बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ। जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्। शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।
मुम्बई: अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् । उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’ आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् । ‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् ।
काठमाडौं: जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।
पोखरा: राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले पोखरामा वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको छ । पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा चैत २५ देखि फागुन २ गतेसम्म महायज्ञ तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले पोखरामा वृहत ज्ञान महायज्ञ भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरिएको बताए । ‘विकासको गतिसँगसँगै आफ्ना परम्परागत मूल्य मान्यताहरुबाट समाज टाढा हुँदै गएको छ, हाम्रा भावी सन्ततीहरुलाई आफ्ना मूल्य र मान्यता बारेमा सचेत बनाउन जरुरी छ, पराजुलीले भने, ‘संस्कार र संस्कृति संरक्षण गर्न पोखरामा महायज्ञसँगै राष्ट्रब्यापी खुल्ला भजन चुड्का प्रतियोगिता आयोजना गरेका छौं ।’ वृहत भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई नेपाल टेलिभिजनबाट सञ्चालन हुन लागेको भजन च्याम्पियनमा सिफारिस गर्ने समेत अध्यक्ष पराजुलीले जानकारी दिए । ‘राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई भजन च्याम्पियनमा सिफारिस गर्दै छौं, चैत २५ देखि सुरु हुने प्रतियोगितामा देशभरका ४४ जिल्लासहित १ सय बढी समूहको सहभागिता रहन्छ ।’ उनले भने । प्रतियोगिताको विजेताले ५१ हजार, दोस्रो हुने समूहले ३१ हजार, तेस्रो हुने समूहले २१ हजार र सान्त्वना हुने समूहले ११ हजार र विद्यागततर्फ उत्कृष्ट नृत्य, उत्कृष्ट झाँकी, अनुशासिन समूह र भेषभूषातर्फ क्रमशः ७ हजार ५ सयका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । भजन प्रतियोगितामा १० देखि ३५ जनाको समूह हुनुपर्ने छ भने, १ हजार ५ सय रुपैयाँ प्रतियोगिता शुल्क कायम गरेको छ । वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा १ करोड आम्दानी, ३५ लाख ४४ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलन भएको रकमले पोखरामा राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माण गर्ने जनाएको छ । महायज्ञमा चैतन्यकृष्ण प्रमुख वाचक रहेका छन् ।
पोखरा: १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको अभिव्यक्ति उनको छ । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले तालबेसीको विकासमा आफु प्रतिबद्ध भएको बताए । उनले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन दिए । ‘रुपा तालबेसी फागु महोत्सव संस्कार झल्काउने कार्यक्रम हो । जसलाई सफल पार्ने दायित्व हामी सबैको हो । गण्डकी सरकार र मेरो व्यक्तिगत तर्फबाट हुन सक्ने सहयोग गर्छु ।’, उनले भने । उनले महोत्सव जस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताए । ग्रामीण भेगको संस्कृतिको उन्नयनका लागि महोत्सवले महत्पूर्ण भूमिका खेल्ने विश्वास उनको छ । आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर।।।’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेखेका हुन् । धन बहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो । कलाकार एवम् म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताए । गीतले राम्रो सफलता पाउनेमा उनी आशावादी देखिन्छन् । सप्तरङगी क्लबले वर्षेनी गर्दै आएको रुपा तालबेसी फागु महोत्सवको प्रचारप्रसारमा गीत मार्फत थप टेवा पुग्ने विश्वास उनको छ ।
धादिङ: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उहाँ सर्वसम्मत बन्नुभएको हो । उहाँ प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा हुनुहुन्थ्यो । लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत हुनुभएको छ । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ । प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बन्नुभएको छ । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (साङ्गठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष ९खुला० पदमा तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन । सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुला गरिएको थियो । सर्वसम्मत नभएका पदको आज अबेरसम्म भए पनि मतदान गराइने निर्वाचन समितिले जनाएको छ ।
पोखरा: वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आज २०७९ फाल्गुण १२ (शुक्रबार) देखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो । यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ । भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउण्डेसन विश्वस्त छ । सहभागीले फाउण्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्ने छैन ।
पोखरा: पोखरामा जापान फाउण्डेशन दूतावास जापानको आयोजना र भाषा संघ नेपालको सहकार्यमा आजदेखि पोखरामा जापनीज चलचित्र महोत्सव हुने भएको छ । पोखरामा आज (शुक्रबार) र शनिबार हुने जापनीज चलचित्र महोत्सव प्रर्दशन हुने छ भने, काठमाडौंमा शनिबार र आइतबार महोत्सव हुनेछ । पोखरामा पोखरा उद्योग वाणिज्य संघको सभाहल र काठमाडौंको राष्ट्रिय नाचघर जमालमा हुनेछ । महोत्सव अवलोकन निशुल्क रहेको आयोजकले जनाएको छ ।
पोखरा: छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए । नाच सम्पन्न गर्नका लागि विभन्न ६ वटा उपसमिती बनाइएको छ । मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारी विश्णुश्याम मल्ल रहेका छन् । यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल , अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ती कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल रहेका छन् । प्रचारप्रसार उपसमितीमा सन्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् । कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितीमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितीमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् । स्वयमसेवक व्यवस्थापन उपसमितीमा संयोजक मोहन मल्ल, सदस्यहरु रविन्द्र मल्ल, सुरेन्द्र मल्ल, सुर्यकुमार श्रेष्ठ, इश्वर कर्माचार्य, सन्जय श्रेष्ठ, सुमन कायस्थ रहेका छन् । तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरि पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा ाछांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।