काठमाडौं: बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ । चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ । पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ । यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक कवि तथा साहित्यकार, मनोजबाबु पन्त चलचित्रकर्मी र महेश त्रिपाठी अभिनेता रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडी बैशाख २० गते सम्म पठाइसकेको र बैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गतेभन्दा २ दिन अगाडी बैशाख २७ गते पुरस्कार घोषणा हुनेछ । आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, “हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।” गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह९लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । “यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने । यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।
पोखरा: आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् । गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता/दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्ने बताए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए । आमा औंसीका दिन सामाजिक सञ्जालका भित्ताहरू फोटाले भरिने गरेको भन्दै बुढेसकालमा आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस भन्दै कामना गरे । प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन् । गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोजगरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाए । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ।
पोखरा: पोखरामा शुक्रबारदेखि नाटक ‘उर्वशी सूक्त’ मञ्चन सुरु भएको छ । नारी शक्तिलाई केन्द्रमा राखेर तयार भएको नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा बैशाख ११ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गरेका हुन् । शनिबार अतिरिक्त सो दिउँसो १ बजेपनि हुनेछ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटकमा दील प्रसाद गुरुङ, शिव संकल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गरेका छन् । नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । वेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाए । पेशाले पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रुचिले साहित्य, संगीत र कलाप्रेमी उनका कथा, कविता लेख र समालोचनाहरु प्रकाशित छन् । यो नाटकबाट पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले खुलाए । हालसम्म तीनवटा नाटक लेखेका संकल्पको मञ्चन भएको पहिलोनाटक उर्वशी सूक्त बनेको छ । उनले आफूले लेखेको यहीं नाटकबाटै निर्देशनमा समेत डेब्यु गरें । झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले भने दुई सय रुपैयाँको टिकट काट्न सक्नेछन् । झण्डै एक महिनाको रिहर्सल पश्चात तयार भएको नाटकको पहिलो सो मञ्चन पश्चात प्राप्त दर्शकको प्रतिक्रियाले थप उत्साहित बनेका छन् । तस्बिर: अर्जुन गाहा मगर (सुशान्त) /सुनगाभा न्यूज
पोखरा: चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउने छ । ‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ । कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरु लागेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले बताए । उनले कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको उनले बताए । सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो । उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए । साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्टमा व्याण्डले चर्चित गीतले मनोरञ्जन दिने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै टेबल बुकिङ गर्न सकिने म्यानेजर हरी पौडेलले बताए । करिब १ सय ५० टिकट विक्रि भैसकेको उनको भनाई छ । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट १ हजार क्यान वियर र डोर सेलमा १ हजार रुपैया पर्ने उनको भनाई छ ।
गण्डकी: टुटफुट र खण्डित कुरा नगर... ‘टुटफुट र खण्डित कुरा नगर आत्मसर्मणको कुरा नगर एकढिक्का एकताको कुरा गर वीरताको कुरा गर..’ टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे । क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे । न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए । गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर।।।’ गीत सबैले एकै स्वरमा गाए । गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन।।।’ लाई पनि कलाकारले सामूहिकरूपमा प्रस्तुत गरे । गायक शर्माले आफ्ना लोकप्रिय गीत ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई’लगायत सुनाउनुभयो । गायक मोहित श्रेष्ठले ‘प्यारो जलजला’, गायिका निलीमा पुनले ‘लेख्दैछु चिठ्ठी तिमीलाई’ तथा गायक उदय श्रेष्ठले श्याम तमोटद्वारा रचित ‘पहाडका कुरा भए’ प्रस्तुत गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रचना गर्नुभएको गीत ‘जनताको काखैमा बसेर’लाई गायक चिरन पुनले गाउनुभयो । गायिका अनु शर्मा, काजी गाउँलेलगायतले पनि गीत सुनाउनुभयो । पोखरास्थित सङ्गम सांस्कृतिक मञ्चका कलाकारले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरे । व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको गायक शर्माले बताउनुभयो । “हामीले भनेजस्तो अझै भएको छैन”, उहाँले भन्नुभयो, “समाजमा अहिले पनि विभेद छ, शोषण छ, त्यसैले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको हो ।” राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द गर्दै जनजागरण सिर्जना गर्न देशव्यापीरूपमा सङ्गीत अभियात्रा थालिएको गायक शर्माले बताउनुभयो । सो अभियानमा २२ कलाकार सहभागी छन् । उक्त साङ्गीतिक समूहमा सङ्गीतकर्मी मणिचन्द्र थापा, उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, टेक बलम्पाकी, उदय रिजाल, लक्ष्मण पाख्रिन, नारायण शर्मा, कविता पुन, सन्ध्या मगरलगायत रहनुभएको छ । अभियात्राको दशौँ कार्यक्रम पोखरामा सम्पन्न भएको गायक विद्रोहीले बताउनुभयो । कार्यक्रमको स्थानीय व्यवस्थापन र समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थाले सघाएका थिए । पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो । यही चैत ४ गते धनगढीबाट सुरु भएको सङ्गीत अभियात्राअन्तर्गत सातै प्रदेशका राजधानीसहित ठूला सहरमा कार्यक्रम केन्द्रित गरिएको हो । आगामी वैशाख ५ गते काठमाडौँमा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा साङ्गीतिक अभियान समापन गरिने बताइएको छ ।
पोखराः पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित पर्व ट्होटें पर्व मनाएका छन् । तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज पोखरामा वृहत र्यालीसहित मनाएका हुन् । विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपमा पोखरामा ट्होटें मनाएको अधिवक्ता तथा तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले बताईन् । उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो, गुरुङले भनिन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’ हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए । उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ । ट्होटें पर्व किन मनाइन्छ ? परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा रंगशालाबाट ट्होटें ¥यालीसहित लखनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो । सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो । थप तस्बिरहरु:–
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । पोखरामा शनिबार आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उहाँले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले मगर समुदायको पहिचानसँग जोडिएका साँकृतिक पक्षहरुको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताउनुभयो । ‘मगर समुदायमा भएका रचनाहरुको इतिहासको खोजी गर्ने, संरक्षण र संर्वद्धन गर्ने दायित्व अबको पुस्ताको हो, मन्त्री गाहामगरले भन्नुभयो’ ‘चाहे त्यो कौडा, सोरठी, सालैजो, घाटु लगायत अन्य नाचहरुको इतिहास खोज्ने संरक्षण र संर्वद्धन गर्ने जिम्मा युवाहरुको हो ।’ मन्त्री गाहामगरले भाषा संस्कृतिको संरक्षणमा अब ध्यान दिन नसके मगर मगर्नी हुनुको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो । ‘मगर समुदायको इतिहास, पहिचान, लिपी, भाषा र संस्कृतिको संरक्षण गर्न युवापुस्तामा शिक्षाको आवश्यक छ, उहाँले भन्नुभयो, ‘पुर्खाले जोगाएको वीरता संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ उहाँले फरक प्रसंगमा बोल्नुहुदै आदिवासी जनजाति समुदायले राजनीतिक दलहरुले भोटको लागि मात्र प्रयोग गरेको भन्दै नेतृत्वका लागि अब प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । ‘जुनसुकै राजनीतिक पार्टीले जनजाति समुदायलाई भोटको लागि मात्र प्रयोग गरेको पाइन्छ, उहाँले भन्नुभयो, ‘मुख्य प्रतिस्पर्धामा किन लिन चाहँदैनन्, मुलुकको समृद्धिको लागि अब जनजाति समुदायले नेतृत्व गर्न आवश्यक छ ।’ यस्तै मगर कथानक चलचित्र ‘उखान’का निर्देशक मेक आलेमगरले चलचित्र प्रर्दशनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो । ‘चलचित्र प्रर्दशनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायका भाषाको आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो । एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा गत शनिबार प्रदर्शन भएको हो ।
पाल्पा: हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्। मगर समुदायको लोकसंस्कृतिका रूपमा रहेको नाच तथा गीत संरक्षणका लागि युवा पुस्ता आफूभन्दा अघिल्लो पुस्ताबाट सबै परम्परा तथा संस्कृति सिकिरहेका छन्। पछिल्लो समय अधिकांश युवा पुस्ता बाह्य संस्कृतिको प्रभावमा परिरहेका बेला जिल्लाको माथागढीको कसेनी, रुपसे, चिदीपानीका युवा आफ्नो समुदायको संस्कृति जोगाउन कम्मर कसेर लागेका छन्। मादल, डम्फुको तालमा नाचिने झाम्रे नाच लोप हुने अवस्थामा पुगेको छ भने सालैजोको भाका तथा भाकाको लयमा गाउन जान्ने अनुभवी व्यक्ति समुदायमा भेट्टाउन गाह्रो हुन थालेको माथागढी–३, कसेनीका युवा होमबहादुर रानाले बताउनुभयो। पुराना पुस्ताले मात्र गाउने गीत केही वर्षयता युवा पुस्तालाई समेत सिकाउने गरिएको उहाँले बताउनुभयो। युवा पुस्तालाई सिकाउनकै लागि गाउँमा मेलापात, विवाह, चाडबाड भएको बेला मादल, डम्फु, खैँजडीसहित नाच्ने र गाउने प्रचलन बढेको यहाँका बासिन्दा बताउँछन्। कौरा नाच भने कुनै विशेष अवस्थामा मात्र अभ्यास गरेर प्रदर्शन गर्ने गरिएको कोसेली धारादी महिला समूहका अध्यक्ष नेत्रकला रानाले बताउनुभयो। पुराना परम्परागत गीत तथा नाचले आपसी सद्भाव, मित्रता बढाउन सहयोग गर्नुका साथै मनोरञ्जनसमेत दिएको उहाँले बताउनुभयो। मगर समुदायमा प्रचलित सालैजो र झाम्रे नाच मनोरञ्जन र चोखो मायापिरतीसँग सम्बन्धित रहेको यहाँका बूढापाकाहरू बताउँछन्। कौरा नाच देवीदेवतासँगको आराधना तथा तपस्यासँग सम्बन्धित रहेको छ। यो समुदायका वृद्ध टेकबहादुर रानाले भन्नुभयो, “कला र संस्कृति जोगाउन युवा पुस्ताले ध्यान नदिने हो भने मगर समुदायको पहिचान नै लोप हुने खतरा देखिन थालेको छ। मगर समुदायका घाटु तथा मारुनी नाच त धेरैले भुलिसकेका छन्।”
काठमाडौं : नयाँ वर्षको अवसरमा आगामी बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा 'नेपाल टुरिजम फेस्टिभल' हुने भएको छ। नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोग र एनटिपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल हुन लागेको हो। आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो। यो फेस्टिभल अब हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए। दुई दिने फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुनेछन्। फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ। यस्तै अन्तिम सेसन 'पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल' पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ। फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन्। यस्तै अन्य सेसनमा 'पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास', 'स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार', 'चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिब्रेटी' हुनेछन्। यस्तै 'व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार', 'पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय' सेसन पनि सञ्चालन हुनेछ। नेपालमा रहेका विभिन्न विदेशी राजदूतको 'नेपाल अनुभव' सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए। फेस्टिभलमा 'खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली' तथा 'कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल', कृषि पर्यटन सेसन पनि सञ्चालन गर्ने तयारी छ। यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाइ छ । नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए । 'नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ' फेस्टिभल संयोजक विष्णु विवेकले भने, 'वैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ।' नेपाली तथा विदेशीलाई समेत नेपालका विभिन्न ठाउँमा घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुन लागेको फेस्टिभल पहिलोपटक आयोजना भएर वर्षेनी सञ्चालन हुने पनि उनले बताए। पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताए।