरात ड्रेस हो, उनले भनिन्, ‘हामीले मात्रै होइन यो पहिरन लगाएको हाम्रो बाउ बाजेको समयदेखि नै लगाउनु भएको हो त्यसैले यसलाई लोप हुन नदिनु हाम्रो दायित्व हो ।’ उनले किरात समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्न सम्बन्धित समुदाय कै कस्सिनुपर्ने सुनाइन् । ‘हाम्रो भाषा, धर्म, र अस्तित्व जोगाउन हामी नै त लाग्नुपर्छ । किनभने यो हाम्रो सम्पत्ति हो,’ उनले भनिन् । तस्बिरहरू: बिबि रोका मगर/सुनगाभा न्यूज
पोखरा: टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्टस् अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतीले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङजा जिल्लाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् । हाल कमेडी च्याम्पियन कार्यक्रममा सह–प्रस्तोताको रुपमा दर्शकमाझ देखिरहेका उनको शैलीले दर्शको ध्यान खिचिरहेको छ । कमेडी च्याम्पियनमा उनले प्रस्तुती राख्दा टिकट पाउने नेता, सेलिब्रेटिको लाइफ स्टाइल, भाइरल बाबा लगायतका प्रस्तुती दर्शकको लागि रुचिकर बनेका थिए । अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ मञ्चलाई मिलेको छ ।
पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सम्पन्न भएको छ । । अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत १८ वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गर्नुभयो । अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तकमन्च,केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गरेका थिए भनें संचालन सूरज उपाध्यायले गरेका थिए ।
पोखरा: देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताए । कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताए । कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन नपरोस् भन्ने कामना गरेर कृति लेखेको बताइन् । उनले बन्दीपुर आफ्नो कर्मथलो भएकाले पुस्तक बजारमा बिके पनि नबिके पनि एउटा दस्तावेज बनाउनका लागि भावना र चिन्तानलाई समेटेर किताब निकालेको धारणासमेत राखिन् । कृतिकारकी छोरी सीता सुनारले पौढ शिक्षा आर्जन गरेकी आमाले कापीका पानामा लेखेर राखेका टुक्राटुक्रीलाई जम्मा गरेर कृति प्रकाशन गरेर सबैका माझ ल्याएको बताइन् । उनले प्रौढ शिक्षा पढ्दा आमा प्रथम भएको र घरमा बस्दा केही न केही लेखिरहने भएकाले वृद्धा अवस्थामा आफ्नो गाउँका बारेमा लेख्दै रहेकी आमाको इच्छा मर्न नदिनका लागि पहिला सानो र अहिले ठूलो आकारमा दोस्रो संस्करण कृति प्रकाशन गरेको बताइन् । कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले समाजमा विकृतिको जालो मौलाएकाले त्यस्ता विकृतिलाई यस्तै सिर्जनशील कार्यले निस्तेज पार्नुपर्ने बताए । गीताञ्जली साहित्य परिवारका कार्यसमिति सदस्य नरेन्द्र रानाभाटले साहित्य साधनामा लाग्दाको यात्रा र यसबाट आउने आनन्द अन्य कुनै वस्तुसँग तुलना हुन नसक्ने धारणा राखे । कार्यक्रममा गजलकार विष्णु वास्तोला, साहित्यसेवी प्रशान्त सुनार, समाजसेवी पुनम पोखरेललगायतले कृतिको सफलता र सर्जकको सुस्वास्थ्य र सुकीर्तिको कामना गरेका थिए । सोही समारोहबीच सुनारको लेखन यात्राको प्रोत्साहनका लागि हुर्जा गण्डकीद्वारा विशेष सम्मान गरिएको थियो । साथै उनका शुभेच्छुक शुभचिन्तकले पनि देवीसरालाई सम्मान गरेका थिए । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले अध्यक्षको आसनबाट बोल्दै ७१ वर्षको उमेरमा पनि यसरी सिर्जनशील जीवन बिताएकी देवीसराको सिर्जनशीलताको योगदानको कदर शब्दमा गरेर नसकिने र व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए । हुर्जाका उपाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव सुशील श्रेष्ठले गरेका थिए ।
पोखरा: आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् । ‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’, उनले भने । कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखेका छन् । फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाई उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरउन्नतिमा सुधार हुँदै जाने उनले बताए । चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौं भन्दा बाहिर मोफसलमा विषयगत पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनिय रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्र सम्बन्धि गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनिय काम गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व आइसकेपछि क्रियाशिलता बढ्दै गएको उल्लेख गरे । एक पछि अर्को कार्यक्रम गरी पोखरामा मनोरञ्जन सम्बन्धि गतिविधिलाई संघले बढ्वा दिएको भनाई उनको छ । उनले नेपाली चलचित्रले समाजको कथावस्तुलाई मसिनो गरि केलाई त्यसको उजागर गर्न तर्फ लाग्नुपर्ने धारणा राखेका छन् । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भित्तेपात्रो विमोचन कार्यक्रम संघका उपाध्यक्ष अर्पण तिवारीको संयोजनमा भएको थियो ।
पोखरा: पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो । झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगितामा प्रतियोगीले सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने छ । प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने पाउनेछन् । प्रतियोगितामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । वैशाख १५ गते प्रतियोगी छनोट कार्यक्रम रहेको र फाइनल बैसाख १६ गते हुने आयोजक संस्था नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सुर्य गायकले बताए । झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । नेपालका मौलिक बाजा आरबाजो, सारङ्गी, मादलको संरक्षण, मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन,कृष्ण चरित्र, स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । ‘झलकमान गन्धर्व बुबाले संगीतमा देखाउनु भएको बाटोलाई पछयाउँदै हामी हिडिरहेका छौं । उहाँका सिर्जनालाई संरक्षण गर्ने दायित्व हाम्रो । फलस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । उनले सामुदायिक विकास केन्द्रले संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाई सम्पूर्ण गन्धर्व जातिलाई समेट्ने गरी लाग्ने बताए । सारङगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको भनाई उनको छ । परम्परागत पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउने र आफ्नो अधिकार प्रति सचेत रहि अन्याय विरुद्ध आवाज उठाउने संस्थाको योजना छ । गन्धर्व जातिको वर्तमान अवस्था पहिले भन्दा सुधार भएको झलकमान गन्धर्व सारङगी पाठशालाका अध्यक्ष दिलिप गायक बताउँछन् । उनका अनुसार अहिलेका कलाकारले परम्परागत पेशाबाट नै जिविकोपार्जन गर्दै आएका छन । उनले नेपाली मौलिक बाजा, लोकगीत संरक्षण र सम्बद्र्धनका लागि राज्यनै लाग्नुपर्ने बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सहयोगमा हुने कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
काठमाडौं: बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ । चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ । पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ । यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक कवि तथा साहित्यकार, मनोजबाबु पन्त चलचित्रकर्मी र महेश त्रिपाठी अभिनेता रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडी बैशाख २० गते सम्म पठाइसकेको र बैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गतेभन्दा २ दिन अगाडी बैशाख २७ गते पुरस्कार घोषणा हुनेछ । आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, “हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।” गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह९लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । “यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने । यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।
पोखरा: आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् । गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता/दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्ने बताए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए । आमा औंसीका दिन सामाजिक सञ्जालका भित्ताहरू फोटाले भरिने गरेको भन्दै बुढेसकालमा आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस भन्दै कामना गरे । प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन् । गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोजगरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाए । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ।
पोखरा: पोखरामा शुक्रबारदेखि नाटक ‘उर्वशी सूक्त’ मञ्चन सुरु भएको छ । नारी शक्तिलाई केन्द्रमा राखेर तयार भएको नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा बैशाख ११ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गरेका हुन् । शनिबार अतिरिक्त सो दिउँसो १ बजेपनि हुनेछ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटकमा दील प्रसाद गुरुङ, शिव संकल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गरेका छन् । नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । वेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाए । पेशाले पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रुचिले साहित्य, संगीत र कलाप्रेमी उनका कथा, कविता लेख र समालोचनाहरु प्रकाशित छन् । यो नाटकबाट पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले खुलाए । हालसम्म तीनवटा नाटक लेखेका संकल्पको मञ्चन भएको पहिलोनाटक उर्वशी सूक्त बनेको छ । उनले आफूले लेखेको यहीं नाटकबाटै निर्देशनमा समेत डेब्यु गरें । झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले भने दुई सय रुपैयाँको टिकट काट्न सक्नेछन् । झण्डै एक महिनाको रिहर्सल पश्चात तयार भएको नाटकको पहिलो सो मञ्चन पश्चात प्राप्त दर्शकको प्रतिक्रियाले थप उत्साहित बनेका छन् । तस्बिर: अर्जुन गाहा मगर (सुशान्त) /सुनगाभा न्यूज